बुधबार, साउन २० २०७८
काठमाडौं ००:०३
वासिङटन डिसी 14:18

छिरिङ राप्केका दाजु बहिनीले दिए मनाङका दलित तथा विपन्न परिवारलाई राहत

इनेप्लिज २०७७ असोज २५ गते २२:४७ मा प्रकाशित

मनाङ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ मनाङले मनाङका दलित तथा विपन्न घर परिवारलाई राहत वितरण गरेको छ ।

नासों गाउँपालिका वडा नं. ५ स्थायी घर भई अमेरिका बसोबास गर्दै आएका छिरिङ राप्के लामा र उनकी बहिनी छिन्चोम लामाको ब्यक्तिगत आर्थिक सहयोगमा २९ घर परिवारलाई राहत वितरण गरिएको हो ।

छिरिङ राप्के लामा घ्याल्सुम्दो सेवा संस्थाका पूर्व अध्यक्ष हुन् । उनी जिपी कोइराला फाउण्डेसनका केन्द्रिय सदस्य समेत हुन् । उनले अमेरिकामा बसेर कोरोना कहरका बेला नेपाल र अमेरिकामा रहेका नेपाली र गैर नेपालीहरुलाई विभिन्न किसिमका सहयोग गर्दै आएका छन् ।

उनले अमेरिकामा कोरोना संक्रमण फैलिएदेखि नै आफ्नो ज्यानको बाजी थापेर स्वास्थ्य सुरक्षा सामग्री, खाद्यन्न, माक्स लगायतका सामग्री वितरण गर्दै आएका छन् भने नेपालमा पनि विभिन्न संघ संस्थासँगको सहकार्यमा राहत वितरण गर्दै आएका छन् ।

छिरिङ राप्के लामाकी बहिनी छिन्चोम लामाले पनि अमेरिकामा रहेका नेपाली र गैरआवासीय नेपालीहरुलाई कोरोना कहरका बेला विभिन्न सहयोग गर्दै आएकी छन् । उनी नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) की कोषाध्यक्ष हुन् । उनी अमेरिकामा रहेको घ्याल्सुम्दो सेवा संस्थाकी महासचिवसमेत हुन् ।

उनी दाजु बहिनीको आर्थिक सहयोग, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ मनाङका अध्यक्ष गम्भीरजङ बिश्वकर्मा एवं. प्रकाश ज्योति उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थुतेन लामाको पहलमा २९ घर परिवारलाई राहत वितरण गरिएको हो ।

संघको पहलमा आइतवार जिल्लाको नासों गाँउपालिका अन्तर्गतका वडा नं १, ४, ५, ६, ८ र ९ का दलित समुदायका विपन्न २९ घर परिवारलाई १ बोरा चामल, ५ केजी दाल, ५ केजी चिनी, २ लिटर तेल, साबुन लगायतका सामग्री बितरण गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जिल्ला तदर्थ समिति मनाङका अध्यक्ष गम्भीरजंग बिश्वकर्माले जानकारी दिए ।

राहत वितरण कार्यक्रममा नासों गाँउपालिकाका अध्यक्ष एवं नेपाली कांग्रेस मनाङका महासमिति सदस्य चन्द्र घले, उपाध्यक्ष कमल माया गुरुङ, नेपाली कांग्रेसका जिल्ला सचिव सुरेन्द्र गुरुङ, नासों गाँउपालिकाका वडा नं. ५ वडाध्यक्ष छिरिङ घ्यापो पुनेल, ३ का वडाध्यक्ष मीनबहादुर गुरुङ, नेपाल प्रजातान्त्रिक महासंघ मनाङ जिल्ला तदर्थ समितिका महासचिव धनबहादुर लामा, समाजसेवी किरण गुरुङ लगायतको उपस्थिति थियो ।

राहत वितरण कार्यक्रममा नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले गाँउपालिकाले पालिकाभित्र विभेदमा पारिएका दलित समुदायका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले दलित समुदायको जीविकोपार्जन सुधार परियोजनाका कार्यक्रम सञ्चालन गरी खाद्य तथा पोषण सुरक्षा प्रदान गर्ने गाँउपालिकाको नीति रहेको जानकारी दिए ।

प्रतिक्रिया