वुद्धमणि ढकाल
कुरा नेपालकै हो। काठमाडौँको तिनकुनेमा आन्दोलन गरेकैले दुई ज्यान अस्ताए। यो घटनाले अदालतको दैलो घच्घच्यायो होला तर निसाफ मिलेको छैन। देशलाई यो वाद र त्यो वाद अनि जनतालाई भेडाको बथान सरहको सोचमा फलानो वादी र ढिस्कनो वादीको अप्राकृतिक विभाजन गरेर राज्यको लगाम हात परेका छन्, राजनीतिमा जरो गाढेकाले ।
नेपालमै वैदिक धर्म र अध्यात्मिक जागरणका अनेक गतिविधी चलेका छन। अध्यात्म चेतको वृद्धि भएको बुझिन्छ। हुनुपर्छ, किनभने नेपाल या हिमालय क्षेत्र तपोभूमि हो , साधना केन्द्र हो।
गएको वर्ष पशुपतिमा कोटीहोम सम्पन्न भयो। महिला, साना साना कथा वाचिका देखि भारतमा प्रसिद्ध भएकी देवी प्रतिभा र सामाजिक वहिस्करण भोगेका तल्लो जाति मानिने समूहबाट पण्डित कृष्ण दमाईलाई यस कोटीहोममा व्यासमा बसेर कथा भन्ने मौका जुरायो। यस मानेमा यो धार्मिक भेला निकै समावेशी भएको मान्नुपर्छ। तर कोटीहोम सकिएपछि आयोजन गर्ने एक पण्डित महाराजमाथि प्रहरीको धरपकड मच्चिएको भिडियो बाहिर आयो।
फेरि पोखरामा अर्को कोटीहोम आयोजना गरियो तर त्यसको तयारीमै केहि विवाद उब्जिएको थियो। “यो जसरी पनि गरिन्छ ” वा “हामी गरेरै छाड्छौं” भन्ने हठी स्वभाव र रोषपूर्ण वाक्य यी महाराजहरूले बोलेको भिडियो सार्वजनिक भयो।
गतवर्ष लुम्बिनीमा भएको विराट चक्र विज्ञान साधनाले अध्यात्मका जिज्ञासुहरुलाई एकठाउँ जम्मा गर्यो। निकै उत्साह मिल्यो होला जीवन विज्ञानका आयोजकलाई।
उक्त आध्यात्मिक अनुष्ठानमा पाँच हजार मानिसले एकै ठाउँ बसेर गरेको चक्र साधना विश्व घटना बनेको थियो। यो निश्चय अध्यात्म जागरणको नमुना हो। जीवन विज्ञान नेपालले आयोजना गरेको त्यस साधना कार्यक्रमले कति व्यक्तिहरूलाई अध्यात्म जागरणको सिंढी उक्लने र आफूभित्र सुक्ष्म शरीरको अध्ययन गर्ने बानीको ढोका खोल्यो होला , जान्न बाँकी छ। यदि मानिसहरू यस्ता धार्मिक वा आध्यात्मिक समारोहमा सहभागी भएर आफ्नो आन्तरिक “म” लाई चिन्न र लोक व्यवहारमा आफूलाई परिष्कृत पार्न सक्छन् भने यी समारोहको प्रयोजन सफल भएको मानिन्छ होला। तर कतिपय मानिसहरू यस्ता भेलामा आडम्बरको खोल ओढीरहेका छन् – चरित्र, प्रवृत्ति, व्यक्तित्व जहीं को तहीं ; केहि खास भिन्नता देखिदैन।
नेपालको राजनीतिक आकाशमा हिंसा र तिरस्कारको कालो बादल अझै मडारिरहेको छ। हिंसा मच्चाउने बोली सरकारकै जिम्मेवार मान्छेले बोलिरहन्छन्। आफ्नो पोल खोल्ने मान्छेलाई निषेध गर्न अनेक मुद्दाको जालोमा फसाउने काम सरकार गरिरहेको छ। “हामी नै अबका राजा हौँ , तिम्रा दिन गए ” आशयको होच्याउने बोली र क्रियाकलाप बारम्बार भैरहेको छ। व्यक्ती व्यक्ती र पार्टी पार्टी बीच हिलो छ्याप्ने र अरूलाई दोषी देखाउने काम बढेको छ। सरकारको विभिन्न तह र तप्कामा जालो परेको भ्रष्ट आचरणलाई कारबाहीमा ल्याउने र सम्बन्धितलाई जिम्मेवार वोध गराउने प्रक्रियामा लागेका एक नेतालाई नै जेलमा फसाइयो। बदनियत यहाँ छ, आचरणमा खोट भएकाहरुले अरूलाई खोटी र खुनी देखाउने काम सफल भयो।
अध्यात्मिक चेतनाको विकास र फैलावटसँगै आम सर्वसाधारण मानिसमा दैनिक अन्तरक्रियाका व्यवहार, आचार र जिब्रो पनि सुध्रिने आश गरिएको होला – कमसेकम यी अध्यात्मिक र धार्मिक अनुष्ठानका प्रवर्तकले / प्रशिक्षकले | कहिले कहीं राजनीतिक नेता र प्रशासकहरूलाई पनि योग, ध्यान र अध्यात्म विज्ञानको भेलामा पाहुना बोलाइन्छ। तर के देशको नेतृत्व गर्ने शैली र प्रशासनमा सुधारिएको बोली र व्यवहार देखिदै छ त ?
अध्यात्म र दर्शनका कुरा तेसै पनि अमूर्त र दुर्बोध्य हुन्छन्। कति मान्छेले यी कुरा बुझ्ने खास इच्छा गरेर वा हृदयको समर्पण भावमा यस्ता ज्ञानमूलक कार्यक्रममा उपस्थित होलान र कतिले यस्ता कुरा बुझ्ने क्षमता राख्लान। फेरि मानिसहरु जिज्ञासा राखेर सहभागी होलान् अथवा केहि निश्चित आशा राखेर जोडिन्छन् होला तर प्रस्तोता वा प्रशिक्षकले मूल ज्ञानको कुरा नगरी सतही गफमा भुल्याए भने, तेस्तो अध्यात्म जागरणको के प्रयोजन होला र।
अध्यात्म कुनै बजारको वस्तु पनि होइन जसको निश्चित मूल्य छ र किनबेच हुन्छ। वास्तवमा अध्यात्म एक चिन्तन हो, जो दर्शनमा आधारित हुन्छ र मानिसले जीवन सुधार्न आफ्नो दैनिक व्यवहारमा प्रयोग गर्न सक्छ; असल र खराब छुट्याउन सक्छ अनि एक मान्छेको जीवन संसारमै बाचुन्जेल कति बहुमुल्य हुन्छ भन्ने बोध गराउन सक्छ। यो एक मानव जीवन त हाम्रो साझा पृथ्वीलाई बस्न लायक घर बनाउन र सह-अस्तित्वको भावमा सबै प्राणीलाई र जड वस्तु पदार्थलाई बचाउने काममा उपयोगी बनाउनमै समर्पण गर्न ठीक हुन्छ।
गेरु कपडा , रामनामी बर्को, धोती कुर्ता वा लामा केश या रौँ को धार्मिक र अध्यात्मिक संजोग के हो ? यी बाहिरी बजारे वस्तुले मानिसको अन्तर्मन वा आत्माको भाव प्रकट गर्छन् ? ज्ञानको पैरवी गर्छन् ? यी त केवल प्रतिक हुन् वा आवरण हुन् , जो कसैले भेष बदल्न प्रयोग गर्न सक्छन् — जस्तै पुराना साम्यवादीको भूमिगत शैली। जब धर्म र अध्यात्मलाई सतही अर्थ लगाइन्छ, तब यी जीवनवोधका खुड्किला साम्यवादी चिन्तनले देखेको समाज रुपान्तरणको रुग्ण रटान जस्तो हुन जान्छन्। वास्तवमा यी तीनै आयाममा जीवनलाई उन्नत र उज्ज्यालो पार्ने लक्ष्यमा छुट्टा छुट्टै दार्शनिक आधार छ – दर्शनको भेद नै एक अर्कामा द्वन्दात्मक छ। मानिसले पहिरन गरेका आवरण आभूषण अनि उसको भित्री अध्यात्म चेत, आत्मा वोध र व्यवहार बीच मेल नखाएको अक्सर देखिन्छ। अध्यात्मज्ञानको वस्तुगत प्रयोग शास्त्रका ठेलीमै सिमित गरेको पाइन्छ।
जून २१ लाई राष्ट्र संघले योग दिवसको आधिकारिक मान्यता दिएको छ र विश्व स्वास्थ्य सङ्गठनले योग र ध्यानद्वारा मानिसले स्वास्थ्य सुधार्न सक्छन् भन्ने कुरा स्वीकार गरेको छ। यो वर्ष पनि योग ध्यानका साना ठूला प्रशिक्षणहरू संसार भरि भए। केही मानिसहरु, जो निरन्तर योग अभ्यास गरिरहेका छन् , निश्चित स्वास्थ्य लाभ भएको आफ्नो अनुभव सुनाउँछन्।
यस विषयमा ठोस तथ्याङ्क बनिसकेको छैन होला – कति मान्छेले वास्तवमै योग ध्यानको अभ्यासले स्वास्थ्य लाभ गरे वा डाक्टरले दिएको औषधी खान छोडे। तरपनि योग धयानका प्रशिक्षकहरू “योग ध्यान गरौं , निरोगी बनौँ, औषधी हटाऊँ ” भन्ने उत्प्रेरणाको बोली दोहोर्याइरहन्छन्, जिकीर गरिरहन्छन्।
योग र ध्यानका आसनले शारीरिक मात्र होइन, मानसिक स्वास्थ्यमा पनि सुधार ल्याउने मानिन्छ र यस्ता सुधारका थुप्रै उदाहरण पाइन्छन्। तर नेपालमा चलिरहेको धर्म संस्कृतिको उल्लासमय माहौल, विपस्यना ध्यान अभियान, जीवन विज्ञानका तहगत प्रशिक्षणहरूले मानिसहरूको छुचो बोली, अनैतिक भ्रष्ट आचरण, देशको धन चोरी र ठगी गर्ने व्यवहारमा किन कमी भएको छैन ? नेतृत्व पङ्क्तिमा बस्ने राजनीतिक नेता, निजामती सेवाका उपल्लो दर्जाका कर्मचारी र प्रहरी नेतृत्वले गर्ने गरेको बेइमानी काम किन नघटेको ? कतिपयको मानसिक अवस्था नै धमीलो छ, मन मैलो छ, विचारको सन्तुलन गुमेको छ र चरित्र पनि खराब छ। के अध्यात्मिक धाराका यी कन्चन कुण्डले उनीहरुको मनको मैलो पखाल्न सक्दैन ? सङ्लो पार्न सक्दैन ?
धार्मिक -आध्यात्मिक पथमा हिडेका सज्जनले सामाजिक सेवामा ठोस केहि गरेका निम्छरा उदाहरण मात्र छन्। चैतन्य कृष्णले कालिगण्डकी संस्कृत गुरुकुलममा वैदिक र आधुनिक शिक्षा दिने केन्द्र निर्माण गर्नु भएको छ , जहाँ नि:शुल्क खाने बस्नेको सुविधा छ विद्यार्थीलाई। राधिका दासीले झापामा आफ्नो नामको फाउन्डेसन (सेवा संघ ) द्वारा अनाथहरुका लागि घर बनाउनु भएको छ। इटहरीमा माया घर सन्चालनमा छ। यस्ता उदाहरण कति पो छन् र ?
मलाई लाग्छ धर्म, सत्य र अध्यात्मको बाटोमा अरुलाई प्रेरित गर्ने यस्ता सामाजिक अगुवा/ नेताहरूले अझ बढी सेवाका काम गर्नु पर्छ। पानीका प्राकृतिक श्रोतहरू प्रदुषित छन् – पवित्र मानिएका खोला ताल तलाऊलाई प्रदुषण मुक्त बनाउने काममा अग्रसर हुन; धार्मिक -आध्यात्मिक पर्यटन बढाउन गर्नुपर्ने सामाजिक सेवाका काममा योगदान गर्न ; पशु प्राणीमाथि भएको हिंसा घटाउने काममा देशभरी सञ्जाल बनाउनु , आदि आदि।
बिट मार्दै गर्दा : धार्मिक र आध्यात्मिक चेतवाहकहरूले बजारमा अनेक पसल फिजाउनु आवस्यक छैन। ज्ञानको मार्ग वा भक्तिको मार्ग वा कर्मयोग, मानिसलाई आफूसँग मिल्ने धारामा बग्न दिनुपर्छ किनभने अध्यात्ममा कुनै एउटा वा दुइवटा मात्र बाटो छैन। तर मार्ग सहि हो भनेर सत्य जानकारी दिनुपर्यो। कर्ममा लाग्न र आफूमा विश्वास गर्न ढाडस चाहिन्छ। ठुल्ठूला पुराण, महायज्ञ र अन्य अनुष्ठानहरु झ्याल ढोका हुन् तर असल, नैतिक समाजको निर्माणमा निस्वार्थ कर्म गर्नै पर्छ।
अझ चुरो अपेक्षा त परम्परागत वैदिक ज्ञान र पूर्वीय दर्शनबाट अभिप्रेरित लोक व्यवहार होस् र जिम्मेवार पद र नेतृत्व सम्हालेका व्यक्तिबाट सात्विक मार्गमा आफ्नो समाज र राष्ट्रको जिम्मेवारी निभाऊन्।
प्रतिक्रिया