कोभिड-१९ सम्बन्धी महत्त्वपूर्ण अनुसन्धान चोरीको आरोपमा चिनियाँ नागरिक पक्राउ

इनेप्लिज २०८२ असार २५ गते १:३८ मा प्रकाशित

अमेरिकामा कोभिड-१९ सम्बन्धी महत्त्वपूर्ण अनुसन्धान चोरी गरेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन्। एपीका अनुसार अमेरिकी अधिकारीहरूले मंगलबार घोषणा गरे अनुसार शू जेवेई नामक ती व्यक्तिलाई विभिन्न अमेरिकी विश्वविद्यालयहरूको सुसाङ्ख्य यन्त्र (कम्प्युटर) प्रणाली अनधिकृत प्रवेश (ह्याक)गरी कोभिड-१९ सम्बन्धी अनुसन्धानका गोप्य जानकारीहरू चोरेको आरोप लागेको छ।

टेक्ससको दक्षिणी जिल्ला अदालतमा दायर गरिएको ९ वटा मुद्दामा शू जेवेई र झाङ यू नामक अर्का चिनियाँ नागरिकलाई फेब्रुअरी २०२० देखि जुन २०२१ को बीचमा सुसाङ्ख्य यन्त्र (कम्प्युटर)मा अनधिकृत प्रवेश गरेको आरोप लगाइएको छ। शू जेवेईलाई गत बिहीबार इटालीमा पक्राउ गरिएको थियो । र, उनलाई अमेरिका सुपुर्दगी गर्ने प्रक्रिया चलिरहेको छ। झाङ यू भने फरार रहेको बताइएको छ।

अदालती कागजात अनुसार, शू र उनका साथीहरूले कोभिड-१९ को खोप, उपचार र परीक्षणसम्बन्धी अनुसन्धान गरिरहेका धेरै अमेरिकी विश्वविद्यालयहरू, रोग प्रतिरोधात्मक विशेषज्ञहरू र बिषाणु( भाइरस) विशेषज्ञहरूलाई निशाना बनाएका थिए। अनधिकृत प्रवेश (ह्याक) गरिएका विश्वविद्यालयहरूको नाम भने खुलाइएको छैन, तर दुई वटा विश्वविद्यालय टेक्ससको दक्षिणी जिल्लामा रहेको बताइएको छ।

टेक्ससको दक्षिणी जिल्लाका अमेरिकी अधिवक्ता निकोलस जे. गन्जेईले भने, “यी अमेरिकी विश्वविद्यालयहरूमा गरिएको अनधिकृत प्रवेश (ह्याकिङ )बौद्धिक सम्पत्ति अधिकारको उल्लङ्घन मात्र होइन। यो अमेरिकी वैज्ञानिक आविष्कारमाथि गरिएको हमला हो।”

अधिकारीहरूले आरोप लगाएअनुसार, शू र झाङ एचएएफएनआइयुएम नामक ह्याकर समूहका सदस्य थिए, जसले ६०,००० भन्दा बढी अमेरिकी संस्थाहरूलाई निशाना बनाएका थिए। उनीहरूले संवेदनशील जानकारी चोर्नका लागि १२,७०० भन्दा बढी संस्थाहरूलाई सफलतापूर्वक शिकार बनाएको बताइएको छ।

एपीले समाचारमा उल्लेख गरे अनुसार शू माथि संजाल जालसाजी, सुरक्षित सुसाङ्ख्य यन्त्र (कम्प्युटर)मा अनधिकृत पहुँचद्वारा जानकारी प्राप्त गर्ने र गम्भीर परिचय चोरी लगायतका आरोपहरू छन्।

तार जालसाजीको आरोपमा अधिकतम २० वर्षसम्मको कारागार सजाय हुन सक्नेछ। यो घोषणा न्याय विभागले यसै महिना दुई चिनियाँ नागरिकलाई बेइजिङको तर्फबाट अमेरिका भित्र जासुसी गरेको आरोपमा मुद्दा चलाएको खबरपछि आएको हो।

प्रतिक्रिया