मगन्ते लघु कथा

सीता ओझा २०८२ असार २३ गते २२:०९ मा प्रकाशित

एउटा मगन्ते सधैं जस्तै मन्दिरको छेउमा खुट्टा तेर्साएर भिख मागी रहेको थियोे । मन्दिर आउने जति सबै उसलाई हेर्दै चुपचाप हिड्थे । भिक्षाले कटौरा नभरिएपछि भिक्षा बटुल्न उ विस्तारै मस्जिद ,चर्च ,गुरुद्वारा सबै धायो तर कचौरो भरिएन ।

कचौरामा भिक्षा नभरिएकोले मगन्ते दिक्क र थकित थियो । थकित मगन्ते बस्नलाई यताउता हेर्दै थियो । मगन्तेले छेउमा एउटा सानो पसल देख्यो । उ त्यहि पसलको छेउमा आड लागेर कचौरा भुइँमा राख्दै थुचुक्कै बस्यो । साँझको बेला मगन्ते पसलमा के बेच्छन मेसो नै पाएन।

मगन्तेले आड लिएर बसेको त्यो सानो पसल भट्टी रहेछ। विस्तारै भट्टीबाट एकपछि अर्को जँडीया निस्कन थाले । ढोका मै खुट्टा लतारेर बसेको मगन्ते देखेर जँडियाहरुलाई दया जागेरआयो । हरेक जँडीयाले मगन्तेको कचौरामा पाँच,दस हाल्दै गए। एकैछिनमै कचौरा भरियो ।

एकाएक कचौरा भरिएको देखेर भिखारीले छक्क पर्दै एउटा जँडीयातिर फर्केर सोधेछ, ” हे मेरो इश्वर ! तपाईं कहाँ बस्नु हुन्छ ? मलाई तपाईंको बास बताइ दिनु भए, म तपाई बसेकै ठाउँमा आएर भिक्षा माग्ने थिएँ प्रभु ! ” भन्दै हात जोडेछ ।

जँडिया बुझ्दैनबुझि हिडेछ।

प्रतिक्रिया