अमेरिकी वित्तीय विभागले उत्तर कोरियाली नेता किम जोङ उनको जासुसी निकाय गुप्तचरी महासञ्चालन बिभागका सदस्य सोंग कुम ह्योकमाथि कडा प्रतिबन्ध लगाएको छ। उनी एनडारिएल नामक खतरनाक अनधिकृत प्रवेश ( ह्याकिङ )समूहका सदस्य हुन्।
अमेरिकाले सोंगलाई एक अवैध योजना सञ्चालन गरेको आरोप लगाएको छ, जसअनुसार उत्तर कोरियाली सूचना प्रविधि कामदारहरूलाई अमेरिकी नागरिकजस्तै देखाएर विभिन्न अन्तर्राष्ट्रिय कम्पनीहरूमा जागिर दिलाइएको थियो।
उनीहरू चीन र रुसबाट काम गर्दै अमेरिकी प्रतिष्ठानहरूबाट तलब लिंदै आएका थिए। यो पैसा अन्ततः किमको आणविक हतियार कार्यक्रमका लागि प्रयोग गरिएको थियो।
२०२२ देखि सोंगले अमेरिकी नागरिकहरूको व्यक्तिगत विवरण (नाम, सामाजिक सुरक्षा संख्या , ठेगाना आदि) चोरी गरी नक्कली नाममा कामदार खडा गरेका थिए। केही घटनामा ती नक्कली कामदारहरूले प्रतिष्ठानको संजाल (कम्पनी नेटवर्क)मा हानिकारक सफ्टवेयर समेत हालिदिएका थिए।
एफबीआईका अनुसार यो योजनाबाट मिलियन डलर उत्तर कोरियामा पठाइएको छ।
ट्रेजरी विभागका अनुसा हजारौ दक्ष सूचना प्रविधि कामदारहरू चीन र रुसमा बसेर उत्तर कोरियाको क्षेप्यास्त्र कार्यक्रमलाई आर्थिक सहयोग गरिरहेका छन्।
यस सन्दर्भमा अमेरिकाले रुसमा आधारित आसात्र्यान आइटि वर्कर नेटवर्क र यसको संस्थापक गायक आसात्र्यानलाई पनि प्रतिबन्ध लगाएको छ। उनले सन् २०२४ मा ३० उत्तर कोरियाली सूचना प्रविधि कामदार पठाउने १० वर्षे सम्झौता गरेका थिए।
अमेरिकाले किम शासनको साइबर हमला र नक्कली अमेरिकी बनेर गरिएको ठगीविरुद्ध सबै उपाय अपनाउने चेतावनी दिएको छ।
प्रतिक्रिया