टेक्ससको भीषण बाढीको कारण ११० जना भन्दा बढीको मृत्यु, १७० भन्दा बढी बेपत्ता

इनेप्लिज २०८२ असार २५ गते ११:१३ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको मध्य क्षेत्रमा आएको विनाशकारी बाढीमा ११० जनाभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ। सबभन्दा बढी प्रभावित कर काउन्टीमा मात्र १७० भन्दा बढी मानिसहरू हराइरहेको गभर्नर ग्रेग आबोटले बताए।

गभर्नर आबोटले घटनास्थलको निरीक्षणपछि भने, “हामी अहिले पनि दर्जनौं मानिसको खोजी गर्दैछौं, र अवस्था अझै संकटपूर्ण छ।”

करभिल प्रहरी विभागका प्रहरी अधिकारी जोनाथन ल्याम्ब का अनुसार, शुक्रबारपछि अहिलेसम्म जीवित कोही पनि फेला परेको छैन। उनले भने, “जति धेरै समय बित्दै जान्छ, आशा त्यति नै क्षीण हुँदै जान्छ। तर हामी प्रयास जारी राख्नेछौं । उद्धार होस् वा शव फेला पार्ने अभियान हाम्रो लक्ष्य पीडित परिवारलाई जवाफ दिनु हो।”

गभर्नरका अनुसार कर काउन्टी बाहेक अन्य भागहरूमा पनि कम्तिमा एक दर्जन मानिस हराइरहेका*छन्। दुई अमेरिकी सरकारी अधिकारीहरूले बताएअनुसार, वास्तविक हराइरहेका मानिसहरूको संख्या केही दिनदेखि स्थानीय अधिकारीहरूले जनाएभन्दा धेरै बढी थियो।

एक जना मेक्सिकन नागरिकको समेतको मृत्यु भएको पुष्टि भएको छ । घटनापछि अहिले पूर्व सूचना प्रणाली प्रभावकारी भए/नभएको र जीवन बचाउन थप तयारी गर्न सकिन्थ्यो कि भन्ने प्रशस्त सवाल उठेको छ। स्थानीय बासिन्दाहरूले सरकारी निकायको ढिलाइप्रति असन्तोष जनाएका छन्।

प्रतिक्रिया