कविताः मात्सर्य

मित्र उराठी गौतम अमरपुर –गुल्मी, हालःतिलोत्तमा -२,रुपन्देही २०८२ जेठ ११ गते १५:०९ मा प्रकाशित

मलाई भतभती पोलेको छ
ईर्ष्याले छाती जलेको छ
किनकी
उसको जीवन आनन्दले चलेको छ
उसको श्रमको सुनौलो फल फलेको छ
तर
त्यसै कारणले मेरो शिर ढलेको छ
मेरो तन फतक्क गलेको छ।
हो,
ऊ मेरो आफन्त हो
मेरै आफ्नो कुटुम्ब हो।
कहिलेकाहीँ
साथीभाइ पनि त्यो वर्गमा पर्न सक्छन्।
बरु ऊ,
मेरो कोही नपर्ने भएको भए
मेरो परचक्री हुँदो हो त
मलाई चाँसो नै हुँदैनथ्यो
उसको प्रगतिले मलाई कतै छुँदैनथ्यो।
म आफूलाई हेर्छु
र तुलना गर्छु।

हुन त मलाई पनि
खासै कुनै अभाव त छैन्
दुई छाक मज्जाले खाएकै छु
समाजमा सानोतिनो इज्जत पाएकै छु
भेटघाट, सम्बन्ध त टुटेको छैन्
सामुन्नेमा प्रत्यक्ष केही लुटेको छैन्
तर
खै के हुन्छ, हुन्छ ?
उसको उन्नतिको खबर सुन्दा
मुटु चसक्क दुख्छ
कहिलेकाहीँ उसको सानो विफलताले
मन गमक्क फुल्छ
आनन्दको द्वार सुटुक्क खुल्छ।

खै ! यस्तो अजिव व्यथा
मलाई मात्र हुन्छ
वा अरुलाई पनि हुन्छ ?
यस्तो संवेदनाले
क-कसलाई छुन्छ ?
साँच्चै नढाँटी भनौ त
क-कसलाई छुन्छ ??
….अस्तु….

प्रतिक्रिया