गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको दुई दशक पूरा भइसकेको छ। यो संस्था विश्वभर छरिएका नेपालीहरूको साझा सपना, सरोकार र अधिकारको प्रतिनिधित्व गर्ने उद्देश्यले जन्मिएको थियो। आज पनि लाखौं गैरआवासीय नेपालीहरूको आशा यससँग जोडिएको छ। तर अब यो संस्था पुनर्मूल्यांकनको मोडमा आइपुगेको छ।प्रश्न उठ्न थालेको छ—के एनआरएनए अझै हामी सबैको साझा संस्था हो? कि केही सीमित गुट र नेताहरूको कब्जामा सीमित भइसकेको छ?
राजनीतिक हस्तक्षेपले संस्थाको दिशा नै परिवर्तन भइरहेको देखिन्छ। गैरराजनीतिक उद्देश्यले सुरु भएको यो संस्था अब नेपाली राजनीतिक दलहरूको प्रभावबाट अछुतो छैन। पछिल्ला केही वर्षहरूमा नेतृत्व चयन, उम्मेदवार चयन, मतदाता ध्रुवीकरण र कार्यक्रम व्यवस्थापनसम्ममा नेपालका दलीय राजनीतिक प्रभाव स्पष्ट देखिन्छ ।
नेतृत्वमा प्रवेश गर्ने धेरैको प्राथमिकता संस्था होइन, व्यक्तिगत शक्ति प्रदर्शन, व्यापारिक लाभ वा सामाजिक पहुँच बढाउने उद्देश्य देखिन्छ। अझ गम्भीर कुरा त यो हो कि विदेशमा रहेका नेपालीहरूका बीच पनि यो संस्था राजनीतिक अभ्यासको थलो बन्दै गएको छ।
यस प्रवृत्तिले संस्थाको निष्पक्षता, विश्वसनीयता र मूल मर्ममा गम्भीर आँच पुर्याएको छ—जुन गैरआवासीय नेपालीहरूको भावना र हितको विपरीत छ। एनआरएनएको केन्द्रमा “सदस्य” हुनुपर्छ। तर आज संस्था “सदस्यमुखी” नभई “नेतृत्वमुखी” बनेको छ। द्वैध नागरिकताको मुद्दा वर्षौंदेखि अलपत्र छ। यो विषय नेपालमा राजनीतिक बहसको विषय मात्र बनेको छ, जहाँ राजनीतिक दलहरूले आफ्ना स्वार्थ अनुसार समर्थन वा विरोध जनाएका छन्। हाम्रो स्पष्ट, एकीकृत र सशक्त धारणा अभावका कारण यो मुद्दा निरन्तर पन्छाइँदै आएको छ।
हामीले यो हाम्रो अधिकार हो भन्ने आवाज एकीकृत र सशक्त रूपमा उठाउन सकेका छैनौं। त्यसैगरी, श्रमिक संरक्षण, सम्पत्ति अधिकार, कानुनी सहायता जस्ता महत्वपूर्ण विषयहरूमा पनि संस्थाले ठोस नीति निर्माण र स्पष्ट प्रगति देखाउन सकेको छैन।
सदस्यता लिने हजारौँ एनआरएनहरूका लागि सेवा होइन, केवल मताधिकार र एउटा डिजिटल कार्डमा सीमित भइसकेको छ। संस्था अब चुनावी खेल बनेको छ। एनआरएनएको चुनावी प्रतिस्पर्धा अहिले संस्था सुधारको माध्यम नभई, व्यक्तिगत प्रतिष्ठा, लगानी र फोटो सेसनको प्लेटफर्म बनेको देखिन्छ। नेतृत्वमा पुग्नका लागि गुटबन्दी, फर्जी सदस्यता र विदेशी भूमिमा समेत पार्टीको झन्डा बोकेर गरिने भ्रमण—यी प्रवृत्तिहरू बढ्दो छन्। यसले संस्थाको अन्तर्राष्ट्रिय छवि नै धमिल्याएको छ।
हाल तल देखि माथि सम्म बिभाजनको सकेंत संगै एनआरएनए अमेरिका (NRNA USA) मा चुनावी माहोल देखिँदैछ। केही साथिहरूले मलाई सदस्य बन्न आग्रह गर्नुभएको छ। तर मेरो बुझाइमा त्यो आग्रह संस्था, नीति, उद्देश्य वा दर्शनप्रति होइन, कसैलाई व्यक्तिगत समर्थन जनाउनका लागि गरिएको जस्तो लाग्यो। त्यही भएर म एक आन्तरिक द्वन्द्वमा छु — दुई किसिमको सोचबीच:
१ व्यक्ति–केन्द्रित सोच: “म उसलाई चिन्छु, ऊ राम्रो हो, त्यसैले समर्थन गरौँ।”
२ नीति–केन्द्रित सोच: “म कुनै संस्थामा संलग्न हुँदा त्यसको नीति, उद्देश्य र कार्यशैलीसँग सहमत हुनुपर्छ।”
सायद यो मेरो कमजोरी होला — मैले एक सदस्यको भूमिका, अधिकार, जिम्मेवारी र जवाफदेहिताको गहिराइ अझ बुझ्न सकेको छैन। तपाईंहरूको आग्रहप्रति म आभारी छु र तपाईंहरूप्रति मेरो व्यक्तिगत सम्मान छ। म स्वयं एक गैरआवासीय नेपाली भएकाले, मलाई लाग्छ—यस संस्थाको सदस्य बन्नु मेरो प्रमुख दायित्व हो। तर निर्णय केवल व्यक्तिगत सम्बन्धको आधारमा होइन—संस्थाको उद्देश्य, कार्यशैली र दीर्घकालीन सोचलाई बुझेर मात्र लिने हो। एनआरएनए जस्तो संस्था, जुन विश्वभर छरिएका नेपालीहरूको प्रतिनिधित्व गर्छ, त्यसमा सदस्यता लिने निर्णय सजिलो होइन—यो गम्भीर र जिम्मेवारीपूर्ण निर्णय हो। त्यसैले म संस्थाको नीति, पारदर्शिता र दिशा स्पष्ट रूपमा बुझेर मात्र संलग्न हुन चाहन्छु। तपाईंहरूको अभियानलाई शुभकामना दिन्छु। तर मेरो सदस्यता निर्णय व्यक्तिगत मूल्य र संस्थाको उद्देश्यमा आधारित हुनेछ भन्ने कुरामा म स्पष्ट छु। आशा छ, तपाईंहरूले मेरो विचारलाई सम्मान गर्नुहुनेछ।
यदि एनआरएनएले विश्वभरका लाखौँ म जस्ता सदस्यहरूको भरोसा पुनः जित्न चाहन्छ भने, संस्थाको संरचना र कार्यसम्पादनमा गहिरो सुधार अपरिहार्य छ विशेषगरी:
यदि हामीले गैरआवासीय नेपालीको हैसियतले यस संस्थाको महत्त्व बुझेका छौं भने, अब मौन बस्ने समय सकिएको छ। एनआरएनए केवल चुनाव जित्ने, भाषण दिने र फोटो खिच्ने थलो होइन। यो संस्था विश्वभर छरिएर रहेका नेपालीहरूको भावना, अधिकार र भविष्यको प्रतिनिधि हो। यदि हामी चाहन्छौं कि यो संस्था पुनः जीवन्त बनोस्—पारदर्शी, जवाफदेही र समावेशी बनोस्—हामी स्वयं सक्रिय बन्नु आवश्यक छ।अब मौन बस्ने समय सकिएको छ। सुधारको माग गर्नु केवल हाम्रो अधिकार होइन—हाम्रो साझा दायित्व हो। एनआरएनएको विधान आफैं सुधार गर्नुपर्छ, जसले सदस्यलाई केन्द्रमा राख्छ, नेताहरूलाई सदस्यप्रति जवाफदेही बनाउँछ र संस्थालाई साँच्चिकै समावेशी, निष्पक्ष र प्रतिनिधित्वमुखी बनाउँछ ।
राजेन्द्र बा. राउत ( न्यु ह्यामसायर)
प्रतिक्रिया