“ईनास राष्ट्रिय सम्मान २०२५”: नेपाली भाषा, कला, संस्कृतिको संवर्धन र प्रवर्धनमा समर्पित संस्थाका नेतृत्वहरुको गौरवपूर्ण सम्मान ! 

इनेप्लिज २०८२ असार २१ गते १४:१२ मा प्रकाशित

मेरिल्याण्ड, अमेरिका – नेपाली कला, भाषा, साहित्य, संगीत र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा समर्पित संस्था ईनास अमेरिकाले आयोजित “ईनास राष्ट्रिय सम्मान २०२५” कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ। 

यस समारोहमा ईनास अमेरिका राष्ट्रिय समिती अन्तर्गत रहि नेपाली भाषा, कला, संस्कृतिको संवर्धन र प्रवर्धनमा समर्पित संस्थाका संस्थाका पूर्व अध्यक्षहरु तथा विभिन्न राज्य समितिका अध्यक्षहरुलाई “संस्थागत नेतृत्व कदरपत्र” सहित सम्मानित गरियो, जसलाई नेपाली डायस्पोरामा पहिलो पटक संस्थागत मूल्याङ्कनको ऐतिहासिक कदमका रूपमा लिइएको छ।

ईनास (International Nepalese Artists Society) सन् २०१२ मा पोल्याण्डबाट सुरु भई २०१४ मा अमेरिकाको भर्जिनियामा विधिवत दर्ता भइ स्थापना भएको हो। ईनासले अमेरिका लगायत बिश्वभर नेपाली सिर्जनशीलता, भाषा र संस्कृतिको प्रवर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।

कार्यक्रममा संगठित रुपमा नेपाली भाषा, कला , साहित्य, संगीत, संस्कृतिको प्रवर्धन र सम्वर्धनमा पूर्ण रुपले समर्पित रहि कला र कलाकारको सारथी बनेर यसको संगठनात्मक बिकासमा अग्रपंक्तिमा रहेर सफल अनि उत्कृष्ट नेतृत्व प्रदान गरि आ-आफ्नो कार्यकाल पूरा गर्नुभएका ईनास अमेरिकाका संस्थापक अध्यक्ष आनन्दु लामा (2014/2017) (2017/2019) पूर्व अध्यक्ष ईनास अमेरिकाका कृष्ण श्रेष्ठ (2019/2021), पूर्व अध्यक्ष ईनास अमेरिकाका कन्हैया सिंह परियार(2021/2023) अमेरिका र (2017/2019) मेरिल्याण्ड, ईनास भजिनियाका पूर्व अध्यक्ष गोविन्द श्रेष्ठ (2017/2019), ईनास भजिनियाका पूर्व अध्यक्ष राहुल केसी (2019/2021) (2021/2023), ईनास मेरिल्याण्डका पूर्व अध्यक्ष श्रीजन ताम्राकार (2019/2021) (2021/2023), ईनास पेन्सिलभेनियाका विकास घले गुरुंग (2021/2023), ईनास केन्टकीका अध्यक्ष गोपाल नेपाल (2019/2021) र ईनास केन्टकीका अध्यक्ष अर्जुन थापा (2021/2023) लगायतलाई “ईनास विशेष सम्मान” प्रदान गरिएको थियो । 

त्यस्तै, संगठनात्मक वार्षिक उत्कृष्टताका लागि ईनास मेरिल्याण्ड राज्य समिति (2025) लाई उत्कृष्ट राज्य समितिको रुपमा विशेष सम्मान प्रदान गरियो। 

संस्थाको स्थापनाकाल देखि निरन्तर संस्थाको संगठनात्मक बिकास र हकहितमा समर्पित  नेतृत्वहरुलाई र  उत्कृष्ट कार्य सम्पादन गर्ने राज्य समितिहरुलाई यसरी नै आगामी बर्षहरुमा पनि निरन्तर पुरस्कृत र सम्मान गर्दै लैजाने बताईएको छ ।

ईनास अमेरिकाका अध्यक्ष राहुल केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा ईनास ग्लोबलकी संरक्षक नीता श्रेष्ठको उपस्थिति रहेको थियो। कार्यक्रममा ईनासका अन्य शीर्ष पदाधिकारीहरुमध्ये बरिष्ठ उपाध्यक्ष साबु गदाल कार्की, प्रवक्ता प्रकाश तिवारी, सल्लाहकार रवि कार्की लगायतको अतिथिहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा सिनेटर कार्ल ज्याक्सन, स्टेट डेलिगेट्स ह्यारी भण्डारी, तथा सिनेटर जेनेट्ट जे. बी. (हार्डफोर्ड काउन्टीका प्रतिनिधि) जस्ता स्थानीय अमेरिकी जनप्रतिनिधिहरुको सहभागिता विशेष आकर्षण बनेको थियो भने हिन्दु बुद्ध मन्दिरका अध्यक्ष डा. श्याम कार्की, बानाका अध्यक्ष जितेन गुरुंग, एनआरएनए मेरिल्याण्ड च्याप्टरका अध्यक्ष कुल गुरुंग, मोनाका पुर्व अध्यक्ष अमर छन्त्याल, पर्वत समाजका अध्यक्ष रबिन शर्मा, नेपा कम्युनिटी युएसए का अध्यक्ष बिक्रान्त मान श्रेष्ठ लगायत अन्य बिभिन्न स्थानिय संघसंस्थाहरुका बिशिष्ठ पदाधिकारीहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा अमेरिका र विदेशबाट आइपुगेका गायक/गायिका, चलचित्रकर्मी, खेलाडी, समाजसेवी, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो। उपस्थित सबैले कार्यक्रममा प्रस्तुत गरिएका सबै झाँकीहरु, नृत्यहरु र गीतसंगीतहरुका सवै प्रस्तुतिहरुको खुलेर प्रसंसा गरेका थिए भने ईनास अमेरिकाले यस बर्ष सम्मानित गरेका बिभिन्न बिधाहरुका ब्यक्तितहरुको पनि उच्च कदर र सम्मान ब्यक्त गरेका थिए। साथै संस्तागत आन्तरिक सम्मानको प्रचलनको खुलेरै मुक्तकण्ठले प्रशंसा गरेका थिए । 

समग्रमा, ईनास राष्ट्रिय सम्मान २०२५ ले नेपाली डायस्पोरामा संगठनात्मक मूल्य, नेतृत्वको सम्मान र सांस्कृतिक पहिचानको प्रवर्द्धनमा नयाँ मानक स्थापित गरेको छ। यो कार्यक्रम अनुकरणीय उदाहरण मात्र होइन, नेपाली समाजको एकता, सिर्जनशीलता र पहिचानको महा-उत्सव बन्न पनि सफल भएको छ।

प्रतिक्रिया