सोमबार, साउन १८ २०७८
काठमाडौं ०२:११
वासिङटन डिसी 16:26

अर्थमन्त्री कार्की–चुनावीसभा

इनेप्लिज २०७४ मंसिर ५ गते १३:११ मा प्रकाशित

इटहरी, ५ मंसिर  ः नेपाली काँग्रेसका नेता एवम् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोशी पीडितको उद्धारमा नेपाली काँग्रेसले पु-याएको योगदानको उदाहरणबाट काँग्रेस पार्टी पीडितको पक्ष लिने पार्टी हो भन्ने पुष्टि हुने बताउनुभएको छ ।

अर्थमन्त्री कार्कीले आज आफ्नो निर्वाचन क्षेत्र सुनसरी–४ को कोशी बाढी प्रभावित क्षेत्रको लौकही बजार क्षेत्रमा नेपाली काँग्रेसको क्षेत्रीय समितिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

कोशी नदीले पूर्वी तटबन्ध भत्काएर अर्बौंको नोक्सानी गर्दै सयौँ स्थानीयवासी उठिवास हुँदा काँग्रेसको नेतृत्वको सरकारले विस्थापित पीडितको पक्षमा पु¥याएको मानवीय सेवा मानव मात्रको सेवाका लागि सर्वोत्तम सेवाका रुपमा रहेको पनि अर्थमन्त्री कार्कीले स्मरण गराउनुभयो ।

अर्थमन्त्री कार्कीले देशमा प्राप्त लोकतन्त्रको संस्थागत विकाससँगै नयाँ नेपालका लागि जारी संविधान कार्यान्वयन गर्दै देशको आर्थिक समृद्धिसहित सबै जातजाति धर्म सम्प्रदाय र तराईवासीले राज्यबाट प्राप्त गर्ने समान अवसर उपलब्ध गराउने पक्षमा काँग्रेसले भरभग्दुर प्रयास गर्ने वचनबद्धतासमेत व्यक्त गर्नुभयो ।

अर्थमन्त्री कार्कीले काँग्रेसले नेपाली जनताको पक्षमा स्थापनाकालदेखि नै सकारात्मक भएर काम गर्दै आएको तथा महामानव बिपी कोइरालाले आम गरिब नेपाली जनताले धनी व्यक्तिसरह समान रुपमा अवसर पाउनुपर्छ भन्ने महान् नीतिलाई कार्यान्वयन गर्न सङ्कल्पित रहेकामा पनि समर्पित रहँदै आएकामा पनि उहाँले जोड दिनुभयो ।

आफ्नो निर्वाचन क्षेत्र विगतमा पनि नेपाली काँग्रेसका नेता बिपी कोइराला र गिरिजाप्रसाद कोइरालाको राजनीतिक क्षेत्र भएकाले काँग्रेसका लागि यो क्षेत्र भावनात्मक सम्बन्ध राख्ने क्षेत्र भएकाले आफूले यस क्षेत्रका मतदाताको चाहना र आवश्यकता पूरा गर्न दृढ सङ्कल्पित रहने विश्वास पनि व्यक्त गर्नुभयो ।

क्षेत्रीय समितिका सभापति एवम् कोशी गाउँपालिकाका अध्यक्ष अयुव मियाँको अध्यक्षतामा भएको उक्त चुनावीसभामा प्रदेशसभा सदस्यका उम्मेदवार रेवती दुलाल, पार्टी नेता ताहिर अन्सारी र हरिनगरा गाउँपालिका अध्यक्ष गफार अन्सारीलगायतले बोल्नुभएको थियो ।

चुनावीसभा–अशोक राई

लोकतान्त्रिक गठबन्धनबाट सुनसरी निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार रहनुभएका आदिवासी नेता एवम् पूर्वमन्त्री अशोक राईले विगतमा कसैले काम गरेन भनेर पुर्पुरोमा हात राखेर पछुताउनुभन्दा वर्तमान असल निर्णय गर्नु राम्रो हुनेमा जोड दिनुभएको छ ।

आदिवासी जनजाति नेता राईले आज निर्वाचन क्षेत्र नं १ को धरानमा आयोजित चुनावीसभालाई सम्बोधन गर्नुहुँदा उक्त कुरामा जोड दिनुहुँदै विगतबाट पाठ सिकेर वर्तमानमा उचित न्याय समेतको निर्णय गर्नु उचित हुने पनि उहाँले आग्रह गर्नुभएको छ ।

आदिवासी जनजातिको सघन बसोबास रहेको धरानको इतिहासलाई जीवित राख्न र आदिवासी जनजातिको धर्म संस्कार संस्कृति र प्राचीन सम्पदाको संरक्षण गर्दै धरानलाई सम्पूर्ण नेपाली जातजातिको साझा बसोबासको थलोका रुपमा विकास गर्न पनि नयाँ मतको आवश्यकता परेको कुरा पनि प्रस्ट पार्नुभएको छ ।

उक्त चुनावीसभामा प्रदेशसभामा क्षेत्र (क)का उम्मेदवार किशोर राईले विगत लामो समयदेखि धरानमा नेकपा (एमाले)ले जित्दै आए पनि विकास निर्माण र परिवर्तनको पक्षमा भने देखिनेगरी केही पनि काम नभएकाले धरानको उन्नति प्रगति र परिवर्तनका लागि राजनीतिक नेतृत्वमा पनि परिवर्तन आउन जरी रहेको बताउनुभयो ।

प्रतिक्रिया