मंगलबार, असार ८ २०७८
काठमाडौं ०८:००
वासिङटन डिसी 22:15

संविधान संशोधन गरी सबैलाई समेटेर मात्रै निर्वाचन गर्नुपर्छ: डा भट्टराई

इनेप्लिज २०७३ चैत १२ गते १६:५६ मा प्रकाशित

कोहलपुर (बाँके), १२ चैत । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराइले तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपूर्व संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ ।

नयाँ शक्ति पार्टीले आज बाँकेको कोहलपुरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै संयोजक डा भट्टराईले सरकारले गर्न लागेको स्थानीय, सङ्घीय र केन्द्रीय तहको निर्वाचनपूर्व थारु, आदिवासी, जनजाति, मधेसलगायतका माग समेट्ने गरी संविधान संशोधन आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन सम्पन्न गरेर मात्रै हुन्न, त्यसका लागि सङ्घीय र केन्द्रीय निर्वाचन पनि सम्पन्न गर्नुपर्छ त्यसैले संविधान संशोधन अति अपरिहार्य छ ।”

सरकारमा रहेका दलले जनतालाई झुक्याइरहेको बताउँदै पूर्वप्रधानमन्त्री डा भट्टराइले संविधानमा रहेको व्यवस्था जातीय, क्षेत्रका लागि स्वायत्त क्षेत्र र विशेष क्षेत्रको व्यवस्था हुनुपर्ने भए पनि त्यसको कार्यान्वयन नगरी निर्वाचन गर्न लागेकाले त्यसतर्फ सचेत हुन नागरिकलाई आग्रह गर्नुभयो ।

अहिले सरकारमा रहेका दलले सत्ताको आडमा निर्वाचन गर्न खोजिरहेको उहाँको आरोप थियो । “जनकपुरमा जन्मेका सीतालाई हाम्री भन्ने जनकपुरमै बस्नेलाई नेपाली होइन भन्नु खोक्रो राष्ट्रवाद हो,” उहाँले भन्नुभयो । अहिलेको निर्वाचन प्रक्रिया अत्यन्तै खर्चिलो र भड्किलो भएकाले खर्च कटौती गर्दै निर्वाचनको खर्च सरकारले नै बेहोर्नुपर्ने आफ्नो पार्टीको माग भएको डा भट्टराईले बताउनुभयो । नेपाल बहुजाती, बहुभाषी, बहुधार्मिक, बहुसांस्कृतिक जातिको सिङ्गो इन्द्रेणी भएकाले सबै रङ्गलाई मिलाएर अगाडि बढ्नुपर्नेमा उहाँले जोडदिनुभयो ।

प्रतिक्रिया