शुक्रबार, असार ४ २०७८
काठमाडौं ०५:४९
वासिङटन डिसी 20:04

चुरे–तराईमा पानीको स्रोत घट्दै गएकामा राष्ट्रपतिको चिन्ता

इनेप्लिज २०७२ साउन १७ गते १४:५३ मा प्रकाशित

Rss_Images_1438517840997_RS-KTM-president-1काठमाडौँ, १७ साउन । राष्ट्रपति डा रामवरण यादवले चुरे–तराई क्षेत्रमा भएको वनविनासका कारण पानीका स्रोत घट्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

नेपाल वातावरण पत्रकार समूहको संयोजनमा आज राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको ‘चुरेको चर्चा’सम्बन्धी कार्यक्रममा राष्ट्रपति डा यादवले चुरे–तराई क्षेत्रमा वनविनास बढेपछि तराईमा पानीका मुहान सुक्दै गएको बताउनुभयो ।

चुरे–तराईमा देखिएको भयावह समस्यापछि आफूले त्यस क्षेत्रमा अवस्थित झण्डै ६० प्रतिशत जनताको हित हुने कार्य होस् भन्ने चाहना राखेको बताउँदै राष्ट्रपति डा यादवले चुरे–तराई क्षेत्रको संरक्षणका लागि सरकारको आवश्यक ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति यादवले सरकारले एकातिर ‘राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिको कार्य अघि बढाएको र अर्काेतिर चुरे–तराई क्षेत्रमा ढुङ्गा, गिटी र बालुवा निकासी गर्न दिएर वेवास्ता गरेको गुनासो गर्नुभयो ।

फरक प्रसङ्गमा राष्ट्रपति यादवले दलहरुबीच भएको १६ बुँदे सहमतिले संविधान निर्माणको ढोका खोलेकामा खुसी व्यक्त गर्दै संविधान निर्माणमा भने दलहरुले जनताको राय सुझाव लिन आवश्यक विधि र प्रक्रियामा कम समय दिएको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले चुरे संरक्षणको विषय चुरे सरोकारवाला, यसमा क्रियाशील विज्ञ तथा सञ्चार क्षेत्र सबैको चासोको विषय भएकाले यसमा सबैले अपनत्वको अनुभव गर्नपर्ने बताउनुभयो ।

उहाँले कतिपय नदीका सतह ढुङ्गा र बालुवाले माथि उठी बर्सेनि हुने डुबानको समस्याबाट बच्न पनि चुरे–तराई क्षेत्रको आवश्यक व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

समितिका सदस्य विजय सिंहले चुरेको संवेदनशीलता बुझी समितिले चुरेको सिरानदेखि दक्षिणमा १० गजासम्मका नदी प्रणालीलाई जोडेर कार्यक्रम अघि बढाएको बताउनुभयो । उहाँले जनतालाई केन्द्रमा राखेर समितिले कार्यक्रम गरेको जानकारी गराउँदै जोखिममा परेको जनतालाई पुनःस्थापना गर्ने बताउनुभयो ।

समितिका सदस्य–सचिव अन्नपूर्ण दासले समितिका क्रियाकलापको बारेमा जानकारी गराउँदै सरोकारवाला सबै निकायको सहयोगले मात्र सफलता प्राप्त हुने बताउनुभयो ।

सदस्य–सचिव दासले समिति चुरे संरक्षणका लागि गुरुयोजना र छुट्टै ऐन निर्माणको तयारीमा रहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा पूर्व सचिव डा उदय शर्मा, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा गणेश गुरुङ, वातावरणविद् केदार रिजाललगायतले चुरे क्षेत्रको संरक्षणका लागि विभिन्न सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया