जसको पछाडि ठूला बजेटका परियोजनाहरू छन्, तिनै मिडियाले LGBTIQ Pride Parade मात्रै देख्छन् र देखाउँछन्। तर लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले आफ्नै खेतिपाती, श्रम र मौलिक संस्कृतिसँग गाँसिएको रोपाइँ जात्राजस्तो पर्वलाई ती मिडियाका क्यामेराले कहिल्यै देख्दैनन्।
उनीहरू गौरवको चुलीमा चढेका पश्चिमी शैलीका परेडहरूमा रमाउँछन्, तर माटोको गन्धसहितको समुदायको आत्माभिव्यक्तिलाई बेवास्ता गर्छन्।
लिङ्ग परिवर्तन शल्यक्रिया? त्यो त उनीहरूका लागि चिकित्सा विज्ञानको चमत्कार हो। विज्ञप्ति पढेर समाचार बनाउँछन्, तर त्यसको पछाडिको पीडा—मानसिक, सामाजिक र आर्थिक संकट—उनीहरूको समाचारमा कहिल्यै स्थान पाउँदैन।
उनीहरू ‘ट्रान्सजेन्डर’ शब्द उच्चारण गर्छन्, तर ‘तेस्रोलिङ्गी’ शब्द होइन—जबकि नेपाली संविधान, नागरिकता ऐन र समाजले औपचारिक मान्यता दिएको पहिचान हो ‘तेस्रोलिङ्गी’। नेपाली सन्दर्भ, भाषा, वर्ग, र सांस्कृतिक विविधतालाई बेवास्ता गरेर, उनीहरू अन्तर्राष्ट्रिय परियोजनाको अनुहारहरूमा मात्रै केन्द्रित हुन्छन्।
उनीहरूले LGBTQI पहिचान बनाएका केही व्यक्तिसँग मात्रै सहकार्य गर्छन्, कार्यक्रम आयोजना गर्छन्—त्यो पनि अंग्रेजी बोलेर पहिचान परिभाषित गर्न सक्नेहरूसँग। गाउँबाट आएका, अंग्रेजी नबोल्ने, आफूलाई तेस्रोलिङ्गी, समलिङ्गी, अन्तरलिङ्गी भनेर चिनाउनेहरूको आवाज ती कार्यक्रमहरूमा कहिल्यै समावेश हुँदैन।
यो दृश्यमा गम्भीर असमानता छ—जहाँ ‘समावेशी’ भन्ने नाम दिइन्छ, तर दृष्टिकोण र पहुँच दुबै खुम्च्याइन्छ। पहिचानको राजनीति केही परियोजनामै सीमित हुन्छ, र मिडियाको नजर पनि त्यसैको छायामा सीमित रहन्छ।
यदि हामी साँच्चिकै समावेशी समाज चाहन्छौं भने, समुदायको विविध भाषा, भूगोल, श्रम, संस्कृति, र आवाजहरूलाई पनि दृश्यको केन्द्रीयता दिनुपर्छ। परेड भन्दा पनि पर्व, अनुदान भन्दा पहिचान, र चमत्कार भन्दा पनि संघर्ष देख्न सक्ने दृष्टि विकसित गर्नुपर्ने बेला आएको छ।
सुनिल बाबु पन्तको फेसबुकबाट
https://www.facebook.com/photo?fbid=743929681916721&set=a.106122165697479
Amar Elon Tamang Bal
जहिले पनि जटिल विषयलाई उठान गर्नु हुन्छ समुदायको पहिचानको लागि आवाज उठाउनु हुन्छ तर सुन्ने र बुझ्नेहरुले नै राम्रो संग साथ नदिएको हुँदा हाम्रो समुदाय पिछडिएका भने पक्कै छ। समुदाय भित्रै केहि यस्तो ब्यक्तिहरु छन् जसले समुदायको पहिचान र अधिकारको लागि होइन पैसा र स्वर्थ पूरा गर्नको लागि कदमहरु चालिरहेका छन् । समुदाय भित्रै बिवाद सिर्जना गराउछ ।एक अर्काको खिचतानी गर्छन् र समुदाय कै बेजेत गराउछ।जब सम्म यो परिपाटीको अन्त्य गर्न सकिदैन तब सम्म हाम्रो समुदायले भनेको र सोचेको जस्तो अधिकार र पहिचानको लागि लड्न सकिदैन । Sunil Babu Pant प्रती विशेष धन्यवाद हजुरले जुन योजना र अधिकारको लागि कार्य गर्दै आउनु भएको छ। त्यो योजना र कार्यमा साथ दिन धेरै जना हजुरको साथमा रहनेछन् ।
प्रतिक्रिया