इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूले हमाससँग अप्रत्यक्ष वार्ताका लागि सम्झौता टोली कतार पठाउने भएको घोषणा गरेका छन्।
तर उनले हमासले अमेरिकी मध्यस्थतामा ल्याएको युद्धविराम प्रस्तावमा गरेको “परिवर्तन” इजरायलका लागि “स्वीकार्य छैन” भनेका छन्।
प्रधानमन्त्रीको कार्यालयले आइतबार टोली कतार पठाइने बताएको छ। यसअघि शुक्रबार हमासले अमेरिका–मध्यस्थता गरिएको युद्धविराम प्रस्तावमा आफूले “सकारात्मक प्रतिक्रिया” दिएको दाबी गरेको थियो।
टेलिग्राममा दिएको सन्देशमा हमासले भनेको छ, “हामी मध्यस्थकर्ताले राखेको पछिल्लो प्रस्तावमा सकारात्मक प्रतिक्रिया दिएका छौँ र यसलाई कार्यान्वयन गर्ने प्रक्रियाबारे तुरुन्त वार्तामा जान तयार छौँ।”
तर नेतन्याहूको कार्यालयले भने हमासले प्रस्तावमा राखेको “परिवर्तन” इजरायलका लागि अस्वीकार्य भएको स्पष्ट पारेको छ।
यसैबीच, राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार इजरायलले दुई महिनाको युद्धविराम प्रस्तावमा सहमति जनाएको बताएका थिए, यद्यपि त्यतिबेला इजरायल वा हमास दुवैले उक्त कुरा औपचारिक रूपमा पुष्टि गरेका थिएनन्।
शुक्रबार राति राष्ट्रपतिको विशेष विमान(एयर फोर्स वन)बाट पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, “यो निकै सकारात्मक प्रतिक्रिया हो। अर्को हप्ता गाजाका लागि सम्झौता हुन सक्छ। म निकै आशावादी छु ।”
प्रतिक्रिया