टेक्सस बाढीमा मृत्यु हुनेको संख्या १५ बालबालिका सहित ५१ पुग्यो , २७ बालिकाको व्यापक खोजी जारी 

इनेप्लिज २०८२ असार २२ गते ९:४९ मा प्रकाशित

ट्रम्प प्रशासनद्वारै आपतकालीन राहत स्वीकृत 

स्थानीय अधिकारीहरूका अनुसार अमेरिकाको टेक्सस राज्यमा आएको भीषण बाढीमा कम्तीमा ५१ जनाको ज्यान  गइसकेको छ भने जसमा १५ जना बालबालिका परेका छन्। 

सिएनएनका अनुसार क्याम्प मिस्टिक नामक बालिका ग्रीष्मकालीन शिविरका चार बालिकाको मृत्यु परिवारहरूले पुष्टि गरिसकेका छन्, तर अरू अभिभावकहरू अझै पनि सन्तानको खबरको पीडादायी प्रतिक्षामा छन्।

ग्वाडालुप नदी नजिकै अवस्थित क्याम्प मिस्टिकमा पानी पसेपछि २७ बालिकाहरू अझै हराइरहेका छन्। ती बालिकाहरूको खोजीमा उद्धार टोलीहरू अहोरात्र खटिएका छन्

ट्रम्प प्रशासनले टेक्ससका गभर्नर ग्रेग आवटले हस्ताक्षर गरेको संघीय विपद् घोषणालाई अनुमोदन गरेको छ, जसबाट राज्यलाई राहत र पुनःस्थापनाका लागि संघीय सहयोग पुग्नेछ। 

यसअघि केही राज्यको यस्तै अनुरोध राष्ट्रपति ट्रम्पले अस्वीकार गरेका थिए र विपद् व्यवस्थापनको जिम्मेवारी राज्यहरूलाई दिन खोजिएको थियो।

केर काउन्टीमा मात्र ८५० भन्दा बढी मानिसको उद्धार गरिएको छ। एपीका  अनुसार उद्धार कार्यमा ३०२ जनालाई  उदग्रविमान ( हेलीकप्टर) बाट उद्धार गरिएको छ।

यस अभियानमा १५८ उद्धार गाडी, ३७ डुङ्गा, १० खोज तथा उद्धार टोली, २ वटा उदग्रविमान(हेलिकप्टर), उद्धार पौडीबाज, र १६ वटा मानवरहित यान(ड्रोन )सम्मिलित छन्।

बाढीपछि अझै पनि खोजी र उद्धार जारी रहेकाले मृत्यु संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया