मंगलबार, मंसिर ९ २०७७
काठमाडौं ०९:०५
वासिङटन डिसी 22:20

चिया क्षेत्रको समस्या समाधानमा प्रतिबद्ध छु: खनाल

इनेप्लिज २०७२ वैशाख ११ गते ११:०० मा प्रकाशित

jhalanath-khanalइलाम, ११ वैशाख । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले चिया क्षेत्रको समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको विचार व्यक्त गर्नुभएको छ ।

केन्द्रीय चिया सहकारी सङ्घ लिमिटेड नेपालको चौथो वार्षिक साधारणसभाको आज इलाममा उद्घाटन गर्नुहुँदै अध्यक्ष खनालले नेपालको चियाको उच्च सम्भावना रहेकाले दक्ष प्राविधिक उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।

डेढसय वर्ष पुरानो चियाको विकास र प्रवद्र्धनका लागि चिया सहकारी गठन हुनुले यसमा देखिएका समस्या समाधान हुने उहाँले बताउनुभयो । चिया पेय पदार्थका रुपमा विश्वमा विस्तार हुँदै गएकाले यसको बजार निरन्तर विकास हुँदै गएको समेत उहाँले बताउनुभयो ।

“विस्तारित बजारलाई व्यवस्थित बनाउनु अहिलेको आवश्कता हो, सहकारीको माध्यमबाट चियामा देखिएका समस्या समाधान गरियो भने चियाको भविष्य उज्ज्वल छ” खनालले भन्नुभयो । आफू प्रधानमन्त्री भएका समयमा चियाको बजारीकरणमा खासै प्रगति हुन नसकिएकोप्रति उहाँले दुखेसोसमेत गर्नुभयो ।

तीनखम्बे अर्थनीतिअनुरुप नै अघि बढ्नुपर्नेमा खनालले जोड दिनुभयो । “निजी क्षेत्र, सहकारी र राज्य परिचालित हुनुपर्छ” उहाँले भन्नुभयो । सरकारले अहिले बेचेका कारखाना सहकारीले सञ्चालन गर्नुपर्नेमा खनालले जोड दिनुभयो । चिया क्षेत्रमा निश्चित व्यक्तिको आलोपालो प्रणालीका कारण किसान मारमा परेको उहाँको भनाइ छ ।

सहकारीले नै कारखाना सञ्चालन गर्न सकेमा मात्र किसानको हित हुने बताउँदै उहाँले उपयुक्त चिया नीतिको आवश्यकता रहेको बताउनुभयो । कारखाना स्थापनाका लागि सरकारले निश्चित अनुदान दिनुपर्ने र त्यसका लागि आफूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

केन्द्रीय चिया सहकारी सङ्घका अध्यक्ष गोविन्दप्रसाद दाहालले नेपालमा विसं १९२० देखि चियाखेतीको सुरुवात भए पनि यसमा संलग्न किसानको हित हुन नसकेको दुखेसो गर्नुभयो । नेपालको करिब २५ हजार हेक्टरमा चियाखेती गरिएको छ भने वार्षिक दुई करोड भन्दा बढी चिया उत्पादन भइरहेको छ । सङ्घमा इलामका ३९, पाँचथरका ११, तेह्रथुमका नौ, धनकुटाका नौ, झापाका पाँच, ललितपुरका नौ, उदयपुरका चार, भोजपुर, खोटाङ, मोरङका एक÷एक वटा, रामेछापका चार, दोलखाका चार, काठमाडौँ, ओखलढुङ्गालगायत जिल्लाका गरी एक सय वटा चिया सहकारी संस्था आबद्ध रहेको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

नेपाली चियाको लोगोले अन्तर्राष्ट्रिय मान्यता नपाउनु, अक्सन बजार नहुनु, राष्ट्रिय चिया नीति–२०५७ प्रभावकारी रुपमा कार्यान्वयन नहुनु, नीति निर्माण तहमा चिया किसानको प्रतिनिधित्व नहुनुले चिया क्षेत्रको विकास सम्भव नभएको सङ्घको ठहर छ ।

साधारणसभाको अवसरमा अध्यक्ष दाहालले चिया सहकारीको हितका लागि आगामी नीति तथा कार्यक्रमसमेत सार्वजनिक गर्नुभयो । कार्यक्रममा इलाम उद्योग वाणिज्य सङ्घकी अध्यक्ष सुशीला सापकोटा, सङ्घका उपाध्यक्ष राजेन्द्रकुमार जवेगुलगायतले चिया क्षेत्रको समस्या समाधान गर्न राज्य जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया