बुधबार, मंसिर १७ २०७७
काठमाडौं ०७:०३
वासिङटन डिसी 20:18

विपक्षीको बन्दले जनजीवन कष्टकर, ठाँउ–ठाँउमा झडप

इनेप्लिज २०७१ चैत २४ गते १०:४१ मा प्रकाशित

Banda-victim

 

 

 

 

 

 

 

 

 

 

काठमाडौँ, २४ चैत । एकीकृत नेकपा (माओवादी) नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले आह्वान गरेको नेपाल बन्दले सर्वसाधारणको दैनिक कष्टकर बनेको छ ।

संविधान लेखनमा सहमतिका लागि दबाब दिने भन्दै मोर्चाले आज घोषणा गरेको नेपाल बन्दका क्रममा राजधानीमा बिहानैदेखि बन्दकर्ताले नारा जुलुसका साथ यातायात, पसल, उद्योग कलकारखाना, शैक्षिक संस्था जबर्जस्ती बन्द गराउँदा कतिपय स्थानमा प्रहरीसँग झडपसमेत भएको छ ।

बन्दकर्ताले आज बिहान सबेरै कोटेश्वर क्षेत्रमा त्रिभुवन विमानस्थलमा आफन्तलाई पुर्‍याएर फर्किरहेका नीरज बानियाँको बा१ज १८७७ नं को ट्याक्सीमा पेट्रोल छर्किएर आगजनी गरेका थिए भने बुद्धनगरमा तरकारी बोकेको गाडीमा तोडफोड गरेका थिए ।

दिउसोसम्म राजधानीमा जबर्जस्ती बन्द गराउँदै हिँडेका मोर्चाका १८ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरिक्षक नारायणसिंह खड्काले जानकारी दिनुभयो ।

आन्दोलनकारीबाट हुनसक्ने क्षतिलाई रोक्न तथा सर्वसाधारणको सुरक्षाका लागि सडकका चोकचोकमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने आन्दोलनकारी पनि बन्द सफल बनाउन एकत्रित भएर नाराबाजी गरिरहेका छन् ।

bike-fire

 

 

 

 

 

 

 

 

यातायात, कार्यालय, पसल–व्यापार, शैक्षिक संस्था, उद्योग व्यवसाय बन्दले सर्वसाधारणको दैनिक कष्टकर बनेको छ भने बन्दका कारण दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्ने वर्गको बिचल्ली नै भएको छ ।

मुलुकभरबाट राजधानी भित्रिने यातायातका साधान भित्रिन नपाउँदा यात्रुहरु बाटोमै अलपत्र पर्नुका साथै स्थानीय रुटका सवारी साधन र ट्याक्सी नचल्दा गन्तव्यमा पुग्न नपाएर सर्वसाधारण घन्टौँ पैदल यात्रा गर्न बाध्य बनेका छन् ।

राजधानीका नयाँ बानेश्वर, बिजुली बजार क्षेत्रमा प्रहरीको सवारी साधनमाथि बन्दकर्ताले ढुङ्गा प्रहार गरेपछि भएको लाठी चार्ज र अश्रुग्यास प्रहारमा केही आन्दोलनकारी र चारजना प्रहरी घाइतेसमेत भएका छन् । अन्य स्थानमा पनि बन्दकर्ताले छिटफुट रुपमा चलेका सवारी साधनमाथि आक्रमण प्रयास गर्दा सामान्य झडप भएको प्रहरीले जनाएको छ ।

राजधानीमा छिटफुट रुपमा यातायातका साधन चलेका भए पनि रत्नपार्क, नयाँ बानेश्वर, कलङ्की, बल्खु, कोटेश्वर, गौशाला, सातदोबाटो, नयाँ बसपार्क, चक्रपथ, चाबहिललगायत क्षेत्रमा ठूलो सङ्ख्यामा सर्वसाधारण गन्तव्यमा पुग्न नसक्दा अन्योलमा परेका देखिएका छन् ।

प्रतिक्रिया