बुधबार, मंसिर १० २०७७
काठमाडौं ०२:१८
वासिङटन डिसी 15:33

अनिच्छित समाचारको दिनचर्या

दीपक पन्त २०७७ मंसिर ५ गते ३:१० मा प्रकाशित

अमेरिकामा बस्ने नेपाली अमेरिकन हुनुको नाताले फुर्सदको समय पहिला नेपाल ,अनि अमेरिकाको र त्यस पछि मात्र बिश्व भूगोलको करेण्ट न्यूज तिर जो कोहीले आँखा लगाई रहेको हुन्छ ।

२१ औ शताब्दीको आजको समय डिजिटल युगमा प्रवेश गरी सक्यो । हातहातमा छरिएका स्मार्ट फोनबाट नै बिश्व निहाल्ने कुरामा धेरै नेपालीहरु अभ्यस्थ भइ सके । यद्धपि अलि बढी फुर्सदको समयमा चियाको स्वाद सँगै होस् वा हिउँदे घामको राप सँगै पेपरप्रिन्टका अखबारहरु पढ्नुको मज्जा नि बेग्लै छ । तर यो हप्ता भरि नै नेपाल होस् या अमेरिका अनिच्छित समाचारले बजार ओगटी रहदा पाठकको आँखाले फरक स्वाद फेर्न पाएनन् भन्दा अतिसयुक्ति नहोला ।

नेपालमा गत हप्ता हरेक अखबारका शीर्षक थिएँ । “प्रधान मन्त्री ओली र अध्यक्ष प्रचण्डको अन्तिम संघर्ष” । “फेरी चर्कियो अन्तरिक द्वन्द ओली कि दाहाल ? “

के जुट्ला त सहमति ? स्थायी समिति बन्ला त निर्णायक ? आदि इत्यादि ।

त्यसै गरी अमेरिकाको हरेक मिडियाको समाचार थियो । “ राष्ट्रपति निर्वाचनको मत पुन गणना गरिने । ” “राष्ट्रपतिले हार स्वीकार गरेका छैनन् ।”

“ धाँधली युक्त चुनाब आगामी लामो यात्रा हुन सक्ने अभिव्यक्ति” आदि इत्यादि ।

यी दुबै न्यूजहरू जन पक्षीय हिसाबले लोक प्रिय समाचारहरु थिएनन् । तथापि गत हप्ता भरि नै यी र यस्तै बिषयहरुमा नेपाली ,अमेरिकी छापा र डिजिटल मिडियाहरु रुमल्ली रहेको पाइएको छ।

यथार्थमा सामान्य नागरिकको आँखाले हेर्दा बर्तमान प्रधान मन्त्री के .पी. ओली कि ? बिकल्पमा अरु अरु प्रधान मन्त्री ? त्यो आम नागरिकको चासो र दैनिकी हुदैं होइन ।

नेपाली जनताले त ५ बर्ष कार्य कालको लागि नेकपा पार्टीलाई देश हाल्ने जिम्मेबारी दिएका हुन् । त्यो भित्र के .पी. हुन् वा प्रचण्ड वा माधब खासै सरोकारको बिषय होइन ।

जनता त सुशासन चाहन्छन् । बिकास चाहन्छन् । सम्वृद्धि चाहन्छन् । बिकासका आयामहरुका सुचनाहरु ,रोजगारीका अवसरहरु उत्पादनमुखी अर्थतन्त्रका नयाँ नयाँ कुराहरु ,नयाँ खोज बैज्ञानिक आविष्कारहरुका बारेमा पढ्न चाहन्छन् । जान्न चाहन्छन् ।

तर हरेक दिन के देखिन्छ त अखबारमा ? कान्तिपुर के लेख्छ ? अन्नपूर्ण के लेख्छ ? सेतोपाती के लेख्छ ? सबैको एउटै आशयको हेड लाइन छ । केवल फरक छ त शब्द जाल मात्र ! अबको नेतृत्व को होला ? ओली कि दाहाल ? के छोड्लान त् ओलीले बिरासत ? प्रचण्ड अन्तिम संघर्षमा ? बालुवाटार र खुमलटार बीच रस्सा कस्सी ?

यता अमेरिका छापाको हालत पनि उस्तै छ । आज यो स्टेटको मत पुन गणना गर्ने भनेको छ । भोलि अर्कोको । विश्वले स्वीकार गरी सकेको मत परिणामलाई प्रजातन्त्र/ लोकतन्त्रको दुहाइ दिने देशमा अझै निर्वाचित परिणाम स्वीका रोक्तिको स्पस्ट आभाष देखिदैन ।

सिद्दान्तत लेम डग (Lame Duck) को अबस्थामा रहेर पनि अझै नियुक्ति /बर्खास्तीका खबरहरु बाहिरिएका छन् । यी खबरहरु पनि आम अमेरिकी जनताका लागि त्यति उत्साहित खबरहरु होइनन।

आन्तरिक खिचातानीमा जकडिएको नेकपाले आफ्नो पार्टीसँगै सिङ्गो देश हाक्ने जिम्मा पाएको होइन र ? कहिल्यै जनतालाई राहत दिने कुरामा प्रचण्ड र ओलीको मत मिलेने भनेको सुनिएको छ र ? कहिल्यै बिकास निर्माणको बहसमा सैद्धान्तिक मत फरक पर्यो भन्ने सुनिएको छ र ?

कहिल्यै गरीब जनताका छोराछोरीको शिक्षा, स्वास्थ्य. खाने पानी जस्ता आधारभूत उपलब्धताको बिषयमा आन्तरिक शक्ति संघर्ष पर्यो रे भन्नि सुनिएको छ ?

सुशासन कायम गर्ने भ्रष्टाचारी लाई कारबाही गर्ने ,बिषयमा कहिले मत मिलेको छ ? अनि के का लागि यो लडाँइ ? शक्ति संघर्ष भन्दा ? आफू कार्यकारी बन्नु पर्यो रे । त्यसैको लागि गुटबन्दी ? घेरा बन्दी ? चौबन्दी ,सिर बन्दी ?खै के के हो ? के के ?

अर्को तिर आखिर सहमति गरेकै भए छोडी दिए भइ हाल्यो नि ! जति सुकै गुड्डी हाँके नि एकल रास्ट्रपति झैँ एक्लैले जितेको साम्राज्य त हैन नि ?

होला ,अस्ताउन लागेकै सही । ”पारिलो घामलाई पनि प्रचण्ड राफको सुर्य बनाउन तारा पुञ्ज को प्रचण्ड संसारमा घुलमिल बनाइएकै हो ।”

यो राजनीतिमा इमान भन्ने चीज हुँदैन भन्या ? हिजो तारा पुञ्जमा हनिमुन मनाउदा चाहिं सबै दंग ? आज अलिकति भाग दिन किन यति साह्रो ? मुलुकनै एक पार्टीको बन्धक जस्तो ।

सँधै समाचार हेर्यो | उही प्रचण्ड र ओलीको जुगाँको लड़ाई । बिहान न्यूज हेरे नि त्यहि | बेलुका नि त्यही । वाक्क दिक्क । कहिले सम्म जनताले यस्ता अनिच्छित समाचारको हेड लाइन हेरी रहनुपर्ने हो ?

आज बालुवाटार वार्ता भनेको छ ।भोलि खुमलटार बार्ता भनेको छ । आज बामदेब मध्यथता गर्ने भनेको छ । भोली बिष्णु देवले मध्यथता गर्ने भनेको छ । आज नारायण अघि सरे भनेको छ | भोलि बादल पछि सरे भनेको छ । आज नाथहरु जोडीए भनेको छ | भोलि साथहरु तोडीए भनेकोछ |

आम सर्ब साधारणलाइ के मतलब ? सहमति सहकार्य भए पालना गरे भइ गो । नत्र बरिष्ट राजनैतिक विश्लेषक पुरन्जन आचार्यले भने जस्तो “केपी को बिकल्प केपी नै हो” भने सधै अनिच्छित हेड लाइन किन बनाउनु ?

नहुने नै ,नपाउँने नै हो भने हो बाह्र मासे फिरी लगाउने जोगीको झैँ मासिक रुपमा बिना फुक्नु भन्दा सुरक्षित अवतरण को १०८ माला जपेर बस्नु नै बुद्धिमता होला ।

यता अमेरिका तिर पनि त्यस्तै छ । निर्वाचनका मत परिणाम पछि हौसिएका अमेरिकी जनता अब नयाँ रास्ट्रपतिको नीति / योजना सुन्नु हेर्न लालायित देखिन्छन् । प्रजातन्त्रमा स्विकारिएका निर्वाचन प्रकृयाबाट प्राप्त मत परिणाम लाइ स्वीकारे र सत्ता हस्तान्तरणका प्रारुपहरुका समाचारहरु सुन्न / पढ्न इच्छुक अमेरिकी जनता अझै अनिच्छुक समाचारहरुसँग दैनिकी साट्नु परिरहेको देखिन्छ ।

अझै पनि फायरिङ्ग ,हायारिंग र रिकाउण्ट जस्ता समाचारहरु नै दैनिकीमा रहेका छन् । नेपालको हालत पनि उस्तै छ । एउटाको समाचार बाइट पढ्यो आजै सरकार ढल्यो जस्तो टाइटल हुन्छ । “अल्पमतमा प्रधानमन्त्री आजै नयाँ सरकारको सम्भाबना” । अर्को को समाचार हेर्यो “प्रचण्ड को बिकल्प के ?”

“अब अन्तिम निर्णय स्थायी समितिले गर्ने ?” आदि /इत्यादि । यस्तै यस्तैमा हप्ता ,महिना र बर्ष बिति सक्यो ।

बिश्व कोभिड १९ भाइरसको महामारीले आक्रान्त भएको बेलामा सम्भावित खोप पत्ता लगाएका समाचारहरू बाहिर आएका छन । यद्दपि सामान्य नागरिकले उपभोग गर्ने तह सम्म पुग्न अझै कतिसमय कुर्नु पर्ने हो ? त्यो आगामी समयले बताउला ।

यस्तै प्रकृतिका सम-सामुहिक लाभान्मुख समाचारहरु ओझेल परि रहेको बेलामा यो र यस्तै प्रकृतिका बेमौसमी बाजाको नाचँमा मात्र कतिरम्ने हो ? आत्म आलोचना गर्ने बेला आएको जस्तो देखिन्छ ।

दीपक पन्त,मिल्वाकी ,अमेरिका

प्रतिक्रिया