आइतबार, कार्तिक ७ २०७८
काठमाडौं ०१:२७
वासिङटन डिसी 15:42

गाविस सचिव सदरमुकाममा बसेपछि सेवाग्राही मर्कामा

इनेप्लिज २०७३ असार २७ गते ६:१९ मा प्रकाशित

Gorkha-Map-300x230गोरखा, २७ असार । गोरखाका ६० गाविसका सचिवलाई गाउँमै बस्न निर्देशन दिइएको छ । गाविस सचिव गाउँमा नबस्दा सिफारिस लिनेलगायत विभिन्न कामका लागि सेवाग्राहीले अनावश्यक दुःख झेल्नुपरेको भन्दै स्थानीय विकास अधिकारी नारायणप्रसाद आचार्यले सबै गाविस सचिवलाई गाउँमै बस्न निर्देशन दिनुभएको हो ।

जिविसले आव २०७२-७३ मा जिल्लाभर गरेका विकास, निर्माणलगायत कामबारे जानकारी दिन आइतबार सदरमुकाममा आयोजना गरेको सार्वजनिक सुनुवाइमा सेवाग्राहीले गाविस सचिव गाउँ नबस्दा दुःख पाएको बताएपछि स्थानीय विकास अधिकारी आचार्यले सदरमुकाम बस्दै आएका सचिवलाई तत्काल गाविस जान निर्देशन दिनुभएको हो । यसअघि गाविस सचिवलाई गाउँ जान पटकपटक निर्देशन दिँदै आए पनि सचिवहरु सदरमुकाममै बस्दै आएका छन् ।

प्रोक गाविसका पेमाडुण्डुप लामाले गाविस सचिव गाउँमा नबस्दा नागरिकताको सिफारिस लिन सात दिन हिँडेर सदरमुकाम आउनुपर्दा दुर्गमका जनताले दुःख पाएको बताउनुभयो ।

यस्तै ल्हो गाविसका छेवाङग्याल्जेन लामाले गाविस सचिवलाई गाविसको कार्यालयमा राख्ने वातावरण बनाउन सरकार र जिविसले आवश्यक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

दुर्गमका सात गाविसमा गाविस सचिवहरु वर्षको दुईपटक मात्रै गाउँ जाने गरेका छन् । सामाजिक सुरक्षा भत्ता वितरण र गाउँ परिषद्का लागि मात्रै सचिव गाउँ पुग्छन् ।

गाविस सचिवले सदरमुकामको हरमटारी, खेलकुद मैदान परिसर, शक्तिचोक, बिनौनीमोड क्षेत्रमा कोठा भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएका छन् ।

सदरमुकामबाट नजिक रहेका गाविसका सचिवहरु पनि गाउँ नबस्ने सेवाग्राहीको गुनासो छ । गाविस सचिव हकहित केन्द्रले एकभन्दा बढी गाविसको जिम्मेवारी एउटै सचिवलाई भएकाले गाउँमा बस्न नसकिएको बताउँदै आएको छ ।

प्रतिक्रिया