टेक्सस बाढीबाट मृत्यु हुनेको संख्या ८२ पुग्यो , टेक्ससमा बाढीले जनजीवन अस्तव्यस्त

इनेप्लिज २०८२ असार २३ गते १०:०९ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यमा यस पालिको जुलाई ४ को बिदामा आएको भीषण बाढीले कम्तिमा ८२ जनाको ज्यान लिएको छ।यस बाढीमा धेरै मानिसहरु अझै बेपत्ता छन् भने ग्रीष्मकालीन शिविरमा रहेका थुप्रै बालिकाहरू पनि परेका छन्।

सान एन्टोनियो बाहिरको ग्वाडालुपे नदी वरपरको क्षेत्रमा यो बाढीले ठूलो क्षति पुर्‍याएको छ। हराइरहेका मानिसहरूको खोजीका लागि बृहत तथा थुप्रै टोली खटिएको छ।

टेक्ससको पहाडी क्षेत्रमा गत शुक्रबार बिहान सबेरै परेको १२ इन्च (३० सेन्टिमिटर) भन्दा बढी पानीले यो भयानक बाढी ल्याएको हो।

एपीका अनुसार बिहीबार दिउँसो नै बाढी आउन सक्ने चेतावनी दिइएको थियो। तर, शुक्रबार बिहान ४ बजेतिर राष्ट्रिय मौसम सेवाले मानिसको ज्यानमा ठूलो खतरा रहेको र भयानक क्षति हुन सक्ने भन्दै अत्यावश्यक चेतावनी जारी गर्‍यो। करिब ५:२० बजेसम्ममा, केही मानिसहरूले केर्भिल शहरमा पानीको सतह चिन्ताजनक रूपमा बढेको बताए। पहाडबाट बग्दै आएको भारी वर्षाको पानीले ग्वाडालुपे नदीको सतह ४५ मिनेटमै २६ फिट (८ मिटर) बढेको थियो।

आइतबार टेक्ससका गभर्नर ग्रेग आबोटले राज्यभरि ४१ जना मानिस बेपत्ता रहेको बताएका छन्। केर काउन्टीमा ६८ जनाको शव फेला परेको छ, जसमा २८ जना बालबालिका छन्।

नजिकैका काउन्टीहरूमा पनि मृत्यु हुनेको संख्या थपिँदा आइतबार साँझसम्म कुल ८२ जनाको ज्यान गएको छ। क्याम्प मिस्टिक नामक क्रिश्चियन ग्रीष्मकालीन शिविरका १० जना बालिकाहरू र एक जना सल्लाहकार अझै बेपत्ता छन्।

शिविरका निर्देशक डिक ईस्टल्यान्डको पनि बाढीमा परेर मृत्यु भएको पुष्टि भएको छ। राष्ट्रपति ट्रम्पले केर काउन्टीलाई विपद् क्षेत्र घोषणा गरेका छन्।

प्रतिक्रिया