टेक्ससमा बाढीको कारण मृत्यु हुनेको संख्या ८१ पुग्यो, ४० भन्दा बढी अझै बेपत्ता

इनेप्लिज २०८२ असार २३ गते ०:५५ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको पहाडी क्षेत्रमा आएको विनाशकारी आकस्मिक बाढीले मृत्यु हुनेको संख्या ८१ पुगेको छ भने कम्तीमा ४१ जना अझै बेपत्ता छन्।

शुक्रबार बिहानै ग्वाडालुपे नदी दुईतले घरको उचाइसम्म पुगेपछि उद्धारकर्मीहरूले पानीबाट सयौंको ज्यान जोगाए। केर काउन्टीस्थित बालबालिकाको शिविर ‘क्याम्प मिस्टिक’बाट मात्रै करिब एक दर्जन अझै फेला परेका छैनन्।

शेरिफ लेरी लिथाका अनुसार केर काउन्टीमा ६८ जनाको ज्यान गएको छ । जसमा ४० जना वयस्क र २८ जना बालबालिका छन्। तीमध्ये १८ वयस्क र १० बालबालिका अझै पहिचान हुन बाँकी छ। ‘क्याम्प मिस्टिक’बाट १० बालिका र एक प्रशिक्षक हराइरहेका छन्। बाढी आउँदा शिविरमा करिब ७५० बालबालिका थिए।

त्यस्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले गभर्नर ग्रेग आबोटको अनुरोधमा आइतबार बिहान केर काउन्टीका लागि आपतकालीन विपद् घोषणा गरे। आबोटले शनिबार शिविरको अवलोकन गर्दै सामाजिक सञ्जालमा लेखे: “आज म क्याम्प मिस्टिक पुगे। त्यहाँको विनाश देखेर म स्तब्ध भएँ। बाढीले छानो छोएको थियो – हामी ती सबै बालिकाहरूलाई फेला नपारेसम्म रोकिने छैनौं।”

उद्धार टोलीहारु अहोरात्र खटिई रहेका छन् भने बचाउ कार्य जारी छ । अधिकारीहरूले बाँकी हराइरहेका सबैलाई खोज्ने दृढता व्यक्त गरेका छन्।

प्रतिक्रिया