शनिबार, साउन १६ २०७८
काठमाडौं ०२:०५
वासिङटन डिसी 16:20

ग्यासको कालोबजारीः सिल तोडदै, छैन भन्दै

इनेप्लिज २०७२ कार्तिक २९ गते २:२५ मा प्रकाशित

358ce9ec3d76a661d80574b473e55a70_Lलक्ष्मी काफ्ले

झापा, २९ कात्तिक । बिर्तामोडकी ममता ताजपुरियाको कोठामा ग्यासका तीनवटा रित्ता सिलिण्डर छन् । तर, तीनवटैमा ग्यास सकिएपछि ग्यासको खोजीमा उनी दिनभर बिर्तामोड घुमिन् । केही गर्दा ग्यास नभेटेपछि उनले तीन दिन घरको छतमा ईटा जोटेर दाउरा बालिन् । र, खाना पकाईन् ।

भोलिपल्ट शनिश्चरे रोडमा ग्यास पाउने कुरा सुनिन् उनले । हतारिँदै त्यहाँ पुगेकी उनलाई सुरुमा बिक्रेताले ग्यास छैन भनिदिए । निराश भएर फर्किनै लाग्दा ती बिक्रेताले पैसा बढी तिर्ने भए मिलाउन सकिने बताए । आपत् परेका बेला उनले आँखा चिम्लिएर तीन सय रुपैयाँ बढी फ्याँकिदिईन् ।

‘अस्ति आउनुपथ्र्यो नि, तीन सय बढी दिनेहरुलाई त मिलाउन सकिहालिन्छ नि ।’ बिहीबार ती बिक्रेताले यसो भनेपछि उनी अकमक्क परिन् । एकातिर प्रशासन झापामा ग्यासको अभाव नभएको बताउँछ । अर्कातिर उपभोक्ता बढी पैसा तिरेर ग्यास किन्न बाध्य छन् ।

भद्रपुर रोडमा ठेलामा चाउमिन पसल गर्ने एक व्यापारीलाई महिनाको पाँचवटा ग्यास चाहिन्छ । नजिकै रहेको ग्यास डिलरबाट उनी सजिलै ग्यास ल्याउँछन् । उनकोमा चाउमिन खान आउनेहरुले ‘ग्यास कहाँबाट ल्याउने गरेको छ ?’ भनेर प्रश्न गर्छन् । उनी सजिलै जवाफ दिन्छन्, ‘मलाई त समस्यै छैन, महिनामा ६ वटासम्म ल्याउँदैछु ।’

ग्यास बिक्रेताहरुले कालोबजारीको नयाँनयाँ उपाय अपनाईरहेका छन् । तर, प्रशासन यसबारे बेखबर छ । शङ्का लाग्दा बेलाबेला छापा मार्ने प्रशासनले सिल नतोडिएको ग्यास भेटेमा कारवाही गर्छ । तर, प्रशासनभन्दा तीन गुणा बाठा ग्यास बिक्रेताले सिल तोडेर ‘खाली सिलण्डर’ जस्तै पारेर गोदाममा राखेका छन् । सिल तोडेर राखेको सिलिण्डर देख्नासाथ अनुगमन टोली खाली सिलिण्डर भन्दै फर्किन्छ । तर, त्यसको १० मिनेट नबित्दै ती सिलिण्डर बिक्न थाल्छन् ।

केहीदिन अघि झापाको काँकडभिट्टास्थित त्रिशक्ति ग्यासको कालो बजारी गरेको आशङ्कामा स्थानीयवासी पुण्य उप्रेतीलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले पक्राउ गर्यो । स्थानीयवासीलाई छ हजार रुपैयाँमा सिलिन्डर बिक्री गरिरहेको अवस्थामा उनी पक्राउ परेको प्रहरीले जनाएको छ । अभियुक्तसँग प्रहरीले ९७ थान ग्यास सिलिन्डर बरामद गरी सोधपुछ सुरु गरेको प्रहरी नायब उपरीक्षक श्याम अधिकारीले जानकारी दिए । कालोबजारी गर्नेहरु पक्राउ पर्दासमेत व्यापारीहरु कालोबजारी गर्नमै लिप्त छन् ।

स्रोतका अनुसार बिर्तामोडको भद्रपुर रोड र शनिश्चरे रोडका दुईजना व्यापारी ग्यासको कालोबजारी गरिरहेका छन् ।

प्रतिक्रिया