आइतबार, मंसिर १४ २०७७
काठमाडौं १८:४६
वासिङटन डिसी 08:01

आज झापा र मोरङ भिड्दै, शीर्ष स्थान ओगट्ने झापाको दाउ

इनेप्लिज २०७२ वैशाख १२ गते १:३६ मा प्रकाशित

लक्ष्मी काफ्ले
DSC01329बिर्तामोड, १२ वैशाख । जारी रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तरगत झापा–११ ले शनिबार (आज) मोरङ फुटबल क्लवको सामना गर्दैछ । होम अन्तरगत चौथो खेल खेल्न लागेको झापाले मोरङसँगको खेलमा ३ अङ्क हासिल गरी पुनः शीर्ष स्थानमा उक्लन चाहन्छ ।
अघिल्लो खेलमा एपीएफसँग १–० गोलअन्तरले पराजित भई घरेलु दर्शकलाई निराश पारेको झापाले उक्त पीडा बिर्सन शनिबार हुने मोरङसँगको खेलमा जित्नै पर्ने दवाव छ । स्थानीय डोमालाल राजवंशी रंगशालामा हजारौं समर्थकका बिच मैदान उत्रने झापा–११ तुलनात्मक रुपमा मोरङ एफसीभन्दा बलियो टोली हो ।
लिगमा मोरङले बलियो टोली आर्मीसँग बराबरी खेलेको छ । यता झापा भने पहिलो खेलमै आर्मीसँग पराजित भएको थियो । त्यसैले मोरङसँगको खेल झापाका लागि सहज भने छैन । एपीएफसँगको हारसँगै झापा अङ्कतालिकाको दोस्रो स्थानमा छ । झापाका तर्फबाट कप्तान प्रवेश कटुवालसँगै योगेश गुरुङ, दिनेश कार्की लगायतका खेलाडी दर्शकको रोजाईमा पर्छन् । एपीएफविरुद्ध नखेलेका झापाका स्ट्राईकरद्वय कर्ण लिम्बू र बिशाल राई ‘ए’ मोरङविरुद्ध मैदान उत्रिनेछन् । उता मोरङबाट भने भरपर्दा खेलाडीहरु शुनिल सरदार र निशान राई ‘डबल येल्लो’का कारण मैदान उत्रिने छैनन् ।
झापाका लागि सुमिन मैनालीलाई आराम दिइएको छ । दिलेन लोक्ताम र गणेश खड्का ‘डबल येल्लो’का कारण मैदान उत्रिने छैनन् । झापा र मोरङबिच हुन लागेको यो पहिलो भिडन्त हो । यसअघि यि दुई टोली आमने–सामने भएका छैनन् । शुक्रबार साँझ पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै झापा ११ का प्रशिक्षक भगिरथ आले मामाले कर्ण र बिशालले खेल्ने भएकाले मोरङसँग खासै गाह्रो नहुने प्रतिक्रिया दिएका छन् । उनले झापाको डिफेन्स लाईन फरक हुने जानकारी दिए । प्रशिक्षक मामाले मोरङ ‘जुनियर’ भएपनि मेहनती टोली भएकाले कमजोर आँक्नु नहुने बताए । एपीएफसँगको खेलमा कर्ण र बिशालको अभाव महसूस गरेका मामाले भने– ‘मोरङले पनि राम्रो–राम्रो क्लवहरुलाई ड्र गरेको छ, मोरङ बलियो टोली हो ।’
उता मोरङका प्रशिक्षक पारश चौधरीले भने टेलिफोनमार्फत पत्रकारहरुसँग कुराकानी गर्दै ३ अङ्क लिनकै लागि आफूहरु झापा आउन लागेको बताएका छन् । ‘खेल हो, अहिले केही भन्न सकिँदैन,’ चौधरीले भने– ‘झापाका स्ट्राईकर कर्णका लागि भने हाम्रो बेग्लै रणनीति हुनेछ । ’
झापा १३ अंकका साथ प्रतियोगिताको दोस्रो स्थानमा छ । अघिल्लो खेलमा झापालाई पराजित गरेको एपीएफ १४ अङ्कसहित पहिलो स्थानमा छ । खेल दिउँसा ३ बजेपछि सुरु हुने झापा जिल्ला फुटबल संघका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।

प्रतिक्रिया