बिहीबार, मंसिर ११ २०७७
काठमाडौं १२:१९
वासिङटन डिसी 01:34

संविधानसभाको प्रक्रिया रोकिन्न – प्रवक्ता बडू

इनेप्लिज २०७१ चैत २३ गते ११:१७ मा प्रकाशित

Dilendra-baduबागलुङ, २३ चैत । नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले संविधान निर्माणका लागि सुरु भएको प्रक्रिया नरोकिने बताउनुभएको छ । प्रेस युनियन बागलुङले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै प्रवक्ता बडूले प्रक्रियासँगै वार्ता र संवाद पनि जारी राखिने उल्लेख गर्नुभयो ।

उहाँले परिणामविहीन वार्ताका लागि धेरै समय पर्खिन नसकिने भन्दै सहमति नजुटे दुई तिहाइ बहुमतबाट संविधान जारी हुने जिकिर गर्नुभयो । आपसी सहमति, सम्झौता र एकताबाटै संविधान ल्याउनुपर्छ” उहाँले भन्नुभयो, “तर, सहमति हुनै नसक्ने अवस्थामा अधिकतम बहुमत जुटाएर संविधान जारी गर्नुको विकल्प छैन ।”

प्रवक्ता बडूले सहमतिमा संविधान ल्याउन पनि प्रक्रिया आवश्यक रहेको बताउनुभयो । संविधानसभाभित्र धेरै कुरामा सहमति बनिसकेको उल्लेख गर्दै उहाँले सङ्घीयताको विषयमा मात्र केही विवादहरु बाँकी रहेको उल्लेख गर्नुभयो ।

सत्तापक्षीय दल लचक भएर सहमतिका लागि प्रस्तुत भए पनि विपक्षी दलले आफ्नो ढिपी नछोडेको प्रवक्ता बडूको तर्क छ । “निर्वाचन प्रणाली, न्याय प्रणाली र शासकीय स्वरुपमा साझा सहमति जुटेको छ, खाली सङ्घीयतामा जाँदा प्रदेशको नाम, सीमा र सङ्ख्याको मात्र विवाद बाँकी छ”, प्रवक्त बडूले भन्नुभयो ।

एमाओवादीले जातीय पहिचानसहितको नामकरण र मधेसी दलको तराई अलग्गै राख्ने अडानका कारण सहमति बन्न नसकेको उहाँको भनाइ छ । पूर्वका तीन र पश्चिमका दुई जिल्लाबारे देखिएको विवादलाई जनमत सङ्ग्रहमार्फत हल गर्न सकिने प्रवक्त बडूले बताउनुभयो । प्रदेशहरुको नामाकरणको जिम्मा पनि प्रादेशिक सभालाई छोडेर सङ्घीयतामा सहमति जुटाउन सकिने उहाँको भनाइ छ ।

जातीय आधारमा प्रदेशका नामकरण नगरी संंस्कृति, भूगोेल, खोलानाला र प्राकृतिक पहिचानका आधारमा गरिनुपर्ने प्रवक्ता बडूले बताउनुभयो । राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकता बलियो हुने गरी सङ्घीयतामा जानुपर्ने उहाँको भनाइ छ ।

संविधानसभा ल्याउने बाटो आन्दोलन नभएर संविधानसभा नै भएको भन्दै प्रवक्ता बडूले सडक छोडेर सभामा आउन आन्दोलनरत दललाई आग्रह गर्नुभयो ।

संविधानसभामा सहमति भएका विषयलाई मस्यौदा बनाउने र बाँकी विषयमा सहमतिका लागि वार्ता र छलफललाई जारी राख्नुपर्ने उहाँको धारणा छ । अहिले दलहरुबीच देखिएको धु्रवीकरण मुलुकका लागि हितकर नभएको भन्दै प्रवक्ता बडूले कुनै पनि आन्दोलन मुलुकले थेग्न नसक्ने बताउनुभयो ।

प्रतिक्रिया