नेपालमा आज महाष्टमी मनाईदै ,अमेरिकामा भोली

इनेप्लिज २०७९ असोज १७ गते ०:२५ मा प्रकाशित

हिन्दुहरुको महान चाड बडादशैंको आठौँ दिन, आश्विन शुक्ल अष्टमीका अवसरमा आज शक्तीपिठका साथै घरघरमा महाअष्टमी पर्व मनाईदैछ । तर अमेरिकामा फूलपाती नै भएकोले भोली महाअष्टमी मनाइन्छ । अमेरिकामा विभिन्न राज्यहरुमा निर्मण भएका नेपाली मन्दिर तथा भारतीयहरुले निर्माण गरेका मन्दिरहरुमा दर्शन गर्न जाने गर्छन ।

नवरात्रिको आठौँ दिनलाई महाअष्टमी भनिन्छ। यस दिनमा महाकाली -भद्रकालीको विशेष पूजा-आजा गरिन्छ। देवीभागवत् अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली (करोडौँ योनी-शक्ति)का साथ अष्टमीका दिन उत्पन्न भएको पूजा गर्ने चलन छ।

पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ। यी दिनहरूमा मानिसहरू आ-आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन्। शाकाहारीहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन्।

काठमाडौंको तलेजु भवानीको मन्दिर पनि यस दिन सर्वसाधारणको लागि खुल्ला रहन्छ। यसै दिन दसैँघर (हनुमानढोका)को मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यत्ति नै बोका बलि अर्पण गरिन्छ।

आजका दिन काठमाडौँ उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरमा पनि बलिसहित पूजाआजा गर्नेहरुको बिहानैदेखि भीड लाग्ने गर्दछ ।

यसैगरी उपत्यका बाहिरका धरानको दन्तकाली ,धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकका चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, नुवाकोटका जाल्पामाई र भैरवी, गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, दोलखाको कालीञ्चोक भगवतीलगायत शक्तिपीठमा पनि बलिसहित पूजाराधना गर्ने श्रद्धालु भक्तजनको घुइँचो लाग्छ ।

आजको दिन कलपुर्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएका स्थानमा राखी पशुबलिसहित पूजाआजा गरिन्छ । यी साधनलाई देवीको शस्त्रास्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो ।

प्रतिक्रिया