हेल्थ फाउन्डेसन नेपालको १३ औं वार्षिक साधारण सभा आगामी सेप्टेम्बर १३ देखि १५ न्युयोर्कमा हुने भएको छ ।
नेपालको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन र विपन्न वर्गका मानिसहरूको स्वास्थ्य अवस्था उकास्न निरन्तर सक्रिय रहेको ‘हेल्थ फाउन्डेसन नेपाल’ (एचएफएन )ले न्युयोर्कमा ३ दिवसीय कार्यक्रमको आयोजना गर्ने भएको आयोजक मध्येकै एक चिकित्सक आदित्य जोशीले ईनेप्लिजलाई बताए ।
चिकित्सक जोशीले तीन दिन सम्म विविध कार्यक्रमको आयोजना हुने बताउदै अमेरिका ,नेपाल लगायतबाट यसका समिति सदस्य,आजीवन सदस्य तथा साधारण सदस्य लगायतको उपस्थिति हुने जनाए । २ महिना बाँकी रहेकोले निरन्तर थप जानकारी दिदै जाने उनले बताए ।
अमेरिकामा ५०१(c)(३) अन्तर्गत दर्ता भएको यो संस्था गैर-नाफामूलक संस्था हो भने नेपालमा पनि दर्ता रहको छ । काठमाडौंमा रहेको आफ्नै कार्यालय मार्फत नेपालभर विभिन्न स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
हेल्थ फाउन्डेसन नेपालको गौरवशाली इतिहास :
सन् २०१२ को प्रारम्भमा अमेरिकामा बसोबास गर्ने केही दूरदर्शी युवा नेपाली स्वास्थ्यकर्मीहरू र नेपालको स्वास्थ्य विकासमा गहिरो चासो राख्ने अमेरिकी स्वास्थ्य पेशेवरहरूको समूहबीच भएको गहिरो छलफलपश्चात् सन् २०१३ मा हेल्थ फाउन्डेसन नेपाल को स्थापना भएको थियो।
उनीहरूले क्लिनिकल (चिकित्सीय )हेरचाह र समुदायमा आधारित जनस्वास्थ्य कार्यक्रमहरूको माध्यमबाट नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रभाव पार्ने लक्ष्य लिएका थिए।
हेल्थ फाउन्डेसन नेपाल एक निष्पक्ष, गैर-राजनीतिक र गैर-नाफामूलक संस्थाका रूपमा स्थानीय समुदायमा आधारित संस्थाहरूसँगको सहकार्यमा एकीकृत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। यसको मुख्य लक्ष्य नेपालका ग्रामीण तथा शहरी क्षेत्रका सुविधाविहीन मानिसहरूको स्वास्थ्य र कल्याणलाई प्रवर्द्धन गर्ने सार्वजनिक स्वास्थ्य नीति तथा कार्यक्रमहरूको वकालत गर्नु रहेको छ ।
संस्थाको मुख्य उद्धेश्य समुदायमा आधारित संस्थाहरूलाई आर्थिक र प्राविधिक सहयोग प्रदान गर्नु, जनस्वास्थ्यसम्बन्धी अनुसन्धान सञ्चालन गर्नु, र व्यापक प्राथमिक स्वास्थ्य सेवाको माध्यमबाट प्रत्यक्ष क्लिनिकल(चिकित्सीय) हेरचाह उपलब्ध गराउनु हो। संस्थाले विभिन्न महत्वपूर्ण क्षेत्रहरूमा आफ्नो विशेषज्ञता र कार्यप्रणाली मार्फत प्रशंसनीय योगदान पुर्याउँदै आएको छ ।
मानसिक स्वास्थ्य सेवामा विशेष जोड दिँदै एचएफएनले हरेक वर्ष ७०% भन्दा बढी सुत्केरी महिलाहरूलाई मानसिक स्वास्थ्य परीक्षण सेवा प्रदान गर्न सफल भएको छ। यसका साथै, १,६५९ भन्दा बढी व्यक्तिहरूलाई मानसिक स्वास्थ्य र मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरूबारे सचेत गराइएको छ।
यो संस्थाले कोभिड-१९ महामारीको दोस्रो लहरका बेला ४,९६६ भन्दा बढी फोन कल अर्थात् दूरवार्ता )मार्फत मानवीय सहयोग प्रदान गरेको छ । यस संस्थाका अध्यक्ष डा. श्रीधर पौडेल हुन् । त्यसैगरी, संस्थाका महासचिव डा. रबिन दाहाल हुन्।
हेल्थ फाउन्डेसन नेपालले स्वास्थ्य सेवामा महत्वपूर्ण र मापनयोग्य योगदान पुर्याएको छ। विशेषगरी, १७ जना गम्भीर मानसिक बिरामीहरूलाई आफ्नो मनोचिकित्सा हेरचाह र पुनर्स्थापना केन्द्रमार्फत सामान्य जीवनमा फर्काउन सफल भएको छ भने हाल ८ जना गम्भीर मानसिक बिरामीहरू उपचाररत छन्।
यसका अतिरिक्त, २३ भन्दा बढी सार्वजनिक विद्यालय र २ वटा आश्रयस्थलहरू एचएफएनको डिजिटल अर्थात् अङ्किय साक्षरता कार्यक्रमबाट प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
यो १३ औं वार्षिक साधारण सभाले नेपालको स्वास्थ्य सेवाको विकासका लागि नयाँ रणनीतिहरू निर्माण गर्ने, भविष्यका कार्यदिशा तय गर्ने र अमेरिकामा रहेका नेपाली स्वास्थ्यकर्मीहरूको सामूहिक शक्तिलाई नेपालको हितमा थप परिचालन गर्ने एक महत्वपूर्ण मञ्चको रूपमा काम गर्ने अपेक्षा गरिएको छ।
बिस्तृत जानकारी लिन यहाँ थिचु होला :https://healthfoundationnepal.org/
प्रतिक्रिया