आइतबार, माघ ९ २०७८
काठमाडौं १६:०५
वासिङटन डिसी 05:20

माघे संक्रान्ति अर्थात् मकर संक्रान्ति महत्व तथा विशेषता -ज्योतिष / पण्डित राजेन्द्र खनाल वासिंग्टन डिसी,अमेरिका

इनेप्लिज २०७८ पुष ३० गते १०:५० मा प्रकाशित

माघ १,२०७८ -माघ महिनाको १ गते संक्रान्ति भएकोले माघे संक्रान्ति भनिन्छ, -माघे संक्रान्तिको दिन सूर्य धनुबाट मकरमा जाने हुँदा यसलाई मकर संक्रान्ति पनि भनिन्छ।

यस दिनदेखि सूर्य उत्तरतिर प्रवेश गर्ने भएकोले उत्तरायण सुरु भएको दिन पनि मानिन्छ।

यो चाड महाभारतकालमा, रामायणकालमा र अझ प्राचीन वैदिककालमा समेत मनाइन्थ्यो।माघी पर्व विभिन्न जाति तथा समुदायले विभिन्न तरिकाले मनाउने चलन छ।नेपालमा विभिन्न तीर्थ स्थल,नदी पोखरी वा तलाउमा गई विशेष स्नान गरी पूजा अर्चना,तिर्थ श्राद्ध,दानदक्षिणा आदि गरिन्छ।आजको दिनमा विभिन्न प्रकारका मिठाई तिलका लड्डु, मासको खिचडी,मासको फुरौला(बारा),सेल रोटी,तरुल र कन्दमुलहरू आदि खाने चलन छ।नेपालमा थारु तथा मगर समुदायमा यसलाई विशेष चाडका रुपमा मानिन्छ।

आज राष्ट्रिय योग दिवस पनि सँगै परेकोले आजको दिनलाई योग दिवस भनिन्छ । सामान्य रुपमा योग भन्नाले शारीरिक व्यायामको अभ्यास भन्ने बुझिन्छ । योग शारीरिक र मानसिक दुबै प्रकारको हुन्छ ।अर्को अर्थमा योग अर्थात् २ वा सो भन्दा बढी विषयलाई जोडेर स्वयंको साथै जगत् हितको लागि कर्म गर्नु हो | योग विभिन्न प्रकारका छन् – जस्तैः ज्ञानयोग, भक्तियोग, कर्मयोग आदि | शारीरिक रुपमा पनि अनेक प्रकारका योग र आसनहरू बताईएका छन् |

माघ १ गतेदेखि दिन पनि लामो हुँदै जाने र रात छोटिंदै जाने गर्छ।आज माघ १ गते पवित्र गंगा, चितवनको देवघाट,रुरुक्षेत्र रिडी,कालिगण्डकी आसपासका विभिन्न तिर्थस्थल,सुनसरीको बराहा क्षेत्र,नुवाकोटको देविघाट,ललितपुरको शंखमुल आदि क्षेत्रमा स्नान गरी पूजाआाजा गरी दान धर्म गर्ने गरिन्छ।

काठमाडौमा यो पर्व घिउ,चाकु,तरुल,तीलका लड्डु,चामल भुटेर बनाएको पिठोको झोलिलो परिकार,पालुंगो साग खाएर मनाउने गर्छन्।यी खानेकुरा खाँदा चिसोमा न्यानो हुने शरीर स्वस्थ रहने धारणा रहेको छ, जसको कारण रोगव्याधीवाट मुक्त हुने, दान धर्म गर्यो भने सद्गती प्राप्त हुने अर्थात् स्वर्गलोक प्राप्त हुन्छ भन्ने कुरा ईतिहास पुराण आदिमा पाईन्छ।जनविश्वास पनि यस्तै रहँदै आएको छ।माघे संक्रान्ति ठाउँ, जाति, सम्प्रदायअनुसार फरक फरक तरिकाले मनाउने आ आफ्नै परम्परा र विशेषता रहेको छ।

ललितपुरको एक नेवार समुदायले आ –आफ्नो खेतवारीमा लगाएको पालुंगोको साग माघ १ गते देवीदेवताकोमा फूलको रुपमा चढाउने गर्छन् ।

मंसिर र पौषको चिसो महिनामा काम गर्दा चिसो लागेको हुन्छ जसका कारण चिसोका कारण बिरामी हुनु नपरोस् भनेर माघ १ गतेको दिन घर सरसफाई गरेर, नदीमा गई नुहाएर मठमन्दिर जाने घरमा घिउ चाकु,तीलको लड्डु,तरुल भुटेको चामलको पीठोको झोल (क्वाँटी ) अर्थात तातो सूप र मासको दाल राखेर पकाएको खिचडी खाने,मामाघरमा जाने मामाले भान्जा भान्जीको तालुमा तेल लगाउने,घिउ,चाकु खुवाउने,घाममा तेल लगाई दिने र लगाउँदा चिसो हराउँछ भन्ने विश्वास छ।यदि मामा नभए वा मामा टाढा भएर भेट नहुने भयो भने आमाले नै छोराछोरीको तालुमा तेल लगाइदिने घिउ,चाकु,तरुल र मासको दाल राखेर पकाएको खिचडी खुवाउने खाने चलन छ।त्यसैले नेवारी भाषामा घ्यो चाकु सल्हुँ घिउ चाकु संक्रान्ति पनि भन्ने चलन छ।

काठमाडौ ललितपुरका नेवार समुदायमा पालुंगोको साग माघ १ गतेको लागि नभई नहुने कुरा हो।त्यसैले यस्को विउ उमार्ने तरिका,खेतको तयारी,विउ छर्ने तरिका आदि सिक्नको लागि अन्य ठाउँका तरकारी उत्पादक किशानले त्यस ठाउँको किसान संगसंगै काम गरेर सिकेर अर्को सालको लागि विउ पनि तयार गर्दछन्।

यस दिन नेपालमा सार्वजनिक विदा पनि दिइन्छ।

ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भनिएको हो। सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्य प्रवेश गरेको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले अति नै महत्वपूर्ण मानिन्छ।यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्दतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जान्छ।

मकर संक्रान्ति पर्व नेपाल तथा ईन्डियामा विभिन्न पवित्र नदी,सागर तथा त्रिवेणीमा,गयाना स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ,चाकु,तिलको लड्डु र तरुल खाई मनाइन्छ।यस पर्वमा देवघाट,बराहक्षेत्र,रिडी,पनौती,दोलालघाट,कन्काई तथा भारतको प्रयाग र गङ्गासागरलगायतका नदी र घाटमा स्नान,दान,श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ।भविष्यपुराण, विष्णुपुराण तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ,चाकु,तिलको लड्डु,सागपात,तरुल,वस्त्र,पानीको भाँडो र मकलसहितको सिधा आदि दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने उल्लेख छ। मीठो खाने, राम्रो लगाउने र कथा सुन्ने-भन्ने चलन पनि छ।यस पर्वमा आजकै दिनदेखि गुरु,पुरोहित, ब्राह्मणहरुलाई डाकेर माघ माहात्म्य सुन्ने र सुनाउने चलन पनि छ ।महिना दिनसम्म सुनिसकेपछि गृहस्थीहरू गुरु,पुरोहितलाई टीका लगाई घिउ,चाकु,तरुल,लड्डुसहितको सिधा आदि दान दिने र घरमा आफन्त तथा गुरुजनहरुलाई बोलाई पकाएको मिष्ठान्न परिकार भोजन गर्ने गराउने गर्छन्।

 

शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ,चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको खिचडी र मेथी फुराएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ।त्यस्तै श्लोकमा पनि भनिएको छ: माघे निमग्ना: सलिले सुशीते विमुक्तपापास्त्रिदिवं प्रयान्ति।।’ माघ महिनामा गरेको स्नान मात्रैले पनि तीनै किसिमका पापहरु (कायिक,वाचिक,मानसिक ) बाट मुक्त भई मोक्षलोक प्राप्त हुनसक्छ।

“माघे मासि महादेव यो दद्यात् घृतकम्बलम्।स भुङ्क्त्वा सकलान् भोगान् अन्ते मोक्षं च विन्दति ॥” अर्थात् मकर संक्रान्तिका दिन घिउ र कम्बल दान गर्नाले मोक्ष प्राप्त हुन्छ । मौसमअनुसार यो समय जाडो हुनाले यसलाई सामाजिक सद्भावको आधारमा पनि पुष्टि गर्न सकिन्छ।महाभारतका अनुसार भीष्मले यहीँ दिन मृत्युबरण (रोजेका) गरेका थिए भने भगीरथले सोही दिन गंगालाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए ।त्यसैले माघे संक्रान्तिका दिन प्रयाग र गङ्गासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ।

थारु समुदायको माघी पर्व

थारु समुदायमा तिलले स्नान गर्नु, तिलको तेल घस्नु,पितृलाई तिलयुक्त जल दिनु,तिल हवन गर्नु,तिल दान गर्नु र तिल खानु गरी ६ प्रकारको तिलको प्रयोग गर्नाले जीवनमा सफल होइने जनविश्वास छ।

भौगोलिक हिसाबले अहिलेको सन्दर्भमा हामी जुनसुकै देश र स्थानमा रहे पनि हामीले मनाउँदै आईरहेका चाडपर्व, ब्रत तथा उत्सवहरुका बारेमा आफ्ना बालबच्चाहरुलाई पनि सिकाउँदै मनाउने र महत्वको बारेमा बताउँदै गरेमा आफ्नो सँस्कृति परम्परा पनि जोगिने र साँस्कारिक बन्न ,बनाउन सकिने कुरामा कुनै द्विविधा छैन।हाम्रो चिनारी भनेकै हाम्रा चाडपर्व भेषभूषा र सँस्कारहरु हुन्।सबैलाई माघीको शुभकामना । अस्तु । माघ १ गते २०७८

प्रतिक्रिया