बुधबार, मंसिर ४ २०७६
काठमाडौं ०५:२२
वासिङटन डिसी 18:37

मेरिल्याण्डमा भारतीय मूलकाले नेपालबाट झिकाए पशुपतिनाथ शिव लिङ्ग,प्राण प्रतिष्ठामा राजदूत डा कार्कीको उपस्थिति

विजय थापा २०७६ कार्तिक १९ गते १:२० मा प्रकाशित

डिसी । अमेरिकाको मेरिल्याण्ड स्थित वाशिंगटन काली मन्दिरको भारतीय मूलका नागरिकले नेपालबाट पशुपतिनाथ शिव लिङ्गको प्रतिमा झिकाई प्राण प्रतिष्ठा सम्पन्न गरेका छन् ।

गत नोवेम्बर ३ आइतबारका दिन प्राण प्रतिष्ठा मेरिल्याण्ड राज्यको बर्टनस् भिल स्थित उक्त काली मन्दिरमा गरिएको थियो । उक्त समारोहमा अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की(बिद्या वारिधि )को उपस्थिति रहेको थियो ।

भारतीय मूलकाले निर्माण गरेता पनि पशुपतिनाथ मन्दिर नेपालमा रहेको हुनाले यस क्षेत्रमा रहेका नेपाली समुदायको समर्थन समेत मन्दिरले चाहना राखेकोले प्राण प्रतिष्ठा समारोहमा उपस्थितिको लागि निमन्त्रणा गरिएको थियो ।

राजदुत डा कार्कीसंग वहाकी पत्नी गौरी ठकुरी कार्की समेत दर्शनको लागि उपस्थिति रहेको थियो । बाल्टिमोरका चिकित्सक बिशाल भण्डारीले नेपाली समुदायसंग समन्वय गरि समारोहमा आमन्त्रित गर्नु भएको थियो ।

उक्त समारोहमा भारतीय मूलका चिकित्सक ,बिदेशी ,श्रद्धालु भक्तजन पुरुष तथा महिलाहरुको उपस्थिति रहेको थियो । यसै गरि बाल्टिमोरबाट प्रवासी नेपाली मन्च अमेरिकाका सभापति प्रभु थापा ,बानाका अध्यक्ष सुबोध पन्त तथा महासचिव किरण ढकाल,समाजसेवी तथा कलाकार रिमा केसी लगायतको उपस्थिति रहेको थियो ।

प्राण प्रतिष्ठामा द्वय नेपाली पण्डित तथा दक्षिण भारतीय पण्डितले पूजा अर्चना गराएका थिए भने श्रद्धालुभक्तजनहरु भजनकिर्तनमा मस्त भएर झुमेका देखिन्थे । सन् २००२ मा स्थापित उक्त मन्दिर अझ पनि निर्माणाधीन अवस्था मै रहेको छ भने निकै व्यापक रुपमा बिस्तार गर्ने उद्धेश्यले काम संचालन भै रहेको छ ।

मन्दिरमा भारतमा भएका १२ वटा शिब लिङ्गहरु राखिएका छन् भने मुख्य पूजा कालीको गरिन्छ । उक्त मन्दिरमा काली,दुर्गा ,शिब ,गणेश,राधाकृष्ण लगायत नवग्रहका प्रतिमाहरु राखिएका छन् ।वाशिंगटन काली मन्दिरमा बोर्ड अफ ट्रस्टी ( संचालक समिति) रहेको छ भने यसका संस्थापक र वर्तमान सभापति डा प्रदिप कुमार घोस हुनु हुन्छ ।

तस्बिर :राजिव श्रेष्ठ

प्रतिक्रिया