मंगलबार, कार्तिक ५ २०७६
काठमाडौं १४:३४
वासिङटन डिसी 04:49

नेपाली जनसम्पर्क समिति अमेरिकाको प्रेस विज्ञप्ती

इनेप्लिज २०७६ भदौ २७ गते २०:५६ मा प्रकाशित


नेपाली काँग्रेसले जननायक वीपी कोइरालाको १०६ औं जन्म जयन्तीका दिन भाद्र २४ मा मुलुकभर प्रारम्भ गरेको हिमाल,पहाड, तराई-मधेश (हिपतम) राष्ट्रिय जागरण अभियान अन्तर्गतको दोस्रो चरणको कार्यक्रम यही भाद्र २६ गते, बाँके जिल्लाको निर्वाचन क्षेत्र नम्बर-३ को प्रदेश सभा-२ को खजुरा गाउँपालिका वडा नम्बर २ सीतापुरमा शान्तिपूर्ण ढंगले संचालन भइरहेको अवस्थामा नेपाल कम्यूनिष्ट पार्टी( नेकपा) मा आबद्ध कार्यकर्ताको जत्थाले कार्यक्रम बिथोल्ने प्रमुख उदेश्यका साथ सुनियोजित रूपमा सांघातिक हमला गरेको घटनाप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।

सरकार समर्थित कम्युनिष्ट कार्यकर्ताको उक्त सांघातिक हमलाबाट नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाको हात फ्याक्चर भएको छ भने, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाल लगायत पार्टीका दर्जनौँ कार्यकर्ताहरु घाइते भएका छन् ।यो घटना अत्यन्तै, निन्दनीय, अमानवीय, घृणित र गैरकानूनी भएको ठहर गर्दै, सत्ताको उन्मादमा अराजक शैलीमा गरेको यस्तो सुनियोजित एवं सांघातिक आक्रमको नेपाली जनसम्पर्क समिति अमेरिका घोर निन्दा र भर्त्सना गर्दछ ।

यो घटनाले स्वतन्त्र रुपमा शान्तिपूर्ण ढंगले राजनीतिक र सांगठनिक कार्यक्रम गर्न पाउने संविधानप्रदत्त नागरिक र दलको अधिकारमाथि ठाडो प्रहार गरेको छ। यसले अभिव्यक्ति स्वतन्त्रता, मानवाधिकार र कानूनी राज्यको धज्जी उडाएको छ। यो घटनाले लोकतन्त्रका आधारभूत मुल्य, मान्यता र सिद्धान्त समेतको खिल्ली उडाएको छ ।

त्यसैले यस घटनालाई सरकारले गम्भीरता पूर्वक छानबीन गरी दोषीलाई तत्काल कडा भन्दा कडा कानूनी कारवाही गर्न सरकारसँग जोडदार माग गर्दछौ । लोकतान्त्रिक व्यवस्थामा तत्काल कानुनी राज्यको आभाष दिलाउँन सरकारसँग आग्रह गर्दछौ। जिम्मेवार राजनीतिक पार्टीको रूपमा प्रस्तुत हुन र यस्ता घटनाहरु पुनः नदोहोर्याउन नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) लाई चेतावनीका साथ आग्रह गर्दछौ ।

अन्त्यमा सबै घाइते हुनुभएका पार्टीका नेता तथा कार्यकर्ताहरूको शिघ्रलाभको कामना गर्दछौ ।

धन्यवाद, जयनेपाल !

मुनिन्द्र नेम्बाङ

महासचिव

नेपाली जनसम्पर्क समिति अमेरिका

प्रतिक्रिया