बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं १५:२५
वासिङटन डिसी 05:40

विद्युत्भार कटौती अन्त्य गर्न अध्यक्ष दाहालको आग्रह

इनेप्लिज २०७४ असार १० गते ९:१५ मा प्रकाशित

काठमाडौँ, १० असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिमाञ्चल क्षेत्रको विद्युत्भार कटौती तत्काल अन्त्य गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आग्रह गर्नुभएको छ ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचन अभियानमा सहभागी भएर काठमाडौँ फर्कनुभएपछि अध्यक्ष दाहालले आज कार्यकारी निर्देशक घिसिङलाई बोलाएर सुदूरपश्चिमाञ्चल क्षेत्रमा किन विद्युत् कटौती गरिएको हो भनेर जिज्ञासा राख्नुभएको थियो ।

प्रदेश नं ७ को सुदूरपश्चिमको विद्युत्भार कटौतीको अन्त्य गर्ने विषयमा प्रभावकारी कार्ययोजनाका साथ काम गर्न अध्यक्ष दाहालले कार्यकारी निर्देशक घिसिङलाई तत्काल प्रक्रिया सुरु गर्न आग्रह गर्नुभएको अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

चुनावी अभियानका क्रममा तीन दिनअघि सुदूरपश्चिम पुग्नुभएका अध्यक्ष दाहाललाई कञ्चनपुरका स्थानीय जनताले देशका अधिकांश ठाउँमा विद्युत्भार कटौती मुक्त अभियान चलेपनि सुदूरपश्चिममा भने कार्यान्वयन नभएको भन्दै गुनासो गरेका थिए ।

स्थानीय जनताको गुनासो सुनेपछि अध्यक्ष दाहालले सार्वजनिक मञ्चबाटै काठमाडौँ फर्केलगत्तै विद्युत्भार कटौती अन्त्य गर्न विशेष पहल गर्ने घोषणा गर्नुभएको थियो ।
भेटमा कार्यकारी निर्देशक घिसिङले सुदूरपश्चिममा प्रसारण र ट्रान्सफर्मरको समस्या रहेको बताउँदै तीन÷चार दिनभित्रै प्रविधिमा सुधार गरी सुदूरपश्चिमको विद्युत्भार कटौती अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया