शनिबार, साउन ९ २०७८
काठमाडौं २१:०६
वासिङटन डिसी 11:21

तेक्वान्दोमा शुद्धीकरण आवश्यकता

इनेप्लिज २०७३ चैत ५ गते ६:१४ मा प्रकाशित

नेपालको सर्वाधिक सफल खेल तेक्वान्दो कुनै समय नेपाली खेलकुदमा उदाहरणको प्रतिमूर्ति थियो । अनुशासन होस या सफलता सर्वप्रथम तेक्वान्दोको नाम अग्रपङ्क्तिमा आउँथ्यो । दीपक विष्ट, संगीना वैद्य र सविताराज भण्डारीले पाएको ऐतिहासिक सफलताले आमखेलप्रेमीमा तेक्वान्दो सर्वप्रिय बनेको थियो । तेक्वान्दो खेलाडीले पाएको अन्तर्राष्ट्रिय सफलताले सरकारदेखि राष्ट्रिय खेलकुद परिषद् तेक्वान्दोप्रति नतमस्तक थिए । मुख्य प्रशिक्षक दीपराज गुरुङ र तेक्वान्दो सङ्घका पदाधिकारीको खुलेर चर्चा र प्रशंसा गरिन्थ्यो । साँचो अर्थमा भन्नुपर्दा आमखेलप्रेमीको मानसपटलमा तेक्वान्दो खेल र त्यसका खेलाडी छाएका थिए । रुक्मशमशेर राणा र प्रकाशशमशेर राणाको नेतृत्व आफँैमा प्रेरणादायिक र प्रभावशाली सिद्ध भएको थियो । अझ मुख्य प्रशिक्षक दीपराज गुरुङको तेक्वान्दोप्रतिको समर्पण, पकड र अनुशासनले तेक्वान्दोमा चार चाँद लगाएको थियो । यसमा सुनमा सुगन्ध थप्ने कार्य अन्य पदाधिकारी, प्रशिक्षक र खेलाडीले गरेका थिए । जसले गर्दा हरेक दृष्टिकोणबाट तेक्वान्दो नेपालको नम्बर एक खेल बन्न सफल भएको थियो । अनुशासन र सफलतामा तेक्वान्दोले नौलो कीर्तिमान कायम गर्न सफल भएको थियो । तेक्वान्दोको अगाडि र पछाडि कुनै खेल थिएनन् ।

पछिल्लो समयमा तेक्वान्दोमा पनि ग्रहण लागेको छ । यो खेल अधोगतितर्फ उन्मुख हुँदै गएको छ । तेक्वान्दो अधोगतितर्फ लाग्नुमा थुप्रै कारण भए पनि यसको प्रमुख कारकतत्त्व भने तेक्वान्दो सङ्घका महासचिव तथा संस्थापक दीपराज गुरुङलाई ठानिँदै छ । गुरुङको तानाशाही प्रवृत्तिका कारण तेक्वान्दो धरापमा परेको सङ्घकै पदाधिकारी र खेलाडीले आरोप लगाउन थालेका छन् । लगभग चार दशक अर्थात् छत्तीस वर्ष तेक्वान्दोको वागडोर सम्हालिसकेका गुरुङ अहिले पनि तेक्वान्दोमाथि दबदबा बनाइरहेका छन् । अहिले पनि खेलाडी र पदाधिकारी गुरुङको प्रतिवाद गर्नसक्ने अवस्थामा छैनन् । साँचो रूपमा भन्नुपर्दा उनीहरू आँट र साहस नै जुटाउन सक्तैनन् । उनले तेक्वान्दोमा जे गर्छन् वा भन्छन् त्यो नै तेक्वान्दोको कानुन बन्छ र पालना हुन्छ । उनको विरुद्धमा कोही खडा भए त्यसको पत्तासाफ हुन्छ अर्थात् तेक्वान्दोको दानापानी रोकिन्छ । गुरुङले तेक्वान्दोमा गरेको यही हस्तक्षेपका कारणले अहिले तेक्वान्दो आमखेलको रूपमा गणाना भइसकेको छ । सफलताको शिखर चुम्दै जानुपर्नेमा अधोगतितर्फ उन्मुख भएको छ ।

कुनै समय दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदकको ताँती लगाएर प्रभुत्व जमाएको तेक्वान्दोले एसियाली खेलकुद प्रतियोगितामा समेत रजत पदक जितेको थियो । तर, विडम्बना अहिलेको अवस्था निकै भिन्न छ । तेक्वान्दोको अस्तित्व तथा साख दक्षिण एसियालीमा समेत बचाउन धौधौ अर्थात् मुस्किल छ । एउटा स्वर्ण पदक जित्ने हो वा होइन त्यसको ठोकुवा गर्न सक्ने अवस्था छैन । तर, विगतलाई कोट्याउँदा तेक्वान्दो मात्रै त्यस्तो खेल थियो जसले राष्ट्रलाई दक्षिण एसियाली र एसियाली खेलकुद प्रतियोगितामा पदक दिलाउने खेलको रूपमा ठोकुवा गर्न सकिन्थ्यो । एघारौँ सागमा दुईवटा स्वर्णमा सीमित भएको तेक्वान्दो गत वर्ष सम्पन्न इन्चोन एसियाडमा रित्तो हात घर फर्किएको थियो । यहीबाट अनुमान लगाउन सकिन्छ तेक्वान्दोको वास्तविकता ।

तेक्वान्दोभन्दा पनि दीपराज गुरुङप्रति असहमति प्रकट गर्ने अहिले तेक्वान्दोमा च्याउसरि उम्रिएका छन् । त्यही असहमतिकै कारण तेक्वान्दो युनियनको जन्म भएको तीतो सत्य हाम्रोसामु छ । अन्यथा एउटै खेलका दुईवटा सङ्घ कदापि हुने थिएनन् । युनियनको जन्म माओवादीले गराएको भए पनि त्यसको पछाडिको रहस्य र कारण गुरुङ नै थिए भन्दा अतिसयोक्ति नहोला । गुरुङकै थिचोमिचो र तानाशाही प्रवृत्तिले उनलाई चुनौती दिन युनियनको जन्म भएको थियो । परिणाम युनियनको खेलकुदमा जस्तो हैसियत भए पनि तेक्वान्दोमा बखेडा निकाल्न र विवाद निम्त्याउन काफी छ । विवाद र विच्छेदले समस्या मात्रै निम्त्याउने र द्वन्द्वमा लैजाने कुरामा सायदै कसैको दुईमत होला । तर, यो कुरालाई राम्रोसँग बुझेका गुरुङले तेक्वान्दोभन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थसिद्ध गर्न तेक्वान्दोलाई हतियार बनाएपछि उनी अहिले युनियन मात्र नभई उनकै आत्मीय र प्रिय व्यक्तिहरूसमेत उनको विरुद्धमा लागेका छन् । जुन तेक्वान्दा लागि कदापि सकारात्मक कुरो मान्न सकिँदैन । आखिर अहिले गुरुङका विश्वासपात्र उनकै विरुद्धमा किन खडा भइरहेका छन् र उनको आलोचना गर्दै उनलाई नाङ्गेझार पार्ने कार्य गर्दै छन् त्यसमा गुरुङको कमजोरी अवश्य लुकेको छ । अन्यथा हिजोसम्म गुरुङलाई गुरु मात्र नभई भगवान् मान्नेहरू आज किन उनको खोइरो खनिरहेका छन् त ? प्रश्न खडा भएको छ ।
पछिल्लो समयमा देखिएको पारा तेक्वान्दोको विवादले तेक्वान्दोलाई अझ कमजोर तुल्याएको छ । तेक्वान्दो सङ्घकै कमजोरीले गर्दा नौलो सङ्घको रूपमा गठन भएको पारालाई सङ्घले सौताको व्यवहार गर्दा पारा पनि तेक्वान्दो अर्को चुनौतीको रूपमा देखिएको छ । जसले समाधानका लागि सङ्घले खुद पहल गर्नुको साटो उल्टै आफ्नै मातहतमा पारा तेक्वान्दो खोलेर अर्को विवाद खडा गरेको छ । जसले पाराको विवाद पनि शिखरमा पुगेको छ । यसरी अहिले एउटा तेक्वान्दोबाट तीनवटा तेक्वान्दो बनेका छन् । जुन तेक्वान्दाका लागि लाजमर्दो मात्र नभई शर्मनाक कुरो बनेको छ । जसको माउ संस्थाको रूपमा नेपाल तेक्वान्दो सङ्घले आफूलाई आवरणमा प्रस्तुत गरे पनि त्यस्तो हुन भने सकेको छैन । वास्तविक रूपमा भन्नुपर्दा सङ्घ यसमा पूर्ण रूपमा असफल भएको छ । यसरी दिनप्रतिदिन तेक्वान्दो विवादमा तानिदै गएको छ भने यसको असर खेलाडी र खेलमा पर्न गएको छ । गुरुङको मै खाऊँ मै लाऊँ भन्ने मानसिकताले पारामा जुन विवाद आएको छ त्यसले तेक्वान्दोमा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पर्ने पक्का छ । प्राप्त जानकारीअनुसार गुरुङ तेक्वान्दोमा नतिजा दिन असफल भएपछि पारा तेक्वान्दोको सहारामा वैतरणी तर्न पाराप्रति गिद्देदृष्टि लगाएको बुझिएको छ । अन्यथा आफ्नै सल्लाह र अगुवाइमा पारा गठन गर्न लगाएका गुरुङले अहिले आएर यस्तो बखेडा कदापि झिक्ने थिएनन् ।

दीपराज गुरुङ हिजो पनि तेक्वान्दोका दबंग थिए, आज पनि छन् यसमा कसैको दुईमत छैन । तर, दबंग भएर मात्रै हुँदैन, दबंगको औचित्य पनि पुष्टि गर्न सक्नुपर्छ । यदि गुरुङ दबंग हुन् भने तेक्वान्दो किन दबंग बन्न सकिरहेको छैन ? तेक्वान्दो प्रदर्शन किन दिनप्रतिदिन खस्किरहेको छ त ? किन उनलाई तेक्वान्दो भाँडेको आरोप लाग्दै आएको छ त ? किन आफूप्रति लागेको आरोपको पुष्टि गर्न सकेका छैनन् ? किन भूमिगत रूपमा तेक्वान्दो सञ्चालन गरिरहेका छन् ? यो गम्भीर विषय बनेको छ । गुरुङको केही वर्षयताको कार्यशैली हेर्दा उनको झुकाव तेक्वान्दोभन्दा पनि राजनीति र व्यापारप्रति बढी देखिएको छ । उनले छिनछिनमा बदलेको छेपारोको रङ आफैँमा उदाहरणको नमुना हो । यहाँ यसको विश्लेषण गर्नुभन्दा नगर्नु नै जाती होला । विगतको चार वर्षको अवधिमा गुरुङले खेलकुदमा कस्तो खेल खेले त्यो घामजस्तै छर्लङ्ग छ । कहिले माओवादी, कहिले एमाले त कहिले काङ्ग्रेसको शुभचिन्तकको रूपमा देखापरेका गुरुङको चरित्रले तेक्वान्दोलाई मात्र नभई खेलकुदलाई समेत गुमराहमा पारेको थियो । शक्तिकेन्द्रको आडमा मुख्य प्रशिक्षकबाट दिएको राजीनामाको नाटक लामो समयपछि स्वीकृति हुनु उनको राजीनामा आफैँमा अर्थहीन र विवादित बनेको थियो । त्यसपछि मुख्य प्रशिक्षकमा ध्रुव गुरुङको नियुक्तिसँगै उनले देखाएको नखरा साँच्चिकै हास्यास्पद थियो । ध्रुव गुरुङले तेक्वान्दोको मुख्य प्रशिक्षक सम्हाल्न गुरुङको कति चाकरी र चाप्लुसी गर्नुपर्‍यो त्यसको पीडा सायद उनले अहिलेसम्म बिर्सेका छैनन् होला ।

वर्तमान अवस्थामा तेक्वान्दोको शुद्धीकरण गर्न आवश्यक भइसकेको छ । यसमा ढिलाइ गर्नु भनेको तेक्वान्दोलाई समाप्त पार्नु हुनेछ । यसको अर्थ महासचिवबाट दीपराजलाई हटाएर अन्यलाई नियुक्ति गर्नुपर्छ भन्न खोजिएको कदापि होइन । शुद्धीकरणको मतलब के हो भने अब तेक्वान्दोको मन्थन गर्ने बेला भइसकेको छ । मन्थन गर्दा विष उत्पन्न हुने सन्त्रास तेक्वान्दो सङ्घले पाल्नुहँुदैन । किनकि विषसँगै अमृत पनि प्राप्त हुन्छ, अर्थात् अमृत प्राप्त गर्ने लक्ष्यका साथ तेक्वान्दो शुद्धीकरण हुनुपर्छ । सबैको व्यक्तित्व एउटै हुँदैन, यो शुद्धीकरणबाट कसलाई कस्तो जिम्मेवारी दिने त्यो तेक्वान्दो सङ्घको पहिलो प्राथमिकतामा पर्नुपर्छ । यहाँ नातावाद, कृपावाद, चाकरी र चाप्लुसी गर्नेलाई भन्दा पनि योग्य व्यक्तिको चयन हुनुपर्छ । त्यसको लागि हिजो तेक्वान्दोकै छत्रछायामा हुर्किएका, तेक्वान्दोमा योगदान दिएका र असन्तुष्ट पक्षलाई सर्वप्रथम तेक्वान्दोमा सहमत गर्नुपर्छ । विभाजित सबैलाई समेटेर सङ्गठित नवतेक्वान्दोको निर्माण गर्नुपर्छ । काम गर्न सक्ने अर्थात् क्षमतावान व्यक्तित्वलाई आफ्नो अभिभाकत्वमा अगाडि सार्नुपर्छ । त्यसका लागि त्याग र बलिदानको दिने आँट गुरुङले बनाउनुपर्छ । अन्यथा अहिले तेक्वान्दोमा गुरुङको विरुद्धमा आगो मात्र सल्किएको छ, यदि भोलि त्यसले डढेलोको रूप धारण गरे त्यसको जिम्मेवारी खुद गुरुङले लिनुपर्नेछ । त्यसपछिको स्थिति गुरुङका लागि वार कि पारको लडाइँसरि नहोला भन्न सकिँदैन ।

यतिबेला गुरुङको क्रियाकलाप र तेक्वान्दोको गतिविधिप्रति सरकार र सम्बन्धित निकायले आँखा गाडेको अवस्था छ । अझ १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग नजिकै जाँदा तेक्वान्दोको प्रदर्शनप्रति अभिरुचि बढेको छ । यस्तो अवस्थामा तेक्वान्दो खेलाडी १२औँ सागमा कति खरो उत्रिन्छन् त्यो जटिल र अहम् मुद्दा बनेको छ । यसर्थमा कि १२औँ सागमा दीपक विष्ट र मनिता शाहीको उपस्थिति छैन । सम्भावित स्वर्ण पदक जित्ने खेलाडीको लिस्ट नै नभएको बेलामा तेक्वान्दो खेलाडीले रातारात चमत्कार देखाउलान् भन्ने अवस्था पनि छैन । तसर्थ अहिलेको तेक्वान्दोको अवस्था भनेको अन्योल र गन्तव्यहीन अवस्था हो । यसमा पार नपाए अर्थात् दूरदर्शी भएर कार्य नगरे आजको तेक्वान्दोको मान, सम्मान र प्रतिष्ठा भोलि एउटै झट्कामा नगुम्लाचाहिँ भन्न सकिँदैन । तसर्थ तेक्वान्दोमा अदृश्य राजनीति गर्नुभन्दा तेक्वान्दोको विकास, विस्तार र सफलताका लागि सम्पूर्ण तेक्वान्दोकर्मी सङ्गठित हुनु आजको आवश्यकता भइसकेको छ ।

 

स्रोत:घटना र बिचार 

प्रतिक्रिया