शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं १७:०५
वासिङटन डिसी 06:20

सिल्क रोड एसियाको गौरव– पूर्वप्रधानमन्त्री भट्टराई

इनेप्लिज २०७३ कार्तिक १२ गते १३:४४ मा प्रकाशित

bbकाठमाडौँ, १२ कात्तिक । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा बाबुराम भट्टराईले सिल्क रोडले एसियाका प्रत्येक देशलाई बृहत् लाभ पु-याउने बताउँदै यो कालान्तरमा एसियाको गौरव बन्ने बताउनुभएको छ ।

चीनको ग्वान्झाओमा भइरहेको “२१औँ शताब्दी मेरीटाइम सिल्क रोड इन्टरनेसनल एक्स्पो”लाई सम्बोधन गर्दै उहाँले चीनले पहल गरेको एक–पेटी–एक–मार्ग योजनाले एसियाली राष्ट्रलाई जोड्न निकै योगदान पु-याउने बताउनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

एक–पेटी–एक–मार्गका विषयमा धारणा राख्दै उहाँले यस योजनासँगै समुद्री रेशम मार्गले एसियालाई बाँकी विश्वसँग जोड्ने कार्यलाई थप वृद्धि गर्ने र सहज बनाउने उल्लेख गर्नुभयो ।

संयोजक भट्टराईले भन्नुभयो, “रेल र राजमार्गद्वारा चीनको तिब्बत स्वायत्त क्षेत्र र नेपाललाई जोड्न (सम्भवतः भारतसम्म विस्तार गर्न) दुवै प्राविधिक र आर्थिक रूपले सम्भव छ । तसर्थ चीन–भारत–नेपाल आर्थिक करिडोरको कुरा गर्दा भौगोलिक प्रतिकूलताको पुरानै अवधारणा अब असान्दर्भिक भइसकेको छ ।”

डा भट्टराईले व्यापक पूर्वाधार विकास र तीव्र आर्थिक वृद्धिको निम्ति चीनसँग भएको पुँजी र विशेषज्ञताको उपयोग गर्ने नीति अवलम्बन गर्नु नै बुद्धिमानी हुने बताउनुभयो ।

उहाँले एक्काइसौँ शताब्दीमा एसियाली अर्थतन्त्रले सामना गरिरहेको प्रमुख चुनौती गरिबी र बेरोजगारी रहेको बताउँदै एक–पेटी–एक–मार्गको पहलले विश्वव्यापी सम्बन्ध र जडान सुदृढ एवम् फराकिलो बनाउने मात्र होइन, यसले संसारलाई नै अझ समृद्ध र शान्तिपूर्ण बनाउनमा मद्दत पु-याउने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया