शनिबार, असोज ३० २०७८
काठमाडौं १३:४८
वासिङटन डिसी 04:03

छुट्टै अपाङ्गमैत्री सूचना तथा प्रविधि केन्द्र आवश्यक : मन्त्री राई

इनेप्लिज २०७३ असार १३ गते ११:५९ मा प्रकाशित

24112015043328Sherdhan_Rai_Communication__871777246-1000x0काठमाडौँ, १३ असार । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले छुट्टै अपाङ्गमैत्री सूचना तथा प्रविधि केन्द्र स्थापना गर्न आवश्यक रहेको बताउनुभएको छ ।

राष्ट्रिय अपाङ्ग महासङ्घ, अपाङ्ग महिला सङ्घ र नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा आज यहाँ भएको ‘अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त सूचना तथा सञ्चार प्रविधि र असल अभ्यास संहितासम्बन्धी विश्लेषण’ विषयको राष्ट्रिय परामर्श गोष्ठीमा मन्त्री राईले अपाङ्गमैत्री सूचना तथा प्रविधि केन्द्र स्थापनाका लागि मन्त्रालय आवश्यक पहल गर्न तयार रहेको बताउनुभयो ।

“नेपाल सूचना प्रविधिका क्षेत्रमा भर्खरै बामे सर्दैछ,” उहाँले भन्नुभयो – “सूचना प्रविधिका क्षेत्रमा आमूल परिवर्तन ल्याउन मन्त्रालयले सरोकारवाला निकायसँग बृहत् छलफल गरी गुरुयोजना तयार गरिरहेको छ र छिट्टै यसको थालनी हुन्छ ।”

संविधानको मौलिक हकमा उल्लेख भएको सूचनाको हकलाई व्यवहारमा उतारेर सूचना प्रविधिमा सबैको पहुँच पु¥याउन सोहीअनुरुपका गृहकार्य भइरहेको मन्त्री राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “संविधान धेरै हदसम्म अपाङ्गमैत्री छ । नीति तथा कार्यक्रम र बजेटमा समेत अपाङ्गता भएकाहरुलाई लक्ष्य गरी कार्यक्रम ल्याइएको छ ।”

प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सरकारले अपाङ्ग भएकाका लागि सञ्चालन गरिरहेको कार्यक्रमबारे जानकारी दिँदै उनीहरुका लागि सीप तथा नेतृत्व विकास गर्ने कार्यक्रमलाई बढी प्राथमिकता दिइनुपर्ने बताउनुभयो ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सहसचिव शङ्कर पाठकले नेपाल टेलिभिजनले हप्ताको एक दिन मात्र साङ्केतिक समाचार प्रसारण हुँदै आएकामा आगामी दिन दैनिक साङ्केतिक समाचार प्रसारण गराउन मन्त्रालयले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

सूचना विभागका महानिर्देशक रघुराम विष्टले भएका सूचना प्रविधि अपाङ्गमैत्री हुनुपर्ने र अनलाइन समाचारमा उनीहरुको सहज पहुँच पु¥याइनुुपर्ने बताउनुभयो ।

दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराम खनालले अपाङ्गता भएकालाई सूचना प्रविधिमा सहज पहुँचका लागि दूरसञ्चार प्राधिकरणबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सञ्चारकर्मी आरती चटौतले पूर्वाधार निर्माण गर्दा अपाङ्मैत्री हुनुपर्ने कुरामा संवेदनशील हुन सबैलाई आग्रह गर्नुभयो ।

अपाङ्ग महासङ्घका अध्यक्ष सुदर्शन सुवेदीले सूचना प्रविधिलाई अपाङ्गमैत्री बनाउन प्रविधिलाई पहुँचयोग्य बनाउनुपर्नेमा जोड दिनुभयो ।

अपाङ्ग महिला सङ्घका अध्यक्ष निर्मला धितालले उक्त छलफल नेपालमा सूचनाको अवस्था र अपाङ्गता भएकाको पहुँचका विषयमा केन्द्रित हुने जानकारी दिनुभयो ।

एक दिवसीय सो कार्यक्रममा अपाङ्ग महासङ्घका उपाध्यक्ष टीका दाहाल र अपाङ्गता भएकाको क्षेत्रमा कार्यरत रामचन्द्र गैरेले ‘अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त सूचना तथा सञ्चार प्रविधि र असल अभ्यास संहिता’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।

प्रतिक्रिया