मंगलबार, कार्तिक ४ २०७७
काठमाडौं ०९:१३
वासिङटन डिसी 23:28

बक्सिङ खेलाडीलाई उपचारमा सहयोग

इनेप्लिज २०७२ चैत २५ गते १:११ मा प्रकाशित

काठमाडौँ, २५ चैत । नेपाल बक्सिङ सङ्घले दुई अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी तथा प्रशिक्षकलाई उपचारार्थ आर्थिक सहयोग गर्ने भएको छ ।

पूर्वराष्ट्रिय तथा अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी तथा आठौँ सागका कास्य पदक विजेता इन्द्रबहादुर राना मगर र पूर्वखेलाडी तथा प्रशिक्षक दीपक राईलाई जनही रु २५÷२५ हजार उपचारका लागि खर्च उपलब्ध गराउने निर्णय गरेको सङ्घका अध्यक्ष राजीव श्रेष्ठले जानकारी दिनुभयो ।

रानामगर आन्द्राको क्यान्सर र फोक्सोको उपचार गराइरहनुभएको छ भने दीपकले भारतमा क्यान्सरको उपचार गराइरहनुभएको छ । रानामगर २०५२ देखि २०५५ सालसम्म राष्ट्रिय च्याम्पियनसमेत हुनुहुन्थ्यो । सङ्घले राष्ट्रिय खेलकुद परिषद्लगायत अन्य निकायलाई समेत आफ्ना पूर्वखेलाडी तथा प्रशिक्षकको उपचारका लागि सहयोग उपलब्ध गराइदिन अनुरोध गरेको छ ।

सङ्घले यसअघि कृष्णमान, किशोर थापालगायतलाई उपचारका लागि सहयोग गरेको थियो ।

प्रतिक्रिया