आइतबार, मंसिर १२ २०७८
काठमाडौं २१:१८
वासिङटन डिसी 10:33

पत्रकार सबैको पहरेदार हुनुपर्छ: महामन्त्री कोइराला

इनेप्लिज २०७२ चैत २ गते १३:२५ मा प्रकाशित

sasanka-koiralaकाठमाडौँ, २ चैत । नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री डा शशाङ्क कोइरालाले सञ्चार क्षेत्र सदैव समाज, राजनीतिक दल र सरकारको पहरेदारका रुपमा रहनुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियनको बधाई तथा शुभकामना ग्रहण गर्दै आज महामन्त्री कोइरालाले सञ्चार क्षेत्रले आफूले कलम चलाउँदा त्यसले समाजमा के तरङ्ग ल्याउँछ भन्ने कुरालाई हेक्का राख्नुपर्ने बताउनुभयो ।

काँग्रेसको १३औँ महाधिवेशन ठूलो उपलब्धि भएको बताउँदै पार्टी एक भएर जानुपर्ने आफ्नो धारणा रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “राजनीतिक स्थिरताले मात्र देश विकास सम्भव छ । काँग्रेस राजनीतिक स्थिरताको पक्षमा छ ।”

महामन्त्री कोइरालाले अब काँग्रेसलाई एकजुट बनाएर लैजानुपर्ने दायित्व नवनिर्वाचित पार्टी सभापतिको भएको पनि उल्लेख गर्नुभयो । पार्टीभित्र व्यक्तिवादी प्रवृत्तिलाई त्यागी सङ्गठित भएर जानुपर्नेमा जोड दिनुभयो ।

काँग्रेसले धेरै समय सत्ताको राजनीतिमा खर्चिएको बताउँदै उहाँले अब राष्ट्रका लागि राजनीति गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “बिपी कोइराला पनि राष्ट्रमा प्रजातन्त्र र लोकतन्त्रका लागि जेल जानुभएको थियो, हामीले पनि त्यसको संरक्षण गर्न राष्ट्रका निम्ति काम गर्नुपर्ने समय आएको छ ।”

त्यसैगरी, काँग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले अब काँग्रेसले संविधानको प्रभावकारी कार्यान्वयनका लागि नेतृत्वदायी भूमिकाका साथ जिम्मेवारी निर्वाह गर्ने बताउनुभएको छ ।

आफ्नै निवासमा आज रासससँगको कुराकानीमा उहाँले मुलुकमा राजनीतिक स्थायित्व ल्याई आर्थिक समृद्धिका देशलाई आगाडि बढाउनु दायित्व काँग्रेसको काँधका आएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “वर्तमान सरकारले अपेक्षाअनुसार कार्य गर्न नसकेकाले जनतामा भरोसाको वातावरण बन्न नसकेकाले काँग्रेसप्रति सबैको अपेक्षा रहेको छ ।” सबैलाई समेटेर नयाँ सहमति खोजी काँग्रेस अगाडि बढ्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया