आइतबार, साउन १० २०७८
काठमाडौं ०५:१२
वासिङटन डिसी 19:27

मूल्याङ्कनको महत्व बढी छ: सभामुख घर्ती

इनेप्लिज २०७२ मंसिर ९ गते १४:३६ मा प्रकाशित

onsari-gharti-magar-finalकाठमाडौँ, ९ मङ्सिर । सभामुख ओनसरी घर्तीले नेपालजस्तो विकासोन्मुख मुलुकका लागि मूल्याङ्कन झन महत्वपूर्ण भएको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय मूल्याङ्कन वर्ष, २०१५ का अवसर आज यहाँ आयोजित विश्व सम्मेलनमा उहाँले कामको सफलताको निर्धारण मूल्याङ्कनबाट नै निर्धारण हुने भएकाले विकासोन्मुख मुलुकको विकास निर्माणका लागि मूल्याङ्कनको महत्व रहेको छ भन्नुभयो ।

मूल्याङ्कनले सरकार तथा अन्य संस्थालाई पारदर्शी र उत्तरदायित्व बनाउन मद्दत पुग्ने चर्चा गर्दै उहाँले भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन कायम गर्न पनि मूल्याङ्कन आवश्यकता पर्ने बताउनुभयो ।

संविधानसभाबाट संविधान जारी भएको नेपालको संविधानले गणतन्त्र, धर्म निरपेक्षता, सङ्घीयता र समावेशीतालाई संस्थागत गरेको सभामुख घर्तीले सो अवसरमा उल्लेख गर्नुभयो ।

उहाँले संविधानले सबै पिछडिएका वर्ग, जाति र क्षेत्रको अधिकार सुनिश्चित गर्नुका साथै महिलाको ३३ प्रतिशत अनिवार्य सहभागिताको व्यवस्था गरेको छ भन्नुभयो ।

कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले मूल्याङ्कन सप्ताहका अवसरमा जारी गरिएका दिगो विकास लक्ष्य, लैङ्गिक मूल्याङ्कन, युवा मूल्याङ्कन, विश्व संसदीय मञ्चलगायतका रणनीतका क्षेत्रमा सरकारको तर्फबाट पूर्ण सहयोग रहने जानकारी दिनुभयो ।
उहाँले मूल्याङ्कनसम्बन्धी सम्मेलनले दिगो विकास लक्ष्यका साथै नेपालको नीतिनिर्माण र जनतामा सकारात्मक परिवर्तन ल्याउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले मूल्याङ्कन विकास निर्माण कार्यका लागि महत्वपूर्ण उपकरण हो भन्दै यसले सुशासन र उत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
उहाँले नेपालको संविधानले मूल्याङ्कन र अनुगमनसम्बन्धी व्यवस्था गरेको जानकारी गराउनुभयो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानसभाबाट नेपालमा लोकतान्त्रिक संविधान जारी भएलगत्तै छिमेकी मित्र मुलुकले सिमानामा गरेको अघोषित नाकाबन्दीले समस्या उत्पन्न गरेको छ भन्नुभयो ।
उहाँले अघोषित नाकाबन्दीले मुलुकमा अस्पताल, विद्यालयजस्ता अत्यावश्यक सङ्घसंस्था बन्द हुने अवस्थामा रहेको बताउनुभयो ।

कार्यक्रममा श्रीलङ्काका सार्वजनिक व्यवसाय विकास मन्त्री कबीर हसिम, इभ्यालपाटर्नरका सहअध्यक्ष नातालिया कोसहिलेभा, आइओसिइका अध्यक्ष जैद मौस्सा, सभासद् किरण यादवलगायतले मूल्याङ्कनको महत्व र आवश्यकताका बारेमा चर्चा गर्दै कुनै पनि विकास निर्माणका नीति र योजनाको सफलताका लागि मूल्याङ्कन आवश्यकपर्नेमा जोड दिएका थिए ।

संयुक्त राष्ट्र सङ्घले सन् २०१५ लाई मूल्याङ्कन वर्षका रुपमा घोषणा गरेको छ र यसलाई विश्वभर विभिन्न रुपमा मनाइएको छ । मूल्याङ्कनलाई अझ प्रभावकारी र सहभागी तथा समावेशी कसरी बनाउने भन्ने उद्देश्यले सो कार्यक्रम गरिएको आयोजकले जानकारी दिएका थिए ।

कार्यक्रम विश्वमा मूल्याङ्कनलाई अघि बढाउने अन्तर्राष्ट्रिय संस्था इभालपार्टनर्स, दक्षिण एसियाको कम्युनिटी अफ इभ्यालटर्स, नेपालको कम्युनिटी अफ इभ्यालटर्स, नेपाल सरकार, सुशासन तथा अनुगमन समिति, नेपालका संसद्को मूल्याङ्कन मञ्चको आयोजनमा गरिएको हो ।
कार्यक्रममा करिब १०० मुलुकका ४०० भन्दा बढी विज्ञ, अनुसन्धानकर्ता, योजनाविद्, सहयोगी संस्थाका प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रतिक्रिया