आइतबार, साउन १० २०७८
काठमाडौं १९:३६
वासिङटन डिसी 09:51

‘नाकाबन्दी’ कसले गरेको छ, विश्वले थाहा पायो : परराष्ट्रमन्त्री थापा (भिडियोसहित)

इनेप्लिज २०७२ कार्तिक २० गते १८:१२ मा प्रकाशित

Kamal-Thapa

२० कात्तिक, काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले जेनेभामा नेपालले पारवाहन तथा आपूर्तिमा भइरहेको समस्याबारे सशक्त ढंगले कुरा राखेको बताएका छन् । कसले गर्दा नेपालमा यस्तो समस्या आएको छ भन्ने विश्वले थाहा पाएको भन्दै उनले अब चिन्ता नगर्न आग्रह गरे ।

जेनेभामा भएको राष्ट्रसंघीय मानवअधिकार परिषद् बैठकमा हसभागी भएर शुक्रबार स्वदेश फर्किएका उपप्रधानमन्त्री थापाले त्रिभुवन विमानस्थलमा भने-‘पारबहन तथा आपूर्ति समस्याबारे हामीले सशक्त र प्रभावकारी ढंगले कुरा राखेका छौं ।’ साथै उनले अवरोध हटाउनेतर्फ भारत सकारात्मक ढंगबाट प्रस्तुत हुने विश्वास समेत व्यक्त गरे ।

उपप्रधानमन्त्री थापाले मानवअधिकार परिषद् बैठकमा भारतले नाकाबन्दी गरेको नभनी पारबहन तथा आपूर्ति समस्या भएको मात्र बताएका थिए ।

भिडियो हेर्नुस्

पारबहन तथा आपूर्ति समस्या भन्दा चीन, भारत वा बंगलादेशका कारण हो ? विश्व समुदायले के बुझ्ने भन्ने प्रश्नमा थापाले भने-‘नेपालले भोग्नु परेको समस्या र त्यसका कारणबारे हामीले सशक्त ढंगले कुरा राखेका छौं । अब यो कसले गरेको, किन गरेको, कसरी गरेको भनेर विश्व समुदायलाई प्रष्ट भएको छ । अब हामीले चिन्ता लिन जरुरी छैन ।’

नेपालले भोग्नु परेको समस्याबारे अपवाद बाहेक अधिकांश देशले सद्भाव व्यक्त गरेको उनले बताए ।

भारतले जेनेभामा नेपालको सत्यनिरुपण आयोगका विषयमा कुरा उठायो नि भन्ने प्रश्नमा थापाले सहभगी १९३ देश मध्ये भारतले आफ्नो प्रतिक्रिया जनाउनु स्वभाविक भएको बताए । तर, सत्य निरुपणबारे नेपालले धेरै प्रगति गरिसकेको र यसबारे नेपालमा कुनै विवाद नरहेको बताए ।

मधेसी मोर्चालाई तत्काल वार्तामा आउन आग्रह

सरकारी वार्ता समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री थापाले तत्काल वार्तामा आउन मधेसी मोर्चालाई आग्रह गरे । वार्ता सुरु गर्न उनले आजैबाट अनौपचारिक सम्वाद सुरु गर्ने समेत उनले जानकारी दिए ।

मोर्चाका कतिपय मागहरु पूरा भइसकेको, कतिपय पुरा गर्ने प्रतिवद्धता जनाएको र कतिपय मागहरु संवैधानिक प्रक्रियाबाट पुरा हुने भन्दै उपप्रधानमन्त्री थापाले अब आन्दोलन लम्ब्याउन आवश्यक नभएको बताए ।

साभार :अनलाइन खबर

प्रतिक्रिया