आइतबार, जेठ ८ २०७९
काठमाडौं १२:३७
वासिङटन डिसी 02:52

चौबीस घन्टामा ६९ तालिवान र आठ सैनिक मारिए

इनेप्लिज २०७२ साउन ३१ गते १५:३५ मा प्रकाशित

afaganistan-1024x722काबुल, ३१ साउन । अफगानिस्तानमा अफगान सेनाले जारी राखेको तालिवानविरुद्धको कारबाहीका क्रममा गत २४ घन्टाभित्र ६९ जना आतङ्ककारी मारिएका छन ।

अफगान गृहमन्त्रालयका प्रवक्ताले आइतबार सो जानकारी दिनुभएको छ । अफगानिस्तानबाट नेटो सैनिकले तालिवानसँगको युद्धमा भाग नलिने भनी बिदा लिएको भए पनि दिनहुँजसो त्यहाँको सुरक्षाबलले आतङ्ककारीविरुद्ध कारबाही जारी राखेका छन् ।

अफगान राष्ट्रिय सेनाले अफगानिस्तानका विभिन्न प्रान्तमा तालिवानविरुद्ध शनिबार बिहानबाट आइतबार बिहानसम्म जारी राखेको कारबाहीमा परी कम्तीमा ६९ तालिवानी मारिनुका साथै अन्य ९१ नै घाइते भएका मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

त्यसैगरी सो कारबाहीको क्रममा अन्य १० आतङ्ककारी पक्राउ परेका प्रवक्ता जर्नेल जाहिर आजिज्मीले आफ्नो ट्वीटरमार्र्फत बताउनु भएको छ । यस कारबाहीको तालिवान आतङ्ककारीहरूले भने केही टिप्पणी गरेका छैनन् ।

सो कारबाहीका क्रममा आठ अफगान सेनाले पनि ज्यान गुमाएका जारी विज्ञप्तिमा जनाइएको छ ।

गत जनवरी १ बाट अफगानिस्तानमा जारी द्वन्द्वको क्रममा तालिवानसँग युद्धस्थलमा गएर युद्ध नगर्ने नेटो सैनिकको निर्णयपछि तालिवानविरुद्धको कारबाहीमा अफगान सुरक्षाबलले अघि सरेका छन । उनीहरुले यसमा सफलता पनि प्राप्त भइरहेको अधिकारीहरूले जनाएका छन् ।

तर हालैका दिनहरूमा अफगान सुरक्षाबल र नेटो सैनिकलाई समेत लक्ष्यगरी गर्ने तालिवान आतङ्ककारीले गर्ने गरेका आक्रमणहरूमा सुरक्षाबल र सर्वसाधारणको ज्यान जाने क्रम बढदै गएको छ ।

अफगानिस्तानमा सन् २०१५ को पहिलो ६ महिनाभित्रमा भएका सशस्त्र द्वन्द्व र युद्धमा परी एक हजार ५९२ सर्वसाधारणको ज्यान गएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनले हालै प्रकाशन गरेको प्रतिवेदनमा जनाएको थियो ।

अफगानिस्तानमा सन् २००९ को जनवरी १ बाट सन् २०१५ को जुनसम्म १९ हजार ३६० जनाभन्दा बढी नागरिक हताहत हुनुका साथै अन्य ३३ हजारभन्दा बढी घाइते भएको पनि सो प्रतिवेदनमा जनाइएको थियो ।

प्रतिक्रिया