ट्रम्पको कर विधेयक ‘राजनीतिक आत्महत्या’: इलन मस्कको कडा आलोचना

इनेप्लिज २०८२ असार १५ गते १२:४६ मा प्रकाशित

विश्वकै धनाढ्य तथा अर्बपति इलन मस्कले शनिबार राष्ट्रपति ट्रम्पको व्यापक कर तथा खर्च कटौती विधेयकप्रति आफ्नो असन्तुष्टि दोहोर्याउँदै यो कानुनले रोजगारी नष्ट गर्ने र बढ्दो उद्योगहरूलाई बाधा पुर्याउने तर्क गरेका छन्।

“हालैको सिनेटको मस्यौदा विधेयकले अमेरिकामा लाखौं रोजगारी नष्ट गर्नेछ र हाम्रो देशलाई ठूलो रणनीतिक क्षति पुर्याउनेछ,” मस्कले शनिबार सामाजिक संजाल एक्समा लेखे ।

उनले अगाडी भने , “यसले विगतका उद्योगहरूलाई अनुदान दिन्छ तर भविष्यका उद्योगहरूलाई गम्भीर रूपमा क्षति पुर्याउँछ।”

टेस्ला र स्पेसएक्सका प्रमुख कार्यकारी अधिकारी (सीईओ) मस्कले पछि यो विधेयक “रिपब्लिकन दलका लागि राजनीतिक आत्महत्या” हुने बताए।

यो आलोचनाले सरकारी दक्षता विभागका पूर्व प्रमुख मस्क र उनले हालै छोडेको प्रशासनबीचको हालैको विवादलाई पुनः उजागर गरेको छ।

मस्कले यसअघि पनि ट्रम्पको “ठूलो, सुन्दर विधेयक” बारे आफ्नो राय स्पष्ट पारेका थिए। गत मे महिनाको अन्त्यमा, संघीय सरकारमा आफ्नो पदबाट औपचारिक रूपमा राजीनामा दिनु केही दिन अघि उनले “सीबीएस न्यूज सन्डे मर्निङ” नामक कार्यक्रमलाई उनी यस विधेयकको लागत देखेर “निराश” भएको बताएका थिए।

मस्कले सिबीएस न्यूजलाई भनेका थिए, “म ठूलो खर्च विधेयक देखेर निराश थिएँ, जुन बजेट घाटा घटाउनुको सट्टा बढाउँछ, र सरकारी दक्षता बिभाग टोलीले गरिरहेको कामलाई कमजोर पार्छ।”

प्रतिक्रिया