अनुसन्धानकर्ताहरूले ९,००० वर्ष अघिको एक पुरानो शहरमा महिलाहरूले शासन गरेको बताएका छन्। उनीहरूले यस्तो समाजमा महिलाहरू प्रमुख हुने “मातृसत्तात्मक” प्रणालीको नयाँ प्रमाण भेटिएको पनि बताएका छन्।
“साइन्स” जर्नलमा प्रकाशित एक अध्ययन अनुसार, ९,००० वर्षअघिको प्राचीन शहरमा महिलाहरूले शासन गर्ने सम्भावना छ।
अनुसन्धानकर्ताहरूले टर्कीको दक्षिणी एनाटोलियामा रहेको नव पाषाण युगको प्राचीन शहर चातालहुयुक का ३५ घरबाट १३० भन्दा बढी कंकालको डिएनए परीक्षण गरे।
सिबिएस समाचारका अनुसार, माटोको इँटाबाट बनेका ती घरको भुइँमुनि ३९५ वटा कंकाल भेटिए, जसमा पुरुष र महिला दुवैको कंकाल थियो।
९००० देखि ८००० ईसापूर्वसम्म बसोबास भएको यो शहर खासगरी महिलाको मूर्ति—”मातृदेवी” का कारण प्रसिद्ध थियो, जसलाई मातृसत्तात्मक समाजको संकेत मानिन्छ।
आनुवंशिकविद्, पुरातत्वविद् र मानवशास्त्रीको टोलीले १२ वर्षसम्म अत्याधुनिक प्रविधिबाट डिएनए परीक्षण गरे। अध्ययनले देखायो कि चातालहुयुकमा परिवारको सदस्यता आमाको वंश (मातृवंश) अनुसार तोकिएको थियो।
शुरुमा परिवारका सदस्यहरू सँगै गाडिने गरिन्थ्यो। पछि त्यो बानी बदलियो र धेरैको आपसी सम्बन्ध नभएको पाइयो।
अनुक्रम विश्लेषण अनुसार ७०–१००% महिलाहरू आफ्नै घरमा बसिरहन्थे, जबकि पुरुषहरू बाहिर सरेका देखिन्छन्।
यो निष्कर्ष बेलायतको प्राचीन सेल्टिक समाजमा गरिएको अनुसन्धानसँग मेल खान्छ, जहाँ महिलाहरू आपसमा सम्बन्धित थिए र पुरुषहरू विवाहपछि मात्रै भित्रिन्थे।
डोर्सेट, इङ्ल्याण्डमा ५७ वटा चिहानको डिएनए अध्ययनले देखायो कि दुई-तिहाई मानिस एउटै मातृवंशबाट थिए।
शोध अनुसार महिलासँग भूमि, सम्पत्तिमा अधिकार र बलियो सामाजिक समर्थन थियो।
शोधकर्ताहरूले भनेका छन्— कुनै समुदायको पहिचान बनाउन आमा तर्फको वंश मुख्य कारण हुन सक्छ।
प्रतिक्रिया