संयुक्त राष्ट्रसंघको परमाणु निगरानी संस्था आइएइएका प्रमुख राफाएल ग्रोसीले अमेरिका र इजरायलको आक्रमणबाट इरानको परमाणु कार्यक्रम पूर्ण रूपमा नष्ट नभएको चेतावनी दिएका छन् ।
उनका अनुसार इरानले फेरि युरेनियम प्रशोधन सुरु गर्न केवल केही महिना लाग्न सक्छ। सिएनएनका अनुसार यस भनाइले राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई चुनौती दिएको छ। ट्रम्पले अघिल्लो साता अमेरिकाले इरानको परमाणु योजना “पूरै ध्वस्त” पारेको भनेका थिए । र, त्यसले “दशकौं पछाडि धकेलेको” बताएका थिए ।
तर, ग्रोसी भन्छन्, “त्यहाँ क्षति त भएको छ, तर पूर्ण रूपमा होइन। इरानसँग अझै पनि औद्योगिक र प्रविधिक क्षमता बाँकी छ।” सिएनएन र पेन्टागनको प्रतिवेदन अनुसार अमेरिकी आक्रमणले इरानको मुख्य परमाणु संरचना नष्ट गर्न सकेन तर मात्र केही समयका लागि ढिलो गरायो।
यस महिनाको सुरुआतमा इजरायलले इरानमाथि आक्रमण गर्दै युद्ध सुरु गरेको थियो त्यस पछि अमेरिका पनि संलग्न भयो। तीन मुख्य परमाणु केन्द्रमा आक्रमणपछि युद्धविराम लागू गरिएको छ । तर इरानको कार्यक्रम कति प्रभावमा पर्यो भन्ने विषयमा अझै बहस जारी छ।
ग्रोसीले स्पष्ट रूपमा भने, “हामीले इरानसँग आणविक हतियार निर्माणको प्रमाण त देखेनौं, तर उनीहरूले धेरै महत्वपूर्ण प्रश्नहरूको जवाफ दिइसकेका छैनन्।”
प्रतिक्रिया