संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रतिनिधिसभाकी सांसद तथा पूर्वस्वास्थ्य राज्यमन्त्री डा. तोशीमा कार्की र अमेरिकी प्रतिनिधिसभाका सांसद जोनी ओल्सजेव्स्कीबीच आज वासिङ्टन डी.सी. स्थित लङवर्थ हाउस अफिस बिल्डिङमा ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ।
यो भेटले अमेरिका–नेपाल सम्बन्धलाई विधायिकीय आदानप्रदान, सार्वजनिक स्वास्थ्य, युवा सशक्तिकरण र दिगो विकासका क्षेत्रमा थप सुदृढ गर्ने दिशामा उल्लेखनीय संकेत दिएको छ।
डा. तोशीमा कार्की चिकित्सा शास्त्रमा प्रशिक्षित सर्जन, शिक्षिका तथा सामाजिक अभियन्ता हुन्। स्वास्थ्यकर्मीमाथि हुने हिंसाविरुद्धको आन्दोलनदेखि लिएर कोरोना महामारीको अग्रपंक्तिमा खटिनेसम्म, र भूकम्पपछिको राहत कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै उनले नेपाली जनमानसमा आफ्नो इमानदार, निडर र युवा नेतृत्वको पहिचान स्थापित गरेकी छन्।
राजनीतिमा प्रवेश गर्नु अघि उनले नाफामुखी स्वास्थ्य प्रणाली विरुद्ध आवाज उठाउँदै पारदर्शिता र सर्वसुलभ स्वास्थ्य पहुँचको पक्षमा निरन्तर संघर्ष गरेकी थिइन्।
भेटवार्तामा डा. कार्कीले नेपालमा संघीय लोकतान्त्रिक संस्थाहरूलाई मजबुत बनाउने दिशामा अमेरिकी सहयोगको अपेक्षा व्यक्त गर्दै, सांसद स्तरको अनुभव आदानप्रदान, युवा नेतृत्व विकास कार्यक्रम, तथा प्रवासी नेपाली समुदायको समन्वयमा आधारित परियोजनाहरूमा सहकार्यको प्रस्ताव राखिन्।
साथै, जलवायु परिवर्तनबाट बढी प्रभावित राष्ट्रहरूमध्ये एक भएको नाताले, नेपालले विपद् पूर्वतयारी, वातावरणमैत्री पूर्वाधार निर्माण, र दिगो विकासमा अमेरिकी साझेदारीको आवश्यकता रहेको उल्लेख गरिन्।
सांसद जोनी ओल्सजेव्स्की, जो मेरिल्याण्ड राज्यको दोस्रो जिल्ला प्रतिनिधित्व हुन् र पूर्व शिक्षक एवं काउन्टी कार्यकारी समेत रहका थिए । उनले नेपालसँगको सम्बन्ध विस्तारप्रति सकारात्मक धारणा व्यक्त गर्दै, साझा लोकतान्त्रिक मूल्य र जनमुखी शासन प्रणालीमा आधारित सहकार्यलाई प्राथमिकता दिने बताए ।
यस कार्यक्रमको समन्वय मेरिल्याण्ड निवासी तथा प्रवासी नेपाली सम्पर्क समिति अमेरिका–प्रमुख रमेश भट्टद्वारा गरिएको थियो।
भेटपछिको प्रतिक्रियामा भट्टले भने:
“डा. तोशीमा कार्की नेपाली राजनीतिमा इमानदारी र विचारधारामा आधारित नेतृत्वको प्रतीक बन्नुभएको छ। उहाँ र अमेरिकी सांसदबीचको प्रत्यक्ष संवादले प्रवासी कूटनीतिको सम्भावनालाई उजागर गरेको छ, र यसले नेपाल–अमेरिका सम्बन्धलाई अझ जनस्तरसम्म पुर्याउन सहयोग पुर्याउनेछ।”
भेटमा कॅग्रेसनल नेपाल ककसको भूमिकालाई थप सशक्त बनाउने विषयमा पनि छलफल भएको थियो, जसले अमेरिका र नेपालबीचको सम्बन्धलाई संसदीय तथा नीति निर्माण तहमा अझ मजबुत बनाउने विश्वास गरिएको छ।
डा. कार्कीको अमेरिका भ्रमण नयाँ नेपाल निर्माणमा प्रवासी नेपालीहरूको योगदान र विश्वभरका लोकतान्त्रिक साझेदारहरूसँग संवाद विस्तार गर्ने अभियानको हिस्सा हो।
यो भेटवार्ता केवल दुई नेताबीचको औपचारिक भेट मात्र नभई, दुई लोकतान्त्रिक राष्ट्रबीच विश्वास, सहकार्य र साझा भविष्यप्रतिको प्रतिबद्धताको प्रतीक बन्ने अपेक्षा गरिएको छ।
भेटमा राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य गोमा क्षेत्री, प्रवास नेपाली सम्पर्क विभाग अमेरिका–मेरिल्याण्ड च्याप्टर अध्यक्ष रिना केसी गौतम, भर्जिनिया च्याप्टर अध्यक्ष हरि के. पुडासैनी, र समिति सदस्य रेवती सापकोटाको पनि सहभागी रहेको थियो ।
प्रतिक्रिया