वरिष्ठ साहित्यकार प्रा मोहन सिटौला
शीताग्निले जर्जर दग्ध सारा
खङ्ग्राङ्ग थे वन्य निकुञ्ज प्यारा
गए जसै दीन सबै अँध्यारा
हटेर झल्के वनका मुहार
जताततै यो हरियो छ वन्य
हराभरा कुञ्ज निकुञ्ज मन्य
ताजा हरियो वन कुञ्ज वक्ष
सारा हरियो, नव वन्य कक्ष
कतै नयाँ छन् नमुना मुना ती
सौन्दर्यमा मक्ख परेर मस्की
तथापि वैभिन्न त्यहाँ म देख्छु
गाडा, धिमा, चम्चम भित्र पस्छु
छन् धेर झन् श्यामल भव्यताका
चचम्किएका हरिया पताका
कतै छ नीलोपन विस्मयीको
झसङ्ग पार्ने मन मोहनी त्यो
नाच्दो छ भाव भवको सब डाली डाली
सौन्दर्यका महक मान कलाकला ली
पत्रादिका मृदु लता मनले निहाली
सङ्गीत, नृत्य वनको सब चाली चाली
वसन्तजा नृत्य सुनर्तकीका
सङ्गीतका ताल सुमुग्धताका
सुन्दै र देख्दै मधु कामिनीका
सङ्केत—सद्भाव सुमङ्गलीका!
अहो ! भयो यो मृदु काननै ता
महर्षि झैं ज्ञान महान दाता
सम्पूर्णमा बोल्दछ सत्य, सुन्दर
सत्प्रेममा व्याप्त भएर झर्झर
सौन्दर्यको रूप छ दिव्यताको
शालीन औ सौम्य छ भव्यताको
सन्मुग्ध यो सन्त वसन्त चाला—
माला महिमा छ अहो निराला !
यो धर्तीको सीप र रूप हेर्दा
र सृष्टि औ काल र चाल देख्दा
सँधै चलेको परिवर्तनै यो
नित्यै अनित्यै बुझिंसक्नु छैन यो !
वसन्तका अन्तिमका पलाले
झन् मुग्ध पार्ने मन ती कलाले
चलेर कालैसित शुभ्र जाऊ
फर्केर हाँस्दै पुन शीघ्र आऊ !
हाल — भर्जिनियाँ अमेरिका
०५/०४/२०२५ २१ वैशाख २०८२
प्रतिक्रिया