एमालेलाई प्रधानमन्त्रीको कुर्चीभन्दा नयाँ संविधान घोषणाको हतारो: मन्त्री अधिकारी

इनेप्लिज २०७२ साउन २० गते १४:१९ मा प्रकाशित

khagaraj_adhikari_697382002पोखरा, २० साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले नेकपा (एमाले)लाई प्रधानमन्त्रीको कुर्चीको भन्दा नयाँ संविधान घोषणाको हतारो परेको बताउनुभएको छ ।

स्व बालकृष्ण उग्रताराको स्मृतिमा उहाँको परिवारद्वारा स्थापित बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कार आज यहाँ पत्रकार नारायण कार्कीलाई वितरण गर्दै मन्त्री अधिकारीले प्रमुख चार राजनीतिक दलहरु संविधान तोकिएकै समयमा घोषणा गर्न दृढ भएबाट नयाँ संविधान आउनेमा ढुक्क हुन सकिन्छ भन्नुभयो ।

नयाँ संविधान घोषणा गर्नुअघि सीमाङ्कन मिलाउन सकिने भए मिलाउने र नसकिए सङ्घीय आयोगबाट मिलाउन उपयुक्त हुने विचार व्यक्त गर्दै मन्त्री अधिकारीले १६ बुँदे सहमतिको बलबाटै नेपाली जनताले अब छिट्टै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान पाउने विश्वास दिलाउनुभयो ।

उहाँले नयाँ बन्ने संविधानमा स्वतन्त्र प्रेसलाई सङ्कुचन गर्ने केही बुँदा भए त्यसलाई परिमार्जन गर्दै अघि बढ्न सकिने धारणा राख्नुभयो ।

रु २० हजार १११ राशिको बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कार पाउने पत्रकार कार्की पाँचौँ श्रष्टा हुनुहुन्छ । पुरस्कार स्थापनाको लागि उहाँको परिवारबाट रु दुई लाख एक हजार १११ को एक अक्षयकोष स्थापना गरिएको छ ।

पोखरा एक्सप्रेस पाक्षिक पत्रिकाका प्रधानसम्पादक जमुना वर्षा शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पत्रकार माधव शर्मा, वद्रीविनोद प्रतीक, नवराज सुवेदीलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया