शुक्रबार, जेठ ६ २०७९
काठमाडौं ००:०७
वासिङटन डिसी 14:22

प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथि कसैले खेलवाड गर्न सक्दैन: प्रधानमन्त्री

इनेप्लिज २०७२ असार २४ गते १४:३४ मा प्रकाशित

PM Address Nepal Press Unionकाठमाडौँ, २४ असार । प्रधानमन्त्री सुशील कोइरालाले प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथि कसैले खेलवाड गर्न नसक्ने बताउनुभएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेपाल पत्रकार महासङ्घका संस्थापक सभापति स्वर्गीय कृष्णप्रसाद भट्टराईको नाममा यथाशीघ्र ‘राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान’ स्थापना गर्नुपर्ने मागसहितको नेपाल प्रेस युनियनको ज्ञापन पत्र आज बुझ्दै प्रधानमन्त्री कोइरालाले सो कुरा बताउनुभएको हो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा नेपाली प्रेस जगतको ठूलो योगदान रहेको चर्चा गर्दै प्रधानमन्त्री कोइरालाले प्रेस स्वतन्त्रताको खेलवाड गर्ने जोसुकै भएपनि आफै लोप हुने जिकिर गर्नुभयो ।

“अहिलेको युग भनेको प्रेस स्वतन्त्रता र मानवाधिकारको युग हो” प्रधानमन्त्रीले भन्नुभयो, “नयाँ बन्ने संविधानको मस्यौदामा प्रेस स्वतन्त्रता सम्बन्धी केही कमी कमजोरी भए सबैसँग छलफल गरेर सच्चाईनेछ ।”

लोकतन्त्र भनेको बहुलवाद हो र लोकतन्त्रको आत्मा बहुलवाद हो भन्नुहुदै उहाँले पूर्व प्रधानमन्त्री भट्टराईको नाममा ‘राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान’ स्थापना गर्ने वचन दिनु भयो ।

मधेस केन्द्रित दलहरूले सङ्घीयताका सम्बन्धमा शंका गरेको प्रसंग उल्लेख गर्दै नेपाली काँग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “अब सङ्घीयता कसैले रोकेर रोकिन्न ।”

सो अवसरमा वरिष्ठ पत्रकार हरिहर विरहीले प्रेस स्वतन्त्रताको मामलामा काँग्रेसले नेतृत्व लिनुपर्ने बताउदै काँग्रेस जस्तो लोकतान्त्रिक दलको नेतृत्वमा बन्ने संविधानमा प्रेस स्वतन्त्रता विरोधी कुनै पनि शब्द नहोस् भन्नेमा सजग गराउनुभयो ।

युनियनका पूर्व केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष कुलचन्द्र वाग्लेले सरकारको नीति तथा कार्यक्रममा उल्लेखित ‘अनलाईन मिडियालाई विश्ससनीय र मर्यादित बनाउन आचारसंहिता संशोधन गर्ने’ भन्ने वाक्य काउन्सिलको सल्लाहमा नै आएको आफूलाई काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले बताएको उल्लेख गर्नु भयो ।

युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले प्रशिक्षण प्रतिष्ठानको स्थापनाले पत्रकारको क्षमता अभिवृद्धि हुने बताउँदै अनलाइनलगायत नयाँ मिडियालाई नियमन गर्न कानुन आवश्यक भएपनि त्यो संशोधन काउन्सिल र पत्रकार महासङ्घको समझदारीमा हुनुपर्ने धारणा राख्नु भयो ।

युनियनका महासचिव अजयबाबु शिवकोटीले पूर्व प्रधानमन्त्री भट्टराईप्रति सम्मान गर्न सरकारले आगामी बजेटमा सो प्रतिष्ठान स्थापनाको व्यवस्था गर्नुपर्ने बताउदै पत्रकारको सिप, क्षमता र दक्षता अभिवृद्धि भएमात्र लोकतान्त्रिक शासन पद्धतिको सुदृढिकरणमा योगदान पुग्ने विचार राख्नु भयो ।

सो अवसरमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतिक प्रधान, प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारी, युनियनका पूर्व अध्यक्ष तथा गोरखापत्र संस्थानका अध्यक्ष रमेश तुफान, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी, युनियनका पूर्व अध्यक्षद्वय मुरारीकुमार शर्मा र समीरजङ शाह, युनियनका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो ।

प्रतिक्रिया