सोमबार, माघ १० २०७८
काठमाडौं ०२:५४
वासिङटन डिसी 16:09

शङ्करनगरमा वन महोत्सव संविधानमा सबैका अधिकार सुरक्षित हुन्छ: मन्त्री आचार्य

इनेप्लिज २०७२ असार १५ गते ११:२९ मा प्रकाशित

Mahesh-Acharyaबुटवल (खस्यौली), १५ असार । वन तथा भूसंरक्षण मन्त्री महेश आचार्यले सबैका अधिकार सुरक्षित हुने गरी संविधान आउने कुरामा शङ्का नगर्न आग्रह गर्नुभएको छ ।

लुम्बिनी अञ्चलमा पर्ने रुपन्देही, नवलपरासी, कपिलवस्तु र पाल्पा जिल्लाको संयुक्त आयोजनामा शङ्करनगरमा भएको वन महोत्सवलाई आज सम्बोधन गर्दै उहाँले सबै भाषा, संस्कृति र पहिचानको रक्षा हुने बहुलवादमा आधारित संविधान आउने बताउनुभयो । उहाँले भन्नुभयो– “सङ्घीय संरचनामा जाने कुरामा कुनै विवाद छैन ।”

प्रकृतिलाई जितेर मानिस बाँच्न नसकिने उल्लेख गर्दै मुलुकको विकास निर्माण प्रकृति मैत्री नभएकै कारण विकास निर्माण चिहानको रुपमा परिणत भएको बताउनुभयो ।

सबै जातजाति, धर्म र संस्कृतिको सम्बन्ध कुनै न कुनै रुपमा भूमि र वनसँग जोडिने भएकाले जमिन र जङ्गलको संरक्षणमा सबै एकजुट हुनुपर्ने उहाँको भनाइ थियो ।

संविधानसभाका सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खाँणले पानीको मुहान सुक्दै जाने, जमिनमुनिको पानीको सतह घट्दै जाने समस्या अगाडि आइसकेकाले त्यसको व्यवस्थापनका लागि पनि वन संरक्षणमा सबै जुट्नुपर्ने धारणा राख्नुभयो ।

सरकारले घोषणा गरेको वन दशक वर्ष अभियानलाई सफल बनाउन राष्ट्रिय वन महोत्सव गरिएको हो ।

सरकारले २०७१ देखि २०८० सम्मलाई वन दशक वर्ष कार्यक्रम घोषणा गरेको छ । ‘एक व्यक्ति एक बिरुवा, एक गाउँ एक वन, एक नगर अनेक उद्यान र निजी वनलाई प्रोत्साहन’ भन्ने नारासहित गरिएको महोत्सवमा शङ्करनगर सामुदायिक वनको दिगो वन व्यवस्थापन कार्ययोजनाअन्तर्गत रहने गरी सामुदायिक वनको तीन कट्ठा क्षेत्रफलमा वृक्षरोपण गरिएको रुपन्देहीका जिल्ला वन अधिकृत इन्द्रबहादुर पछाइले जानकारी दिनुभयो ।

अभियानको पहिलो चरणअन्तर्गत सामुदायिक वनको सिमल पलटदेखि वृक्षरोपण थालिएको हो ।

सो क्षेत्रमा सफेदा, टिक र तेजपत्ताका पाँच हजार बिरुवा रोपिएको सहायक जिल्ला वन अधिकृत गिरिप्रसाद गैरेले बताउनुभयो ।

सो अवसरमा रुपन्देही, नवलपरासी, पाल्पा र कपिलवस्तुमा वन संरक्षणमा उल्लेख्य योगदान पु¥याएका सामुदायिक वन, निजी वन, कबुलियती वन र केही कर्मचारीलाई पनि नगदसहित सम्मान गरिएको थियो ।

वन तथा भूसंरक्षण मन्त्रालयका सचिव शङ्करप्रसाद आचार्यले वन अतिक्रमण र विनास गर्नेहरुमाथि कानुनी कारवाही हुने बताउनुभयो ।

शङ्करनगर वनमा सञ्चालन गरिएको चिडिया घरलाई क्षेत्रीयस्तरको स्वीकृति प्रदान गर्न माग पनि वक्ताहरुले गरेका थिए ।

प्रतिक्रिया