म्याग्दीका अग्ला पहाडमा जोखिम मोलेर ‘मह सिकार’

इनेप्लिज २०७२ असार ७ गते ११:५८ मा प्रकाशित

Rss_Images_1434952034583_KK-Myagdi-Honey huntingम्याग्दी, ७ असार । म्याग्दीको माथिल्लो भेगका सर्वसाधारण यतिबेला भिर माहुरीको ‘मह सिकार’ गर्न व्यस्त छन् । परम्परागत पेसाकै रुपमा जिल्लाको गुर्जा, मुदी, मराङ मल्कबाङ, लुलाङ, निस्कोट, कुइनेमङ्गले, चिमखोलालगायतका गाविसमा मह सिकार हुने गरेको छ ।

तल्लो भेगमा मौसमी रुपमा भिर मह काट्ने गरिए पनि माथिल्लो भेगमा भने हरेक वर्ष नियमित रुपमा मह सिकार हुँदै आएको छ । भिरमा डोरीको भरमा जोखिम मोलेर मह काट्नुपर्ने भएकाले स्थानीय जनताले देविदेवताको पूजा गरेपछि मात्रै मह सिकार गर्ने गर्छन् ।

गुर्जामा परम्परागत पेसा बनेको मह सिकारलाई विभिन्न चार समूहमा बनाएर आलोपालो मिलाएर मह काट्ने गरिएको स्थानीय झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । “हरेक वर्ष एउटा मात्रै समूहले मह काट्छन्,” छन्त्यालले भन्नुभयो, “एउटा समूहमा ४० देखि ५० घरधुरी गरी गाविसका सबै घरधुरी समेटिएका छन् ।” करिब दुई महिनासम्म निरन्तर रुपमा मह सिकार गरेपछि समूहमा आबद्ध घरधुरीलाई बराबर मह बाँड्ने चलन रहेको छन्त्यालले बताउनुभयो ।

ल्यासपुर, सितमनाथ, बरमथान, छहरा, रातोभिर, कुन्ना, ठूलोभिर, रिमतालालगायतका ५० भन्दा बढी भिरमा मह सिकार हुने गर्छ । गुर्जामा एक वर्षमा महको उत्पादन अनुसार एउटा समूहका हरेक घरधुरीको भागमा पाँचदेखि २५ लिटरसम्म मह पर्छ । जोखिमयुक्त र साहसिक मानिने भिर महलाई सामूहिक रुपमा सङ्कलन गरेपछि एकमुष्ट रुपमा पकाएर प्रशोधन गरी बाँडफाँड गरिने स्थानीय प्रेमबहादुर छन्त्यालले बताउनुभयो ।

“आफ्नो भागमा परेको मह केही घरायसी उपभोग हुने भए पनि धेरैजसो बिक्री हुन्छ, बजारमा दिनहुँ यसको माग बढिरहेको छ,” उहाँले भन्नुभयो । बजारमा प्रतिलिटर एक हजारसम्ममा भिर मह बिक्री हुने गर्छ । भिर पहराबाट निकालिने मह खरिद गर्न सहरी क्षेत्रका ग्राहक जङ्गलमै पुग्न थालेपछि जिल्लामा मह सिकार पनि फस्टाउँदै गएको छ । “भिरबाट मह निकाल्न सक्नुपर्‍यो जति पनि बिक्री हुन्छ,” लुलाङका केशरबहादुर पुर्जाले भन्नुभयो – “स्थानीयवासीदेखि बेनी, पोखरा, काठमाडौँ र विदेशबाट समेत महको माग आउने गरेको छ ।”

चैत महिनामा बेंसीका भिरबाट मह निकालिने भए पनि उच्च पहाडी क्षेत्रका पहाडमा असारसम्म पनि मह निकाल्ने गरिन्छ । गर्मी सुरु भएपछि माहुरीहरु लेकमा र जाडो सुरु भएपछि बेंसीमा बसाइँसराइ गर्ने भएकाले दुवै क्षेत्रमा भिर माहुरीको बासस्थान हुन्छ । मह सिकारका लागि पहाडमा चढ्नुअघि महको चाकाको मुन्तिर पहाडको फेदीमा आगोमा हरियो स्याउला पोलेर धुवाँ बनाइ माहुरी भगाउने गरिन्छ ।

धुवाँ लगाइसकेपछि भर्‍याङको सहायताले भिरमा चढ्ने सिकारीले डालोजस्तै चोयाको भाँडोमा मह काट्ने गर्छन् भने पहाडको फेदीमा बसेकाहरुले भिरमा झिकेको महलाई सुरक्षित ठाउँमा राख्ने काममा सघाउने गर्छन् । भिर महलाई काटिसकेपछि चाका र महलाई छुट्याएर महमात्रै सङ्कलन गर्ने गरिन्छ ।

जिल्लाको विभिन्न २० गाविसमा भिर मह उत्पादन हुने गर्छ । तीमध्ये तल्लो क्षेत्रमा मह सिकारीको अभावले मह सिकार नै नहुने समस्या छ । केही क्षेत्रमा सामुदायिक वन र प्रभावित क्षेत्रका बासिन्दालाई रु एक हजारदेखि पाँच हजार कर तिरेर माथिल्लो भेगका सिपालु मह सिकारीले मह सिकार गर्ने गरेको पाइन्छ ।

घरमा उत्पादन हुने महजस्तै भिर मह पनि गुलियो, स्वादिलो र विभिन्न रोगको औषधिका रुपमा प्रयोग गरिन्छ । भिर माहुरीको चरन क्षेत्र फराकिलो हुने र विभिन्न फलफूलदेखि जडीबुटीको समेत रस खाने हुँदा भिर मह बढी कडा हुने भएकाले एकैपटक धेरै खान नहुने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वसन्तकुमार श्रेष्ठले बताउनुहुन्छ । जङ्गलमा हुने भिर पहराबाट निकालिने भिर महको सिकारका लागि अनुमति लिएर निश्चित परिणाममा मात्रै मह निकाल्न पाउने प्रावधान छ ।

जिल्ला वन कार्यालयबाट अनुमति लिएर निश्चित परिमाणमा मात्रै मह निकाल्न सकिने प्रावधान भए पनि स्थानीयस्तरमा आफूखुसी मह सिकार गर्ने प्रचलन बढेको छ । जिल्लामा अहिले न्यूनमात्रामा अनुमति लिएर मह सिकार हुने गरेको निमित्त जिल्ला वन अधिकृत अजयविक्रम मानन्धरले बताउनुभयो ।

जिल्लामा विभिन्न स्थानमा गरी दुई हजार २८० किलो भिर मह उत्पादन हुने बताइन्छ । त्यसमध्ये वार्षिक एक हजार २७६ किलो मह सङ्कलन गर्न पाइने भएपनि चालु आर्थिक वर्षमा ३० किलो भिर मह सङ्कलनको पुर्जी मात्रै जारी भएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया