सहमतिमा संविधान निर्माण गर्न एमालेले अधिकतम् लचकता अपनाउने

इनेप्लिज २०७२ जेठ २३ गते १५:२३ मा प्रकाशित

201502181424251218idभक्तपुर, २३ जेठ । नेकपा (एमाले)ले संविधान निर्माणको लागि सहमति खोज्न अधिकतम् लचकताका साथ प्रयास गर्ने निर्णय गरेको छ ।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बैठकमा एमालेले संविधान निर्माणमा सहमति जुटाउन अधिकतम् लचकताका साथ प्रयास गर्ने निर्णय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बैठकमा संविधान निर्माणका लागि एमालेले अधिकतम् लचकता अपनाइने र यसका लागि सबै दलसँग द्विपक्षीय र बहुपक्षीय बैठक गर्ने निर्णय भएको छ ।”

उहाँले बैठकमा स्थायी कमिटीका सदस्यबीच विकसित पछिल्लो राजनीतिक घटनाक्रम तथा संविधान निर्माणका क्रममा दलबीच भएका छलफल र सहमतिबारे विचारविमर्श भएको बताउनुभयो ।

कुनै पनि बहानामा संविधान निर्माणमा ढिलासुस्ती गर्न नहुने एमालेको अडान रहेको बताउँदै एमाले राज्य पुनःसंरचना गर्दा भूगोल र पहिचानसहितको बढीमा ६ प्रदेश बनाउने पक्षमा रहेको बताउनुभयो ।

संविधान निर्माणका अवरोधलाई दलसँग छलफल गरेर बीचको बाटोबाट निकास खोज्नेबारे बैठकमा छलफल भएको उहाँको भनाइ थियो ।

पछिल्लो समयमा बहसको विषय बनेको राष्ट्रिय सहमतिको सरकारको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उहाँले छिटो संविधान निर्माण, विपद् व्यवस्थापन र स्थानीय निकायको निर्वाचन गर्ने गरी राष्ट्रिय सरकार निर्माण गर्नुपर्ने बताउनुभयो ।

सहमतिको सरकार निर्माणले दीर्घकालीन योजनाका साथ विपत् व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्न सक्ने एमालेले ठहर गरेको छ ।

प्रतिक्रिया