एमाले उपाध्यक्ष भण्डारी र मन्त्री बस्नेतद्वारा भूकम्पपीडितलाई ९० घरटहरा हस्तान्तरण

इनेप्लिज २०७२ जेठ १२ गते १५:२४ मा प्रकाशित

Rss_Images_1432648351459_RG-BKT- Ghar Tahara Hastantaran Photo-12भक्तपुर, १२ जेठ । युवा सङ्घ नेपालले जिल्लाको अनन्तलिङ्गेश्वर नगरपालिका–१५ गुण्डुका भूकम्पपीडितका लागि निर्माण गरेको जस्ताको ९० वटा घरटहरा आज हस्तान्तरण गरेको छ ।

आज यहाँ आयोजित कार्यक्रममा नेकपा (एमाले)की उपाध्यक्ष विद्यादेवी भण्डारी र उद्योग मन्त्री महेश बस्नेतले उक्त घरटहरा हस्तान्तरण गर्नुभएको हो । एकवटा टहरालाई एक बन्डल जस्तापाता र दुई थान डण्डीबाट रु १० हजार दुई सयको लगानीमा युवा सङ्घका स्वयंसेवकहरुले यस्तो घर निर्माण गरेका हुन् ।

कार्यक्रममा उपाध्यक्ष भण्डारीले भूकम्पपीडित नागरिकलाई तत्काल वर्षा थेग्ने अस्थायी बसोबासको व्यवस्था गर्नुपर्ने र वर्षापछि कडा माटो छानेर एकीकृत बस्ती बासाल्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले घर बनाउन सरकारले स्पष्ट नीति ल्याउनुपर्ने बताउँदै अस्थिर सरकारको लापरवाहीले जथाभावी घर निर्माण रोक्न नसक्दा यति ठूलो क्षति व्यहोर्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो—‘‘जथाभावी घर बनाउने कार्यलाई कुनै पनि सरकारले रोक्न सकेन, कस्तो माटोमा कस्तो घर, कति ठूलो बनाउने भन्ने नीति सरकारले नबनाउँदा क्षति ठूलो भयो ।’’

उपाध्यक्ष भण्डारीले मानवीय पीडा भएका बेला कसैले पनि राजनीतिक पूर्वाग्रह राखेर काम गर्न नहुने चर्चा गर्दै सबै मिलेर विपत्तिको समाधान खोज्नु पर्नेमा जोड दिनुभयो ।

त्यसअवसरमा उद्योग मन्त्री बस्नेतले आफ्नै पहलमा अहिलेसम्म भक्तपुरमा ३९० वटा यस्ता घरटहरा बनाएर भूकम्पपीडितलाई हस्तान्तरण गरेको जानकारी गराउनुभयो ।

भक्तपुरमा एक हजार भूकम्पपीडित नागरिकलाई अस्थायी घरटहरा बनाएर हस्तान्तरण गर्ने अभियानमा आफू लागेको बताउँदै उहाँले जेठ महिनाभित्र त्यो अभियान पूरा गर्ने बताउनुभयो ।

मन्त्री बस्नेतले भूकम्पपीडितका लागि उचित रुपमा पुनःस्थापना गर्न राष्ट्रिय सरकार आवश्यक भएको जिकिर गर्दै त्यसको नेतृत्वसँगै संविधान निर्माणको अभिभारा अब एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने दाबी गर्नुभयो ।

कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य शेरधन राई, युवा सङ्घका अध्यक्ष निरु पाल, उपाध्यक्ष गोविन्द थापाले युवा सङ्घलाई भूकम्प प्रभावितका लागि निश्चित क्षेत्र छुट्याई दिए युवा सङ्घले त्यस क्षेत्रलाई नमूना क्षेत्र बनाउने बताउनुभयो ।

मन्त्री बस्नेतको पहलमा अन्नतलिङ्गेश्वर नगरपालिका– १० मा ६०, सिरुटारमा २०, सूर्यविनायक नगरपालिका कटुञ्जेमा १०, भक्तपुर नगरपालिका वडा नं. २ मा ५६, १४ मा २६, १६ मा ३५, ७ मा १०, ६ मा १६, ८ मा २ र १७ मा ५ वटा घर निर्माण भएको मानवीय आस्था नेपालले कार्यक्रममा जानकारी दिएको छ ।

प्रतिक्रिया