राहतमा गडबड गरे कारबाही गर्छु: प्रम

इनेप्लिज २०७२ वैशाख ३१ गते ८:५५ मा प्रकाशित

Nepal-Prime-Minister-Sushil-Koiralaकाठमाडौंँ, ३१ वैशाख । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडितको निमित्त आएको राहत वितरणमा अनियमितता र पक्षपात गर्नेलाई कारबाही गर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री कोइरालाले राष्ट्रिय सहकारी सङ्घ लिमिटेडका तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दिइएको सहयोग रु २५ लाख ग्रहण गर्दै भन्नुभयो–“पीडितका लागि आएको राहतको रकम खानु अपराध हो, भूकम्पग्रस्त क्षेत्रमा हुने राहत, पुनः स्थापना र पुनःनिर्माणमा भ्रष्टाचार भए कारबाही गरिने छ । ”
नेपालीमा एकले अर्कालाई विपद् पर्दा गाँस काटेर सहयोग गर्ने संस्कार रहेको बताउँदै भूकम्पले मुलुकमा ल्याएको विपद्को सामना गर्न सङ्घलगायत नेपाली संस्थाले उदार हृदयले गरेको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले राहत वितरणमा निष्पक्षता कायम राख्न निर्देशन दिइसकिएको पनि बताउनुभयो ।

सो अवसरमा सङ्घका अध्यक्ष तथा सभास्द केशवप्रसाद बडालले सो रकमको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभएको थियो । सो सहयोग रकम बुझाउन सङ्घका अध्यक्ष बडालसहित सङ्घको प्रतिनिधिमण्डल बालुवाटार पुगेको थियो । राष्ट्रिय सहकारी सङ्घको समन्वयमा इन्डियन फार्मर्स फर्टिलाइजर्स लिले सङ्कलन गरी पठाएको रु दुई करोडबराबरको राहत सामग्री गोरखा, सिन्धुपाल्चोक र काभे्रपलाञ्चोक जिल्लामा वितरण भइसकेको जनाइएको छ ।

प्रतिक्रिया